एक खर्ब बराबरको शोधनान्तर बचतमा

Read Time = 7 mins

काठमाडौं । मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । सर्वाधिक चिन्ताको विषय बन्दै आएको शोधनान्तर बचत बढेर झण्डै एक खर्ब अर्थात् ९७ अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर दुई खर्ब ४१ अर्ब २३ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब दुई करोडले घाटामा रहेको शोधनान्तर चालु आवको पुसमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९÷०८० को तथ्यांकअनुसार २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.० प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको छ । समीक्षा अवधिमा चालु खाता २९ अर्ब ४७ करोडले मात्रै घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता तीन खर्ब ५२ अर्ब १६ करोडले घाटामा थियो ।

सर्वाधिक चिन्ताको विषय बन्दै आएको शोधनान्तर बचत बढेर झण्डै एक खर्ब अर्थात् ९७ अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर दुर्ई खर्ब ४१ अर्ब २३ करोडले घाटामा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ । २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १०.० प्रतिशतले वृद्धि भई २०७९ पुसमा १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको छ । चालु आवको छ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँगको विदेशी विनिमय सञ्चिति १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

छ महिनामा छ खर्ब रेमिट्यान्स
समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भई झण्डै छ खर्ब अर्थात् पाँच खर्ब ८५ अर्ब आठ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई चार अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई दुई लाख ७५ हजार छ सय ४३ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ९.५ प्रतिशतले वृद्धि भई एक लाख ४२ हजार पाँच सय ४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो ।

निर्यात घट्यो
चालु आवको छ महिनामा कुल वस्तु निर्यातमा ३२.० प्रतिशतले घटेर ८० अर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ९५.५ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यातमा क्रमशः ४०.१ र २५.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ३.६ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, पोलिष्टर धागोलगायतको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुनचाँदीका सामान तथा गरगहनालगायतको घटेको छ । छ महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले घटेर सात खर्ब ९२ अर्ब ६७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात ५१.१ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.४ प्रतिशत, २४.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ भने पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामानलगायतको आयात बढेको छ । सवारीसाधन तथा स्पेयर पार्ट्स, औषधि, एमएस बिलेट, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्सलगायतको आयात घटेको छ । छ महिनामा कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले कमी आई सात खर्ब ११ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा घाटा ४६.६ प्रतिशतले बढेको थियो ।

मूल्यवृद्धि ७.२६ प्रतिशत
चालु आवको पुसमा मूल्यवृद्धि ७.२६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.६२ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.५६, सुर्तीजन्यको ११.८१, दुग्ध पदार्थ तथा अण्डाको ९.७०, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशत बढेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.९३, तराईमा ७.४९, पहाडमा ७.३० र हिमालमा ६.६९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ पुस महिनामा क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?