पर्यटन संसदीय समिति गठन गर्न आग्रह

Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई) को प्रतिनिधिमण्डलले सभामुख देवराज घिमिरेसँग भेट गर्दैै नेपालको पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर पर्यटन संसदीय समिति गठन गर्न आग्रह गरेको छ । सिएनआईले नेपालको पर्यटन प्रवद्र्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलका विषयमा पनि ध्यानाकर्षण गराएको छ ।

सिएनआई पर्यटन समिति सभापति पम्फा धमलाले सार्वजनिक तथा निजी क्षेत्रको समेत खर्बौं लगानी भइसकेको पर्यटन उद्योगबाट राज्यले अपेक्षाकृतरूपमा लाभ हासिल गर्न सक्नुपर्नेमा जोड दिँदै नीतिगत तहमा गम्भीर समीक्षा, छलफल र दिशानिर्देश गर्न संसदीय पर्यटन समिति गठन गर्न आग्रह गर्नुभयो । समिति सदस्य छायाँ शर्माले विगतमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको क्षेत्राधिकारमा पर्यटन क्षेत्रलाई राखिए पनि पर्यटन उद्योगका विषय उच्च प्राथमिकतामा राख्दै समग्र आर्थिक विकासमा पर्यटन उद्योगको महत्व अझ स्थापित गर्न, पर्यटन पूर्वाधार वैज्ञानिक तथा पर्यटनमैत्री बनाउन, पर्यटनसँग सम्बन्धित नीतिगत विषयमा गम्भीर छलफल, परामर्श, निर्देशित गर्दै अपेक्षाकृत लाभ राज्यले प्राप्त गर्न संघीय संसद्मा पर्यटन संसदीय समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो ।

सिएनआईका महानिर्देशक दीपकराज जोशीले समिति गठनका लागि पर्यटन उद्योगसँग सम्बन्धित सबै संघ संस्थाको ऐक्यबद्धता रहेको भन्दै उच्च सम्भावना र बलियो भविष्य रहेको पर्यटनका माध्यमबाट देशलाई छिटो समृद्ध बनाउन पर्यटनलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटन समिति गठन गर्न सिएनआई, होटल संघ नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), प्यासेफिक एसिया ट्राभल एसोसिएसन (पाटा), नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो), नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट्स (नारा), टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल, नेपाल पर्यटक यातायात व्यवसायी संघ, नेपाल क्यानोनिङ एसोसिएसनले संयुक्तरूपमा संसद् सचिवालयमा अनुरोध पत्रसमेत दिइसकेका छन् ।

सभामुख घिमिरेले मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र पर्यटन भएको बताउँदै समिति गठनका लागि निजी क्षेत्रको सुझाव सकारात्मक रहेको बताउनुभयो । सो अवसरमा पाटाका प्रमुख कार्यकारी अधिकृत एवं सिएनआई पर्यटन समिति सदस्य सुरेश बडाल, सिएनआईका निर्देशक हिमाल पौडेल, आरती लामालगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?