उत्पादन घट्दा क्रसिङ सिजनमै उखु अभाव

Read Time = 8 mins

सर्लाही । देशकै धेरै उखु उत्पादन हुने तथा मिल सञ्चालनमा रहेको जिल्ला हो सर्लाही । तर, अहिले यस जिल्लामै उखुको अभाव हुन थालेको छ । मिल सञ्चालक भन्छन्, ‘उखु छैन, किसानलाई चलान अभाव छैन । खेतमा उखु छैन । गोदाममा चिनी स्टक छैन, खेतमा हाल्न रासायनिक मल छैन । उखु प्रवद्र्धन गर्ने मिल तथा सरकार दुवैसंँग ठोस योजना छैन ।’ किसान भन्छन्, ‘लागतअनुसारको मूल्य छैन ।

उन्नत बीउ छैन ।’ उपभोक्ता भन्छन्, ‘सस्तोमा चिनी छैन । यान्त्रीकरण छैन । मिल सञ्चालकबीच सहकार्य छैन । उत्पादन बढाउने योजना छैन । उत्पादन लागत घटाउने योजना छैन ।’ सवारी धनी भन्छन्, ‘ढुवानी गर्न उखु छैन ।’ यसरी छैन, छैनमै उखु मिल सञ्चालन हुँदा चिनीमा आत्मनिर्भर हुन लागेको देशमा चिनीसमेत छैन । अहिले किसानलाई भुक्तानीमा समेत समस्या छैन ।

नेपाल कृषि प्रधान देश भए पनि नेपालमा सबैजसो खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ । उखु खेतीबाट चिनीमा आत्मनिर्भर हुने सम्भावना रहे पनि त्यो पनि गुम्दै गएकोे छ । पछिल्लो समयमा उखु खेतीमा देखिएको उदासीनता र गिरावटले उल्लेखित तथ्य पुष्टि हुन्छ । विभिन्न समस्या देखाउँदै किसानले उखु बाली नलगाउँदा मिल सञ्चालकसमेत समस्यामा परेका छन् । मिल सञ्चालनका लागि उखु पर्याप्त नहुँदा धमाधम मिलहरू बन्द हुन थालेका छन् । देशकै धेरै उखु मिल भएको सर्लाहीमा हाल तीनवटा मात्र सञ्चालनमा रहेका छन् । तर, सबै मिलले उखु अभावमा क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । जसका कारण चिनी उत्पादन लागतसमेत बढ्नुका साथै उद्योग धरासायी हुन थालेका छन् ।

उखु खेतीबाट चिनीमा आत्मनिर्भर हुने सम्भावना रहे पनि त्यो पनि गुम्दै जाने सम्भावना बढेर गएको छ ।

केही वर्षअघिसम्म किसानलाई उखु तौलने पुर्जी (चलान) पाउनै महाभारत थियो । तर, पछिल्लो समय चलान सहज छ । यसको प्रमुख कारण हो, सर्लाहीमा तीवटा मिलमात्रै सञ्चालनमा आउनु । अर्कातिर एउटामात्र मिल सञ्चालन हुँदा पनि थोरै उखु खेती हुनु । एकातिर खेती घटेको छ भने अर्कातिर मिल संख्या बढ्दा किसानलाई केही राहत भएको छ । २०७० सालतिर सर्लाहीमा करिब ७० हजारको हाराहारीमा उखु खेती हुने गरेको कुपि ज्ञानकेन्द्र सर्लाहीको तथ्यांकमा छ तर अहिले करिब ४५ हजारको हेक्टरमा सीमित हुँदा उद्योगलाई उखु अभाव भएकाले किसानले सहजरूपमा चलान पाएका हुन् । २०७० सालतिर सर्लाहीको हरिवनमा रहेको एकमात्र इन्दुसखर चिनी मिल सञ्चालनमा थियो । त्यतिबेला उखुको क्षेत्रफलसमेत धेरै भएकाले किसानलाई चलान अभाव थियो । अहिले सर्लाहीमा थप दुईवटा चिनी मिल सञ्चालनमा रहेको र चिनी मिलले समेत क्रसिङ क्षमता बढाएकाले किसानलाई चलान अभाव टरेको हो ।

विगतमा उखुको भुक्तानी समयमा नपाएका कारण उखु खेतीमा आकर्षण घटेको किसान बताउँछन् । खेतीयोग्य जमिनमा प्लटिङको क्रमले पनि उखु खेती प्रभावित भएको हो । किसान र चिनी मिल सञ्चालकबीच नङ र मासुको सम्बन्ध हुनुपर्नेमा भुक्तानी समस्या लिएर विवाद हुने गरेका कारण किसान उखुको विकल्पमा लागेको नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष कपिलमुनि मैनाली बताउनुहुन्छ । मिल मालिक र किसानबीच सुमधुर सम्बन्ध हुन नसक्दा आफूले समेत उखुको विकल्पमा ड्राइगन फ्रुट खेती सुरु गरेको मैनालीको भनाइ छ ।
सिजनमै चिनी स्टक छैन भन्दा पत्याउनै गाह्रो हुन्छ तर उखु खेती कम हुन थालेपछि चिनी आयात गर्नुपर्ने अवस्था आएको छ । यसरी चिनी उत्पादनमा सहजरूपमै देश आत्मनिर्भर हुनसक्ने अवस्थामा पुगेकोमा चिनी मिल सञ्चालकको निजी स्वार्थका कारण उद्योगीको गोदाम, किसानको खेती र सरकारको वैदेशिक मुद्राको स्टक रित्तिँदै गएको छ ।

केही वर्षअघिसम्म किसानले उखुको भुक्तानी पाउन आन्दोलन गर्नुपर्ने बाध्यता रहेकोमा अहिले अवस्था फेरिएको छ । किसानले सहजरूपमा भुक्तानी पाउँदासमेत उखु खेती भने बढ्न सकेको छैन । कृषि प्रधान देश भएर पनि नेपालमा रासायनिक मलको समस्या भइरहन्छ । मल अभावले किसानलाई लागाएको बालीबाट राम्रो उत्पादन लिन समस्या हुने गरेको छ भने उत्पादन लागतसमेत बढ्ने गरेको छ ।

त्यसो त सरकारले उखु किसानलाई अनुदानका रूपमा केही सहयोग गर्दै आएको छ । तर, सरकारले दिने अनुदान न्यून भएको अखिल नेपाल किसान महासंंघका केन्द्रीय सचिव राजकुमार उप्रेती बताउनुहुन्छ । सरकारले दिने अनुदानसमेत जोडेर हरेक वर्ष उखुको मूल्य तय गरिन्छ । मूल्य तय गर्दा सरकारी अनुदानसमेत मूल्यमा घटाउँदै आएका छन् । एकातिर सरकारले करोडौं अनुदानमा खर्चिएको देखिन्छ तर उक्त अनुदान किसानले नपाएर व्यापारीले फाइदा लिएको उप्रेतीको दाबी छ । सरकारले अनुदान दिने हो भने किसानलाई सिँचाइ, मालखाद, बीउ तथा प्राविधिक सहयोग गर्नुपर्ने उहाँको सुझाव छ ।

नेपालमा उखुको मूल्य भारतको बिहारमा रहेको गिगा चिनी मिलको मूल्यका आधारमा तय हँुदै आएको छ तर भारतले किसानलाई दिने सुविधा नेपालको तुलनामा धेरै भएका कारण नेपाली किसान मारमा पर्ने गरेका छन् । उखु खेतीबाट फाइदा लिन किसानलाई उन्नत बीउ, प्रविधि र प्राविधिक ज्ञान आवश्यक पर्छ । तर, अझै पनि किसान परम्परागत खेतीमै सीमित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?