कार्यसम्पादन मूल्यांकनका आधारमा जुम्लाका आठवटा स्थानीय तहमध्ये गुठिचाैर पहिलो

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा जुम्लाका आठवटा स्थानीय तह मध्ये गुठिचाैर पहिलो र सिंजा गाउँपालिका दाेस्रो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष (आव २०८०/८१) का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।

आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलकाअनुसार प्रदेश सरकारको तुलनामा स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकनको नतिजा सुधारिएको पाइएको छ । अधिकांश स्थानीय तहको अंक ५० प्रतिशत कटेको पाइएको छ । सबैभन्दा धेरै सिन्धुलीको दुधौली गाँउपालिकाले ७४.४५ अंक पाएको छ ।

जुम्लाका एक नगरपालिकासहित गाउँपालिका गरि आठवटा स्थानीय तह मध्ये गुठिचाैर गाउँपालिका पहिलो भएको हाे । गुठिचाैरले ५४.३६ प्रतिशत अंक पाएको छ । सिंजा गाउँपालिकाले ५२.३२, चन्दननाथ नगरपालिकाले ५०.९१, हिमा गाउँपालिकाले ४९.३०, तिला गाउँपालिकाले ४७.५९, तातोपानी गाउँपालिकाले ४५.६७, पातारासि गाउँपालिकाले ४४.८४ र कनकासुन्दरी गाउँपालिकाले ४२.९७ प्रतिशत अंक पाएका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगकाअनुसार स्थानीय सरकार ऐनअनुसार १० असारभित्र सम्बन्धित गाँउ-नगरसभामा बजेट पेश गर्नुपर्छ । त्यसो भए-नभएकोलाई एक सूचक मानिएको छ । बजेट असार मसान्त भित्र पास गर्नुपर्छ । गरे-नगरेको विषय अर्को सूचक हो । स्थानीय तहले घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर, विज्ञापन करबाट उठेको रकम प्रदेश सरकारलाई हस्तान्तरण गरे-नगरेकोलाई समेत सूचक मानिएको छ ।

आगामी आव २०८०/८१ को आय व्ययको प्रक्षेपण पुस मसान्त भित्र अर्थ मन्त्रालयमा पठाए वा नपठाएकोलाई समेत अर्को मूल्यांकनको आधार मानिएको छ । विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व संकलनको लक्ष्य र प्रगतिलाई समेत आयोगले मूल्यांकनको आधार बनाएको छ । लेखा परीक्षण, आवधिक योजना, सामुदायिक विद्यालयमा रहेका विद्यार्थीको संख्या, गर्भ जाँच गर्ने महिलाको संख्या, स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या, बालबालिकाको संख्या, पूर्ण खोप लगाएका बालबालिकाको संख्या समेतलाई मूल्यांकनको आधार बनाइएको छ ।

देशका ६ वटा महानगरपालिका मध्येमा चितवनको भरतपुर महानगरले ७२.२२ प्रतिशत अंक ल्याएर पहिलो बनेको छ । विराटनगर महानगरपालिकाले ५९.२४, ललितपुरले ५८.४३, काठमाडौंले ५६.५२, वीरगञ्जले ५३.२३ र पोखराले ४८.६६ प्रतिशत अंक पाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?