नयाँ भर्सनमा गंगा बरदानको ‘कहाँमा काट्यो बेतको लौरी’

Read Time = 3 mins

धरान । नेपाली बब मार्लीको उपनामले चिनिने लोकप्रिय लोक स्रष्टा गंगा बरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी’ नयाँ भर्सनमा सार्वजनिक भएको छ । स्रष्टा बरदानले यो गीत विसं २०३५ सालमा रेडियो नेपालमा आफ्नो जीवनकै पहिलो गीतका रूपमा रेकर्ड गर्नुभएको थियो ।

त्यसपछि २०५५ सालताका आफ्नो पहिलो एल्बम गंगा बरदान भाग-१को लागि यही गीत दोस्रोपटक नमस्ते स्टुडियो, काठमाडौंमा उहाँले रेकर्ड गर्नुभएको थियो भने २०७९ सालमा आएर तेस्रोपटक धरानको न्यू-भावना रेकर्डिङ स्टुडियोमा तेस्रोपल्ट नयाँ भर्सनमा रेकर्ड गर्नुभएको हो । अहिलेसम्म उत्तिकै सदाबहार गीतलाई यसपालि भने रेगी भर्सनमा बनाइएको छ । पुरानै लयलाई कति पनि नबिगारी संगीत संयोजनमा नयाँ टेष्टमात्र दिन खोजिएको गायक बरदान बताउनुहुन्छ ।

१६ वर्षको कलिलो उमेरमा विसं २०२५ सालमा भोजपुरमा आयोजित लोक तथा नृत्य प्रतियोगितामा ‘दाइ त काले भाइ पनि काले काले काले मिलेर खाउँ भाले’ बोलको आफ्नै संकलन तथा स्वर रहेको गीतबाट दोस्रो स्थान प्राप्त गरी पाँच हजार पुरस्कार पाउनुभएका बरदानले त्यसको ६ वर्षपछि विसं २०३१ सालमा धरानमा आयोजित पूर्वाञ्चल व्यापी लोकगीत प्रतियोगितामा ‘छपनीले छान-छान डबकीले हान’ बोलको गीतबाट प्रथम स्थान हात पार्नुभएको थियो । नमस्ते ब्याण्डको सक्रियतामा उहाँको गंगा बरदान भाग १, २, ३ एल्बम बजारमा आइसकेको छ ।

‘कहाँमा काट्यो बेतको लौरी’को नयाँ भर्सनमा जुपिहाङ लिम्बूको संगीत संयोजन तथा डम्बर लिम्बूको मिक्सिङ तथा मास्टरिङ छ । हाल धरानमै बसोवास गर्ने गायक, रचनाकार तथा संगीतकार गंगा बरदानका ‘छपनीले छान’, ‘बजारै भरौन धरानै’, ‘सुपाडी कुटुक्क’, ‘माया गर्ने बानी उल्टै गर्छ हानी’, ‘जिउको मासु’, ‘अरुणै तर्‍यो’जस्ता थुप्रै लोकप्रिय गीत छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?