अर्थशास्त्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पाँच नेपाली विद्यार्थी

Read Time = 5 mins

काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाड (नियो)को चौथो संस्करणबाट अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिने विद्यार्थीको टुंगो लागेको छ । ललितपुरमा आइतबार सम्पन्न राष्ट्रिय प्रतिस्पर्धामा गोल्ड मेडल विजेता पाँचजना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोट भएका हुुन् । जसअन्तर्गत बुढानीलकण्ठ स्कुलका भार्गव चटौत र भिक्टर हमाल, लिटिल एन्जल्स कलेजका प्रयुश यादव, ट्रिनिटी कलेजका मयंक शंकर झा र सेन्ट जेभियर कलेजका अनुभव ढुंगाना रहेको नियोले जानकारी दिएको छ ।

समापन कार्यक्रममा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले अहिलेको समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को भएको भन्दै च्याट जिपिटीका कारण अध्ययन अनुसन्धानदेखि अध्यापनसम्मको ट्रेण्ड परिवर्तन हुनसक्ने बताउनुभयो ।

काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार डा. अच्युत वाग्लेले मेडिकल साइन्सले नयाँ-नयाँ औषधि पत्ता लगाएजस्तै अर्थशास्त्रीले अर्थतन्त्रको समस्या समाधान गर्ने उपाय पत्ता लगाउनुपर्ने बताउनुभयो । सम्भावना भएका प्रतिभाशाली व्यक्तिहरू बाहिरै बस्ने हो भने देश कहिल्यै उँभो नलाग्ने भन्दै उहाँले प्रतिभावान विद्यार्थी पढ्न जहाँ गए पनि फर्केर नेपालमै आउन आग्रह गर्नुभयो ।

नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले यस्ता कार्यक्रममा सफल व्यक्तिभन्दा पनि असफलताको कथा भएका व्यक्तिलाई ल्याउनुपर्ने बताउनुभयो । कसैको असफलताको कथा सुन्नै नचाहने हो भने ऊ कसरी दलदलमा फस्यो भनेर थाहा नहुने भन्दै कहाँ कति चुनौती छन् भन्ने कुरा जान्न पनि असफलताका कथा सुन्नुपर्ने उहाँको भनाइ थियो ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसवान)का अध्यक्ष धर्मराज सापकोटाले नेपालको अर्थतन्त्र, सेयर बजार र वित्तीय साक्षरताबारेमा अन्तर्राष्ट्रिय मञ्चमा बोल्न आग्रह गर्नुभयो । प्लस टुमा व्यवस्थापन संकाय अध्ययनरत ८० जना विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रमबाट अन्तर्राष्ट्रिय ओलम्पियाडका लागि पाँचजना विद्यार्थी छानिएका हुन् । क्षेत्रीय प्रतिस्पर्धामा देशभरका एक सय ६२ कलेजका हजारभन्दा धेरै विद्यार्थी सहभागी भएकोमा उत्कृष्ट ७५ जना विद्यार्थी राष्ट्रिय ओलम्पियाडका लागि छानिएका थिए । सिधै छानिएका पाँचजनासहित ८० जना विद्यार्थीले राष्ट्रिय प्रतिस्पर्धा गरेका थिए । सहभागीले बिजनेश केश एनलाइसिस, सिमुलेसन र अर्थशास्त्र विषयसँग सम्बन्धित प्रश्न समेटिएको तीन घण्टाको लिखित परीक्षा दिएका थिए ।

यसअघिका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अन्तिम तीन स्थानसम्म हासिल गर्दै आएकोमा यसपटक भने आयोजकले गोल्ड मेडल जित्ने लक्ष्य लिएको नियोका साझेदारी निर्देशक दीपक भण्डारीले बताउनुभयो । कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पियाडमा तेस्रो र अन्तर्राष्ट्रिय बिजनेश ओलम्पियाडमा पहिलो भएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । उक्त तीनदिने कार्यक्रमलाई नेपाल स्टक ब्रोकर एसोसिएसन (एसवान), ज्योति विकास बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल आर्थिक पत्रकार समाज (सेजन), सानिमा बैंक, नबिल बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक, समृद्धि फाउण्डेसन, सिएमएस ग्रुप, प्रतिभा स्कुल, किङ्स कलेजलगायतले सहयोग गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?