मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पूर्वसचिव तथा साहित्यकार गोपी मैनालीको समालोचनात्मक कृति ‘अभिव्यञ्जना यात्राप्रति’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच शनिबार कृतिको लोकार्पण गरिएको हो । बालुवाटारस्थित नेपाल हाउसको सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि डा.जयराज आचार्य, विशेष अतिथि तथा अतिथिहरूबाट उक्त पुस्तकको लोकार्पण गरिएको थियो ।

साहित्यकार विजय चालिसेको सभापतित्वमा सम्पन्न कार्यक्रमको आयोजना पुस्तकको प्रकाशकसमेत रहेको सुरभि साहित्य प्रतिष्ठानले गरेको थियो । कार्यक्रममा बाजुराम पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कवि तथा पूर्वमुख्यसचिव डा. विमल कोइराला, डा.गार्गी शर्मा, युवराज मैनाली, हरिभक्त सिग्देल ‘महेश’, शान्तिलक्ष्मी शाक्य, राधेश्याम लेकाली लगायतका वक्तहरूले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

अच्युत घिमिरेले सञ्चालन गर्नुभएको सो कार्यक्रममा मैनालीको विमोचित पुस्तकमाथि ठाकुर शर्मा भण्डारी र डा.लेखप्रसाद निरौलाले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि डा.आचार्यले जुन क्षेत्रको विज्ञ भए पनि साहित्य भनेको सबैले पढेकै हुनुपर्छ भन्ने तर्क गर्नुभएको थियो ।

साहित्य नलेख्ने मानिसले समालोचना लेख्न पनि सक्दैन भन्दै उहाँले साहित्य भनेको सन्देशमूलक हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा विजय चालिसेले आफ्नो सभापतीय मन्तव्य राख्नु भएको थियो । नेपालको निजामती प्रशासनको उच्च पद सचिवसम्म भएर सेवानिवृत्त हुनुभएका मैनाली साहित्यमा पनि उत्तिकै सक्रिय रहँदै आउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?