राष्ट्रपति पदको तानातान : पुरानो गठबन्धन ब्युँताउन कांग्रेस सक्रिय

कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डद्वारा सहयोगको वचन

अनिल क्षेत्री
Read Time = 15 mins

काठमाडौं । तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउन नेताहरूले छलफललाई तीव्रता दिएका छन् । पुरानो गठबन्धनका शीर्ष नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटघाटलाई तीव्रता दिएका हुन् । आमनिर्वाचनपछि प्रधानमन्त्री चयन गर्ने बेला पुस १० गते कांग्रेस नेतृत्वको तत्कालीन पाँच दलीय गठबन्धन टुट्न पुगेको थियो । पूर्व-सहमतिअनुसार नेपाली कांग्रेसले आफूलाई प्रधानमन्त्री दिन तयार नभएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेसहितको सात दलीय गठबन्धनको तर्फबाट प्रधानमन्त्री हुनुभएको थियो । तर, पुस २६ गते प्रमुख विपक्षी दल बनेको कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई संसद्मा विश्वासको मत दिएपछि राजनीतिक परिस्थिति बदलिन पुग्यो । सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री प्रचण्ड नै राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा निरन्तर अडान राखिरहनु भएको छ । प्रचण्डको अडानले तत्कालीन पाँच दलीय गठबन्धनका दलहरू उत्साही बन्दा वर्तमान सात दलीय गठबन्धनका नेकपा एमालेसहित केही दल आक्रोशित बन्न थालेका छन् ।

अहिले राष्ट्रपतिको निर्वाचन नजिकिन थालेपछि वर्तमान सत्ता गठबन्धन भत्काएर फेरि पुरानै गठबन्धन निर्माण गर्न नेताहरू सक्रिय देखिएका छन् । आइतबार साँझ प्रधानमन्त्री प्रचण्डलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डलाई भेटेर नेपाल र यादवले पुरानो गठबन्धन निर्माण गर्ने विषयमा छलफल गरेको स्रोतको दाबी छ । नेपाल र यादवले भेटेलगत्तै आइतबार राति नै नेपाली कांग्रेसका नेताहरूले पनि प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका थिए । प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुग्नुभएको थियो । प्रचण्डसँग कांग्रेस नेताहरूले करिब दुई घण्टासम्म भेटेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउन आग्रह गरेको स्रोतको भनाइ छ । कांग्रेस नेताहरूले आफ्नो पार्टीका राष्ट्रपतिको उम्मेदवारलाई सघाउन आग्रह गरेपछि प्रचण्डले सकारात्मक जवाफ दिएको भेटवार्तामा सहभागी एक नेताको दाबी छ । राष्ट्रपतिको विषयमा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले पार्टी बैठकमा छलफल गरेर आधिकारिक निर्णय गर्ने बताएको माओवादी केन्द्रका एक नेताको दाबी छ ।

राष्ट्रपतिमा सहयोगको वचन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेताहरूलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने वचन दिनुभएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले आइतबार साँझ कांग्रेसका शीर्ष नेतासँगको छलफलमा कांग्रेसलाई राष्ट्रपति दिने वचन दिनुभएको हो । बैठकमा सहभागी कांग्रेसका एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले सत्तासाझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि यो कुरा भनिसकेको जानकारी गराउनुभएको छ । छलफलमा कांग्रेस नेताहरूले पनि १० पुसमा गठबन्धन टुट्नु कमजोरी भएको स्वीकार गरेका छन् । अब बन्ने समझदारीमा जुनसुकै परिस्थितिमा तल–माथि नगर्ने प्रतिबद्धता कांग्रेसका नेताहरूले जनाएको स्रोतको दाबी छ । बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको योजनाअनुसार राष्ट्रपति निर्वाचनबाटै सहकार्य गर्ने विषयमा छलफल भएको जानकारी दिँदै भन्नुभयो, ‘राष्ट्रपतिमा हामीलाई सघाउनुहोस् भनेर प्रस्ताव राख्यौँ । प्रधानमन्त्रीले सहयोग गर्न तयार छु । तर, पहिले पार्टी पदाधिकारीको बैठकमा कुरा राख्छु भन्नुभएको छ ।’

भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले चाल्नसक्ने कदमबारे समेत छलफल भएको बताइएको छ । ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि सार्नसक्ने अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ । नेताहरू एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग तत्काल सम्वाद गरेर जानुपर्नेमा सहमत देखिएका छन् । पुरानो गठबन्धन ब्युताउने र राष्ट्रपतिको निर्वाचनलाई मध्यनजर गरेर माओवादी, कांग्रेस, नेकपा एस र जनता समाजवादी पार्टीबीच तत्काल छलफल गर्ने तयारी भइरहेको नेताहरूको भनाइ छ ।

एमाले बाहिरको राष्ट्रपतिमा प्रधानमन्त्रीको अडान
माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्ला दिनहरूमा नेकपा एमाले बाहिरको राष्ट्रपति बन्नुपर्नेमा स्पष्ट देखिनुभएको छ । राष्ट्रपति निर्वाचनमा माओवादीको निर्णायक मत रहेकाले दाहालले एमाले र कांग्रेस दुवैलाई दबाबमा राखेर आफूअनुकूल पात्रको खोजी गरिरहनु भएको निकट स्रोतको भनाइ छ । नाटकीय रूपमा कुनै घटनाक्रम बदलाव नआएको अवस्थामा प्रचण्ड एमाले बाहिरको राष्ट्रपतिको अडानमा अब कायम रहने उहाँनिकट नेताहरूको दाबी छ । प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी गरिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली पुरानै सहमति लागू हुनुपर्ने अडानमा कायमै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निरन्तर भेटवार्ता भए पनि परिणाममुखी बन्न सकेका छैनन् । एमालेलाई राष्ट्रपति दिँदा भविष्यमा आफैँलाई गाह्रो हुने आँकलन गरेर पनि प्रचण्डले एमालेबाहिरबाट राष्ट्रपति खोज्ने रणनीति बनाउनुभएको हो । अर्कोतर्फ वैचारिक र राजनीतिक रूपमा धेरै अन्तर भएका दलहरूसँग मिलेर बनेको अहिलेको सत्ता गठबन्धन लामो समय टिक्न नसक्ने प्रचण्डको बुझाइ छ ।

१२ बुँदे समझदारी पक्षधर एक ठाउँ उभिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकैठाउँ उभिनुपर्ने बताउनुभएको छ । मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेको र राजनीतिमा दूषित हावा देखिएको टिप्पणी गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एकठाउँ उभिएका थिए । फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ । राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नुपर्छ । राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो ।’

प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रचण्ड र लामिछानेबीच राष्ट्रपतिको चुनाव र चितवन–२ मा हुने उपनिर्वाचनका विषयमा छलफल भएको बताइएको छ । राष्ट्रहितका विषयमा सत्ता गठबन्धनलाई बलियो बनाएर जाने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि रास्वपा सरकारबाट बाहिरिसकेको छ । यद्यपि, रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहरदबारमा भएको भेटवार्तामा दुई नेताहरूबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बताइएको छ । सोमबार पोखराबाट काठमाडौं आएलगत्तै प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।

देव गुरुङको प्रश्न : ‘एमाले विशेषको राष्ट्रपति भन्ने कुन संविधानमा छ ?’
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कुनै दल विशेषको राष्ट्रपति हुन नसक्ने बताउनुभएको छ । संविधानविपरीत एमाले विशेषको राष्ट्रपति बनाउनुपर्छ भन्ने कुनै संविधानमा उल्लेख नभएको तर्क गर्दै महासचिव गुरुङले भन्नुभयो, ‘संविधानको भावनाअनुसार जानुपर्छ । संविधानको संरक्षक हो राष्ट्रपति पद । त्यसैले संविधानविपरीत हामी मान्दैनौँ । दलहरूको जस्ट सिफारिस मात्र हो । एमाले पार्टी विशेषको राष्ट्रपति भन्ने छ कतै ? संविधानको भावनामा त्यस्तो छ ?’

राष्ट्रपतिमा एसडी मुनीले सुझाए चार नाम
नेपालका हरेक आन्तरिक मामलाहरूमा टिप्पणी गरिराख्ने भारतीय चिन्तक तथा विश्लेषक एसडी मुनीले आगामी राष्ट्रपति चयनका विषयमा पनि आफ्नो राय सार्वजनिक गर्नुभएको छ । राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को धारणामा मुनीले समर्थन जनाउनुभएको हो । सोमबार एउटा ट्वीट गर्दै मुनीले नेपालमा राष्ट्रिय सहमतिको राष्ट्रपतिको ‘माग’ जायज भएको जिकिर गर्नुभएको छ । साथै, मुनीले उच्च प्रतिष्ठा र राजनीतिक सुझबुझ भएका तर कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेका व्यक्तिलाई राष्ट्रपति बनाउन सुझाव पनि दिनुभएको छ । चिन्तक मुनीले सामाजिक सञ्जालमार्फत चार जनाको नामसमेत प्रस्ताव गर्नुभएको छ । मुनीले नेपालको भावी राष्ट्रपतिमा डा. देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, भूतपूर्व सभामुख दमननाथ ढुंगाना र पूर्व-प्रदेश प्रमुख अनुराधा कोइराला प्रस्तावित गर्नुभएको छ । यी नामहरूमा राजनीतिक वृत्तले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । मुनीको प्रस्तावप्रति नेपालमा विरोध भएको छ । यसअघि पनि नेपालको आन्तरिक मामिलामा मुनीले गर्ने गरेका टिप्पणी र सुझाव पनि विवादित बन्ने गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?