प्रि-क्वाटरमा नेपोलीको जित

Read Time = 2 mins

काठमाडौं । इटालियन क्लब नेपोलीले युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो लिगमा जर्मन क्लब फ्रान्कफर्टलाई २-० गोलअन्तरले पराजित गरेको छ । नेपोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी डि लोरेन्जोले एक-एक गोल गर्नुभयो ।

खेलको ३६औँ मिनेटमा कभिचा कभाराट्सकेलियाले पेनाल्टीमार्फत् गोल गर्न नसक्दा नेपोलीले अग्रता लिन पाएन तर त्यसको चार मिनेटमा नै भिक्टर ओसिमहेनले गोल गर्नुभयो । ५८औँ मिनेटमा घरेलु टोली फ्रान्कफर्ट १० खेलाडीमा समेटिन पुग्यो । उसका रान्दल कोलो मुआनीले सिधै रातो कार्ड खाँदै मैदान छोड्नुभएको थियो ।

त्यसपछि ६५औँ मिनेटमा जियोभानी डि लोरेन्जोले गोल गर्दै नेपोलीलाई २-० को सहज जित दिलाउनुभयो ।
यस जितसँगै यो सिजन उच्च लयमा रहेको नेपोली पछिल्लो ९ खेलसम्म अपराजित रहन सफल भएको छ । इन्टर मिलानसँग जनवरीमा १-० ले पराजित भएयता अपराजित छ । जसमा ८ जित र १ बराबरीको नतिजा छ ।

यस जितसँगै नेपोलीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । १५ मार्चमा घरेलु मैदानमा हुने खेलमा यही नतिजा कायम राख्न सके नेपोली क्वाटरफाइनलमा पुग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?