२२ पदकसहित सिद्धबाबा मावि प्रथम

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सदरमुकाम तम्घासको सिद्धबाबा माध्यमिक विद्यालय प्रथम भएको छ । दश स्वर्ण, सात रजत र पाँच कांस्य गरी २२ पदक प्राप्त गर्दै सो विद्यालय प्रथम भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका सदस्य सुनिल बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार रेसुंगा नगरपालिकाभित्रका संस्थागत र सामुदायिक गरी १५ विद्यालयले प्रतियोगितामा भाग लिएका थिए । सदरमुकाम तम्घासको खेलमैदान चिदिचौरमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ६ गते शनिबारदेखि विभिन्न प्रतियोगितात्मक खेलहरू सञ्चालन गरिएको थियो ।

१४ पदक प्राप्त गर्दै सदरमुकाम तम्घासकै महेन्द्र माध्यमिक विद्यालय दोस्रो भएको छ । यस विद्यालयले छ स्वर्ण, पाँच रजत र सात कांस्य पदक प्राप्त गरेको छ । त्यस्तै, यहाँकै रेसुंगा माध्यमिक विद्यालयले १४ पदक प्राप्त गर्दै तेस्रो भएको छ । जसले छ स्वर्ण, तीन रजत र पाँच कांस्य पदक प्राप्त गरेको छ ।

प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई रेसुंगा नगरपालिकाका उप-प्रमुख अमृतादेवी कुँवर, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, सामाजिक विकास समिति संयोजक लिलाधर आचार्य, शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीलगायतले शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः १५, १० र पाँच हजार रुपैयाँ नगद प्रदान गरिएको हो ।

त्यस्तै, प्रत्येक विधाका खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितालाई व्यवस्थित गर्नका लागि गणेश अधिकारीको संयोजकत्वमा आठ सदस्यीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिसमेत गठन गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?