सरकारले त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही दुई लाख दिने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सरकारले आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई जनही दुई लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेसँगै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले हालै सम्पन्न नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज जितेका सम्पूर्ण नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहनस्वरूप जनही दुई लाख रुपैयाँ दिने घोषणा गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयको खेलमैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले चारवटै खेल जितेर सिरिज क्लिन स्विप गरेको थियो । नेपालले लिग-२ को त्रिकोणात्मक शृंखलामा पहिलोपटक क्लिन स्विप गरेको थियो । नेपालले शृंखलामा नामिबिया र स्कटल्याण्डमाथि दुई/दुई खेलमा विजय हात पारेको हो । यस्तै, नेपालले लगातार चार खेलमा जित निकालेको पनि पहिलोपटक हो । त्रिवि मैदानमा सम्पन्न शृंखलाअन्तर्गत नेपालले नामिबियालाई दुई र तीन विकेट तथा स्टकल्याण्डलाई तीन र दुई विकेटले पराजित गरेको थियो । स्कटल्याण्डले नामिबियालाई १० विकेट र ४३ रनले हराएको थियो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको छ । यो सिंगो राष्ट्र र आमनेपाली जनताका लागि पनि गौरवको कुरा हो । यसपटक सबै खेल जितेर तपाईंहरूले नेपाली जनताको शिर ठाडो बनाउने ऐतिहासिक भूमिका खेल्नुभएको छ । म नेपाल सरकारका तर्फबाट प्रेरणास्वरूप जनही दुई लाख रुपैयाँ दिने घोषणा गर्छु ।’

नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अर्को हप्ता युएईमा हुने त्रिकोणात्मक सिरिजका लागि युएई जाँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार युएई भ्रमणमा जाने टोलीका सदस्यहरूको नाम सार्वजनिक गरेको छ । टिममा क्रिकेटर सन्दीप लामिछाने भने पर्नुभएको छैन । नेपाली टोलीले युएईमा घरेलु टोली तथा पपुवा न्युगिनीसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर युएई भ्रमणको सुरुवात गर्नेछ । मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले युएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली युएईसँग खेल्नेछ ।

युएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जिसी र श्याम (मौसम) ढकाल रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?