अख्तियारमा उजुरीको कहालीलाग्दो संख्या

हिमालय टाइम्स
Read Time = 7 mins

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीका चाङबाट हाम्रो देशमा हुने गरेको भ्रष्टाचारको सग्लो चित्र जनतासामु प्रस्तुत भएको पाइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार वा अख्तियारको दुरुपयोग भए गरेको छानविन गर्ने र दण्ड सजायका लागि सरकारलाई सिफारिश गर्ने संवैधानिक निकाय हो । संविधानमै निश्चित निश्चित उद्देश्यबाट केही यस्ता आयोगहरूको व्यवस्था गरिएको हुन्छ । निर्वाचन आयोग, महालेखा निरीक्षकको कार्यालय, लोकसेवा आयोग, महान्यायाधिवक्ताको कार्यालयलगायत केही यस्ता कार्यालय हाम्रो संविधानमै व्यवस्था भएका छन् । यसका साथै राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, जनजाति आयोग, दलित आयोग, मुस्लिम आयोगजस्ता विभिन्न आयोगको पनि व्यवस्था भएको छ ।

यी सबैले आ-आफ्नो क्षेत्राधिकारमा रही काम गर्दछन् । यिनैमध्येको एक हो अख्तियार दुरुपयोग अनुसन्धान आयोग । यसको कार्यक्षेत्र विशिष्ट खालको छ । अर्थात् कुनै सार्वजनिक पद धारणा गरेको व्यक्ति वा यस्तै कुनै संघसंस्थाबाट अख्तियारको दुरुपयोग भएको छ कि भनेर छानविन गर्ने र दोषी देखिएको ठानेमा त्यस्तो अनुसन्धानको आपूmले छानविन गरिसकेपछि प्रमाण जुटाएर मुद्दा हेर्ने अख्तियारी पाएको अदालतमा पेश गर्ने अधिकार आयोगलाई हुन्छ । आयोगले आफैं पनि यस्ता दोषीको खोजी त गर्छ तर सामान्यतया यस्ता विषयका कतैबाट उजुरी परेको आधारमा खोज अनुसन्धान गर्ने गर्छ । छानबिनबाट कोही दोषी छ वा छैन भन्ने फैसला आयोग आफैँले गर्दैन ।

आवश्यक प्रमाण जुटाइदिएर त्यस्तो व्यक्ति दोषी भएको प्रमाण तयार पारी तोकिएको अदालतमा पेस गरिदिन्छ । ठूला तथा विशेष खालका मुद्दा हेर्ने गरी सरकारले विशेष अदालतको व्यवस्था गरेको हुन्छ र त्यस्ता मुद्दाहरू तिनै अदालतबाट हेर्ने काम हुन्छ । अख्तियारमा सात महिनाको अवधिका भ्रष्टाचारविरुद्ध १० हजारभन्दा बढी उजुरी परेका छन् । यसबाट नेपालमा कति भ्रष्टाचार हुने रहेछ भन्ने थाहा हुन्छ । नेपाल विश्वमा धेरै भ्रष्टाचार हुने राष्ट्रमध्येमै पर्छ । निजामती कर्मचारी, राजनीतिज्ञ वा योजनाहरूमा संलग्न मानिस सबैको भित्री उद्देश्य अवैधानिक रूपमा आर्जन गर्ने नै हुन्छ । विकास निर्माणका कार्य कम गुणस्तरको बनाएर माथिदेखि तलसम्मका मानिसले मिलिजुली रकम हिनामिना गर्ने गर्दछन् ।

यसले गर्दा एकातिर काम राम्रो हुँदैन भने अर्कातिर सबैको संलग्नतामा भ्रष्टाचार भएका कारण उजुरी पनि थोरै पर्छन् । यसो हुँदा त सात महिनामा दश हजारभन्दा बढी उजुरी परेका छन् भने उजुरी नै नपरेका भ्रष्टाचारजन्य घटना यसभन्दा अझै बढी हुनसक्ने सम्भावना रहन्छ । यसबाट हाम्रो देशमा हुनेगरेको भ्रष्टाचारको कहालीलाग्दो चित्र हाम्रासामु उभिन पुग्छ । कतिपय अवस्थामा त भ्रष्टाचार रोक्न स्थापना भएको आयोगकै कर्मचारी भ्रष्टाचारमा परेका, फाइल रोकिदिन्छु भनेर तिनै भ्रष्टाचारीसँग घुस लिँदालिँदै पक्राउ परेका घटना छन् । यसबाट भ्रष्टाचारको मानसिकतामा सबैजसो मानिस रहेका हुने रहेछन् भन्ने प्रष्ट हुन्छ । भ्रष्टाचार पहिलेदेखिकै समस्या हो ।

प्राचीन र मध्यकालमा मात्र नभएर पौराणिक कालमा पनि यस्तो अवस्थाको विद्यमान थियो । आधुनिक कालको सुरुवाततिरै नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा घुसको कुरा गरेका छन् । घुस खाने र दिने दुवैलाई राष्ट्रका शत्रु मानेका छन् । यसबाट त्यसबेला मानिसहरूले घुस खाने रहेछन् भन्ने थाहा हुन्छ । वर्तमान समयसम्म आइपुग्दा यस्ता कार्यमा कमी आउनुपर्नेमा अझै बढेर गएको अवस्था छ । एकातिर सेवामा रहेका मानिसहरूको बदनियत यसको कारक बनेर आएको छ भने अर्कातिर यसलाई नियमन गराउने जिम्मेवारीमा रहेका व्यक्तिहरूको नियत पनि यस्तै पाइने गरेको छ । भ्रष्टाचारीलाई कारबाही गर्नेगरी कानुनको दायरामा ल्याउनुपर्नेमा आफैँ त्यस्ता भ्रष्टाचारीलाई उन्मुक्ति दिने प्रयासमा तिनैसँग घुस खाने गर्छन् ।

यसले गर्दा बाहिर सतहमा आएका केही उजुरीहरूको संख्या हेर्दामात्रै यस्तो भयावह अवस्था छ भने भित्रभित्रै सामसुम पारिने घटना कति होलान् कति ? माघ महिनामा मात्रै एक हजार पाँच सय ३२ वटा यस्ता उजुरी दर्ता भएकाले भ्रष्टाचारको अवस्था आँकलन गर्न सकिन्छ । त्यसकारण सतहमा बसेर संख्या गन्नुको सट्टा जिम्मेवारीमा बसेका मानिसहरूले बदनियत नराखी काम गर्नुपर्ने आवश्यकता एकातिर छँदै छ अर्कातिर नियमन गराउने दायित्वमा भएका मानिसहरूले आफूसमक्ष कसको कुन फायल आयो ? चिनेको मानिस हो कि वा आफन्त हो वा पराई जो भए पनि सबैलाई निर्मम भएर कानुनी दायरामा ल्याउने हो भने निश्चय यस्तो कहालीलाग्दो अवस्थामा कमी आउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?