टिभिएसको अन्तर्राष्ट्रिय एओजी राइड भारततर्फ

Read Time = 5 mins

काठमाडौं । अपाचे ओनरस् ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय माक्र्यु राइड बिहीबारदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालयमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दिपककुमार अग्रवालको उपस्थिति रहेको थियो । सो अवसरमा बोर्डका प्रमुख कार्यकारी अधिकृतले भन्नुभयो, ‘यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्य भारतमा प्रवद्र्धन गर्ने र भारतीय राइडरलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । पर्यटन प्रवद्र्धनको यो अभिप्रायलाई मध्यनजर गर्दै बोर्डले कार्यक्रमलाई सहयोग गर्नेछ ।’

२१ दिने लामो माक्र्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडर सहभागी छन् । पहिलो दिन काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गरेको यात्रा करिब छ हजार पाँच सय किलोमिटर लामो हुने आयोजकले जनाएको छ । मोटोसोल भारतबारे बोल्दै टिभिएस भारतका व्यापार प्रमुख विमल सुम्बलीले भन्नुभयो, ‘हामी विश्वभरका लाखौँ मोटरसाइकल पारखीलाई एउटै साझा प्लेटफर्ममा देख्दा निकै हर्षित छौँ । यो एउटा समुदायमात्र होइन, लाखौँ युवाको प्रेरणाको स्रोत हो, जसले बाइकिङ, रेसिङ र यात्रा सुरक्षाका कुराद्वारा उनीहरूलाई जोड्ने काम गर्छ । नेपालको सहभागिता देखेर खुसी छु । यो नेपाल र बंगलादेशको पहिलो अन्तर्राष्ट्रिय राइड हो र हामी मोटरसाइकल परखीलाई मोटोसोलमा स्वागत गर्न निकै उत्साहित छौँ ।’

मानिस र मेसिनबीचको सम्बन्ध थप बलियो बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधि पनि समावेश छन् । कार्यक्रमका लागि पाँच सयभन्दा बढी अपाचे राइडरले अनलाइन आवेदन दिएका थिए ।

काठमाडौंबाट रक्सौल हुँदै राइड गया, राउरकेला, सारंगढा, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसुर, बेंगलोर, तिरूपति, विजयवाडा, विशाखपटनम, ब्रहृमपुर, कोलकाता, भागलपुरबाट पुनः रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुने बताइएको छ । आयोजकका अनुसार राउरकेलामा नेपाल र बंगलादेशका राइडरबीच भेट हुनेछ भने राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जानेछन् । राइडरले राइडका क्रममा भारतका विभिन्न ठाउँका पर्यटकीय क्षेत्रको पनि भ्रमणसमेत गर्नेछन् ।

राइडका क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिका साथै टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक र प्रविधि प्रदर्शनी गरिनेछ । अपाचे बाइकको १६० सिरिज, २०० सिरिज र आरआर ३१० श्रेणीका बाइक सहभागी कार्यक्रममा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको दाबी छ । नेपालस्थित टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले गत मार्चमा बाइकिङ प्रविधि प्रवद्र्धन गर्न अपाचे ओनरस् ग्रुप (एओजी) नामक फोरम गठन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?