पश्चिमी वायुको प्रभाव : साढे चार महिनापछि उपत्यकामा हिउँदे वर्षा

ठूलो पानी पर्ने सम्भावना छैन : विभाग

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हिउँदे वर्षा भएको छ । काठमाडौंसहित देशका विभिन्न ठाउँमा आइतबार हल्का वर्षा भएको हो । लामो समयसम्म काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भएको थिएन । काठमाडौं उपत्यकामा करिब साढे चार महिनापछि वर्षा भएको हो । यसअघि गत अक्टोबर दोस्रो साता उपत्यकामा वर्षा भएको थियो ।

पश्चिमी वायुको प्रभावका कारण मेघ गर्जनसहित हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमतीसहित गण्डकी प्रदेशका अधिकांश भाग र प्रदेश १ मा फाट्टफुट्ट पानी परेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्री-मनसुनको समय भएकाले छिटपुट वर्षा भएको हो । धेरै ठूलो पानी पर्ने सम्भावना छैन । लामो समय निरन्तर वर्षा नभएर हल्का वर्षाको सम्भावना मात्रै रहेको मौसमविद् शान्ति कँडेलले हिमालय टाइम्सलाई बताउनुभयो । ‘पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भएको हो’, उहाँले भन्नुभयो, ‘यो निरन्तर हुने अवस्था छैन ।

छिटपुट कतै हुने र कतै नहुने देखिन्छ ।’ हिउँदे वर्षासँगै देशका केही ठाउँमा हिमपात भएको छ । पोखराका केही ठाउँमा असिना पानीसमेत परेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पोखरासहित तनहुँको शुक्लागण्डकी, म्याग्दीको जलजलालगायत क्षेत्रमा असिना पानी परेको हो । सोमबार (आज) पनि देशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन÷चट्यांगसहित हल्का वर्षाको सम्भावना छ । साथै यी प्रदेशहरूका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । यो क्रम मंगलबार अझै विस्तार हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?