पहिला धामिनी सर्पहरूलाई समाप्त पारौँ

Read Time = 15 mins

✍️ मणि शर्मा

पाटलीपुत्रको युद्धमा पराजित भएपछि चाणक्य भाग्दै एउटी बुढीका घरमा पसे र भकारीको कुनामा गएर लुके । भकारीको छेउमै भान्सा थियो । नजिकै चुलोछेउ एउटी बुढी आफ्नो नातिलाई खाना खुवाइरहेकी थिइन् । हजुरआमाले त्यस दिन खिचडी पकाएकी थिइन् । उनले खिचडी थालमा पस्केर खिचडीको बीचमा खाल्डो बनाई घ्यू राखिदिएर नातिलाई खान भनिन् । खिचडी तातो थियो । हजुरआमा पानी लिन गएको बेला नातिले खान सुरु गरेछ । उसले थालको बीचमा हात हालेर खान खोज्दा हात पोलेछ र ऊ पीडाले कराएछ । हजुरआमा नातिलाई के भयो भनेर दगुर्दै आइन् । हजुरआमाले आएर हेरिन् नातिले तात्तातो खिचडीको बीचमा औंला हालेको रहेछ ।

यो देखेर हजुरआमाले भनिन् ‘तँ चाणक्य जस्तो मुर्ख रहिछस् । तातो खिचडीको स्वाद लिनु छ भने पहिला एउटा कुनाबाट खान सुरु गर्नुपर्छ । तैँले चाणक्य जस्तै बीचमा औंला राखिस् त्यसैले अहिले रुनु परिरहेको छ । चाणक्य बाहिर निस्क्यो, बुढी आमाको पाउ छोएर प्रणाम ग¥यो र भन्यो, ‘तपाईंले सही भन्नुभयो । म मुर्ख थिएँ, त्यसैले राजाको राजधानीमा आक्रमण गरेँ र आज हामी सबैको ज्यान खतरामा छ ।’ त्यहाँबाट गएपछि चाणक्यले सेना एकत्रित गरी बिस्तारै मगधको चारैतिरबाट आक्रमण गरी विस्तारै मगधलाई कमजोर बनाउन थाले । एकदिन पाटलीपुत्र जितेर चन्द्रगुप्त मौर्यलाई मगधको राजा बनाउन सफल भए ।

ओलीको दोहोरो चरित्र नेपालको लागि घातक छ । दुर्गा प्रसाईंले झापामा राजालाई बोलाएर उनको महाअभियानको उद्घटानमा राजाबाट दीप प्रज्ज्वल गराउँदा बोलेनन् तर पार्टीभित्रकै एउटा खेमाले विरोध गरेपछि उनले प्रसाईंलाई केन्द्रीय सदस्यबाट राजीनामा दिन लगाए ।

सक्कली राजतन्त्र समर्थकहरूले तातो खिचडीलाई सेलाएर खानुपर्ने हो तर कोही चुनाव जितेर राजसंस्था पुनःस्थापित गर्छु भन्ने र कोही राजा र उनको परिवारलाई मञ्चमा ल्याएर राजधानी कब्जा गर्छु भन्ने कतै सोम शर्माको सातु त हुने होइन् ? सबैलाई अहंकारले खाएको छ, राजसंस्था पुनःस्र्थापना गर्छु भन्नेहरू र विदेशी शक्तिकेन्द्रको बलमा यस देश र जनताको हितविरुद्धको सनातन धर्मविरोधी संघीय गणतन्त्र जोगाउँछु भन्नेहरू । नेपालको मौलिकता फर्काउँछु भन्नेहरू आ-आफ्ना अहंकारलाई त्यागेर सबै एकै ठाउँमा आउनुको विकल्प छैन ।

गणतन्त्र स्वीकारेर सांसद र मन्त्री बन्न जाने र सनातन धर्म सापेक्ष राजतन्त्रको पुनःस्थापित गर्छु भन्ने दोधारे कुरा हो । सूर्य अस्त हुनुपूर्व जयद्रथलाई मार्छु भन्ने अर्जुन यसरी नै दोधारमा परेका थिए । द्रोणाचार्यले जयद्रथलाई बत्तीस कोश आकारको कमलव्यूहमा लुकाएर वीरहरूलाई पहरा दिन लगाए ताकि अर्जुन त्यस व्यूहभित्र पस्न नसकोस् । कृष्ण अर्जुनलाई भन्छन्, ‘अर्जुन, तिमी बाटो सफा गर । म रथ लिएर आउँछु । अझै बाह्र कोस बाँकी छ ।’ अर्जुन सोध्छन्, ‘केशव यो किन ?’

कृष्ण भन्छन्, ‘अश्व थाकिसकेको छ, ध्यान दिने कुरा हो । अर्जुन ! कदाचित तिमीले मेरो उपदेशमाथि ध्यान दिएका छैनौँ । जुन मैले युद्ध सुरु हुनुभन्दा पहिला दिएको थिएँ । तिमी प्रतिज्ञा गर्ने को हौ ? तिमी त निमित्ति मात्र हौ । यदि तिमीले प्रतिज्ञा गरेको हुँदैनथ्यौ भने अहिलेसम्म जयद्रथलाई मारिसक्थ्यौ । तिम्रो ध्यान एकातिर सूर्यतिर छ अर्कोतिर जयद्रथमाथि । यसैले तिम्रो निशाना खेर गइरहेको छ । यस्तो लक्ष्य तय गरेका छौ कि असफल भए तिमीलाई नै विनष्ट पार्नेछ । यो डरले नै तिमीलाई पराजित गर्नेछ ।’ अहिले राप्रपाको अवस्था पनि यस्तै छ, एकातिर गणतन्त्रलाई उपयोग गर्ने नाममा संसद र सरकारमा पुग्ने, राष्ट्रपतिको निर्वाचनमा भाग लिने अर्कोतिर सनातन धर्म सापेक्ष राजतन्त्रको स्थापना गर्ने ।

दुर्गा प्रसाईं बर्दिया आउँदा उनलाई मैले सोधेको थिएँ, ‘झापादेखि धनगढी आउँदासम्म तपाईंको बोली किन फेरियो ?’ उनले सोधे, ‘कस्तो बोली ?’ मैले भनेँ, ‘धनगढी आइपुग्दासम्म तपाईंले राजतन्त्र फिर्ता गर्छु भन्ने भनाइलाई त्यागिसक्नु भएको देखिन्छ ।’ उनको उत्तर थियो, ‘अहिले यो भन्ने बेला भएको छैन । २० गते काठमाडौं आउनु होला, थाहा पाउनु हुनेछ ।’ बेला कहिले आउँछ, नेपाली जनता जान्न चाहन्छन् ? कि राजा ज्ञानेन्द्रको शेषपछि ?

पुष्पकमल दाहालले कहिले कांग्रेसले त कहिले एमालेले बोक्नुको पछाडि के रहस्य छ ? ओलीको दोहोरो चरित्र नेपालको लागि झन् घातक छ । दुर्गा प्रसाईंले झापामा राजालाई बोलाएर उनको महाअभियानको उद्घटान राजाबाट दीप प्रज्ज्वल गराउँदा बोलेनन् तर पार्टीभित्रकै एउटा खेमाले विरोध गरेपछि उनले प्रसाईंलाई केन्द्रीय सदस्यबाट राजीनामा दिन लगाए । तथाकथित जनयुद्ध दिवसको सार्वजनिक बिदा दिँदा कान थुनेर बसे, अहिले जब पुष्पकमल देउवातिर ढल्के अनि तथाकथित जनयुद्ध दिवसको बिदाको विरोध गरेका छन् । स्वार्थी भावनाले चुर्लुम्म डुबेका ओलीको मौसमी राष्ट्रवादलाई कसरी विश्वास गर्ने ? ओलीमा थोरै पनि राष्ट्रभक्ति छ भने फागुन २० गते हुनलागिरहेको आन्दोलनमा आफ्ना कार्यकर्तालाई भाग लिन लगाएर २०४७ सालको संविधान पुनःस्थापनाको नेतृत्व लिनुपर्छ ।

पुष्पकमलले छेपारोलाई पनि लज्जित गर्ने गरी रंग फेरेपछि उनीसँग अहिले कुनै विकल्प छैन । दुर्गा प्रसाईं एउटा व्यक्ति हुन्, उनको संगठन छैन र विनासंगठन आन्दोलन असम्भव छ नेपालमा । किनकि, नेपाली जनतामा राष्ट्रियताको भावना कि मरिसकेको, कि त सुषुप्त अवस्थामा छ । ओलीजीले बयलगाडाको यात्राको अनुभव धेरै नै बटुलिसक्नु भएको छ । थिल्थिलो भएको होला उहाँको शरीर । अब बयलगाडाबाट झर्नुस् । नेता हुनु ठूलो कुरो होइन तर राजनेता हुनु संसारकै सबैभन्दा गाह्रो काम हो । तपाईं एउटा आमनेता हुने वा राजनेता हुने ? बयलगाडाको सवारी त्याग्ने निर्णय तपाईंको । होइन भने तपाईंको राष्ट्रवाद सत्तामा जाने नक्कली राष्ट्रवाद हो भन्ने प्रमाणित हुनेछ ।

राष्ट्रलाई बचाएमात्र राजनीतिको व्यापार चल्ने छ । राष्ट्र नै नरहे राजनीति कसका लागि गर्ने ? लेन्डुपले सिक्किम इण्डियामा विलय गराए । उनको काम सकिएपछि दूधबाट झिँगा फाले झैँ उनलाई अपमानित गरेर फालियो । नेपालका नेताहरूलाई यो कुरा बुझ्न कति समय लाग्ने हो ? इण्डियन सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीहरूलाई विदेशी घोषणा गर्‍यो । मोदीबाट हरियो बत्ती नदेखाइकन अदालतले यो फैसला गरेको होइन । भोलिका दिनमा सिक्किमका नेपालीभाषीहरूलाई भुटानको जस्तै लखेटेर नेपालमा शरणार्थी बन्न पठाउने सम्भावनालाई नकार्न सकिँदैन । नेपाली जनताको पहिलो काम राष्ट्र बचाउने हो ।
एउटा पौराणिक कथासँग गणतन्त्रवादीहरूको चरित्र मिल्छ । ‘तिमी के देखिरहेका छौ वत्स ?’
‘मैले त एउटा गोमन सर्प फ्वाँ फ्वाँ गरिरहेको देखिरहेको छु गुरुदेव । के म वाँण सन्धान गरूँ ?’
‘रोक वत्स । तिमी हतार नगर । युद्धकालका परिस्थितिहरू सार्वकालिक हुँदैनन् ।’
‘तात्पर्य गुरुदेव ?’
‘वत्स ! तिमी अगाडि विषालु गोमन सर्प देखिरहेका छौ, किन्तु, आफ्नो खुट्टामा बेरिएको धामिन सर्पिणी तिमीलाई दृष्टिगोचर भइरहेको छैन ।’
‘यसतर्फ ध्यान दिन किन आवश्यक छ गुरुदेव ? यो त विषविहीन हुन्छे ।’

‘हुन्छे होइन वत्स, तर कुनै बेला विषविहीन हुन्थी । थाहा छ तिमीलाई जब यसका प्रजातिहरू गोमनसँग संसर्ग गर्छन्, खच्चड भइहाल्छन् । यिनमा विष प्रयुक्त हुन्छ संसर्गबाट । मनुष्य यी विकासे धामिन सर्पहरूलाई देखेर भ्रमित हुन्छन् र मारिन्छन् । किनकि अहिले पनि पुरानै विश्वास र मान्यताहरू नै चल्दै आइरहेको छ वत्स । तर समय फेरिएको छ । हेर्दा विषविहीन देखिए पनि यिनीहरू भित्र प्रचुर मात्रामा विष विद्यमान हुन्छ । अब यस धामिन सर्पिणीलाई हेर । कसरी तिम्रो खुट्टामा बेरिएर आफ्नोपन देखाइरहेकी छे । तर, यसको धर्म हो माया र आफ्नोपनको भूूलभूलैयामा पारेर तिमीलाई डस्नु ।’

विदेशी शक्तिकेन्द्रको चलखेल र ठाडो हस्तक्षेप छँदैछ । जबसम्म बाहिर हेर्दा विषविहीन किन्तुभित्र अथाह विष सँगालेर बसेका यी धामिनी सर्पहरूलाई नेपालको राजनीतिबाट समाप्त नपार्दासम्म न धर्मको विजय हुनेछ र न त राष्ट्रको ।

‘ओहो । मलाई त ज्ञात नै थिएन गुरुदेव । अब भन्नुस् मैले यो परिस्थितिमा के गर्नुपर्छ ? बाहिर देखिने (नेपालको सन्दर्भमा विदेशी शक्तिकेन्द्र) शत्रुसँग तिमी जुनसुकै बेला युद्ध गर्न सक्छौ तर तिमीसँग बेरिएर मायाको नाटक गर्ने यो छलसर्पिणीलाई पहिला बध गर । यसभन्दा पहिला यो छलसर्पिणी गोमनसँग आफ्नो वासना मेटाएर अनेकौं छलसर्पहरू जन्माउँछे, त्यसभन्दा पहिला यसलाई बध गरिदेऊ ।’
‘गुरुदेव ! हजुरको आज्ञाको पूर्णतया पालन हुनेछ किन्तु एउटा सन्देह । हजुरको भाषा फेरिए फेरिएजस्तो भएको छ ।’

‘यो द्वापर होइन कलियुग हो वत्स । भाषामात्र होइन, पूरै रणनीति नै फेरिएको छ । जब साध्य पवित्र छ भने, साधनको चयनमा नीति अनीतिको ध्यान राख्नु हुँदैन । युद्धको उद्देश्य धर्म रक्षा हो, विजय हो । समयकाल अनुसार परिवर्तन गर्नबाट संकोच मान्नु हुँदैन । जति आवश्यक सुँगुरको बधको हुन्छ त्यति नै आवश्यक सुँगुरबीजको अन्त्यको पनि । यसको अन्तर र पहिचानलाई बुझ, तबमात्र आफ्नो अभीष्ट पूरा गर्न सक्छौ । अहिल्यै धर्म र अधर्मको विवादमा परे तिमी असफल हुनेछौ । पहिला राष्ट्रलाई बचाऊ अनिमात्र राजनीति गर्न तिमी बाँच्ने छौ ।’

नेपाली जनताले यो कथाको मर्मलाई बुझ्नु जरुरी छ । विदेशी शक्तिकेन्द्रको चलखेल र ठाडो हस्तक्षेप छँदैछ । यी हस्तक्षेपकारी गोमन सर्पहरूलाई निम्ताउने यिनै नेपालको सत्तामा फणा उठाएर बसिरहेका धामिनी सर्पहरू हुन् । जबसम्म बाहिर हेर्दा विषविहीन किन्तुभित्र अथाह विष सँगालेर बसेका यी धामिनी सर्पहरूलाई नेपालको राजनीतिबाट समाप्त नपार्दासम्म न धर्मको विजय हुनेछ र न त राष्ट्रको । यी धामिन सर्पहरूलाई समाप्त पारेर मुलुकलाई पुरानै अवस्थामा फर्काएमात्र हामी हाम्रो देशमा पसेका गोमन सर्पलाई भगाउन वा समाप्त पार्न सक्नेछौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?