४१औं राष्ट्रिय मगर एकता दिवस : मगरमय बन्यो पाल्पा

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । पाल्पा मगरी कला संस्कृतिले धनी जिल्ला हो । यहाँ करीब ५२ प्रतिशत भन्दा बढी मगरहरुको बसोवास रहेको छ । त्यसैले होला ४१औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा पाल्पा मगरमय बन्न पुुग्यो । यहाँका हरेक वडा–वडा र टोल–टोलमा मगरी पहिरनमा मगर समुदायका दिदीबहिनी,दाजुुभाई र आमाबुुबाहरु सजिएका देखिन्थे ।

अन्य दिनभन्दा सोमबार पाल्पाको माहोल बेग्लै थियो । परम्परागत भेषभूषा र आकर्षक पहिरनमा सजिएका मगर समुदायको जमघट बाक्लो थियो । छिटको गुन्यू,चौबन्दी चोली अनि रातो घलेकी र पटुका । त्यसै माथी खुर्पेटो र हँसिया । निधारमा टीका,पहेलो पोतेमा सिँगारिएका मगर सेनी तथा भोटो, इस्टकोट, कछाड, गलबन्दी, भरकलि लगाएका मगर पुरुषको उपस्थितिले पुरै जिल्ला नै मगरमय बन्यो ।

यहाँका १० वटै पालिकामा भव्य रुपमा विविध सांस्कृतिक कार्यक्रमहरु भए । जहाँ मगरी भेषभुुषा, खानाका परिकारसँगै सांस्कृतिक कार्यक्रम समेत भए । यहाँका हरेक सडकमा निस्किदा सबै मगर पहिरनमा सजिएका व्यक्तिहरु मात्र भेटिन्थे । सबैजना मौलिक पहिरनमा चिटिक्क । पहिरनमा तानसेनस्थित श्रीनगरडाँडामा भेटिनुुभएकी तानसेनकी शर्मिला मगरले आफ्नो जातिय पहिरनमा सजिन पाउँदा खुसी लागेको बताउनुभयो । यो हामी मगर जातिलाई चिनाउने आफ्नो पोशाक र चिनारी हो, बिर्सनु त भएन नि ।’ अनि पो संस्कृति बाँचिरहन्छ ।’ उहाले भन्नुभयो ।

उहाँले अरू बेला साधारण पोशाक लगाए पनि आफुले चाडपर्व, मेला महोत्सव,शुभकार्य या जमघटका बेला मगर पहिरन नै लगाउने गरेको सुनाउनुभयो । यस्तै माथागढीकी मनिषा आलेले पनि सराईमा भएको सांस्कृतिक महोत्सवमा चिटिक्क मगरी परिहनमा देखिनुुहुुन्थ्यो । उहाँले आफ्नो संस्कृतिलाई बचाई राख्न उत्सवको अवसरमा पोशाक लगाएको बताउनुुभयो । यहाँ दिनभर मगरहरुको उत्सव नै चल्यो ।

कार्यक्रममा उपस्थित मध्ये धेरै आफ्नै पोशाक, चालचलन र शैलीमा देखिन्थे । कोही फोटो खिच्नमा त कोही नाचगान हेर्नमै मस्त थिए । आपसमा रमाइरहेका थिए । कार्यक्रममा मगर समुदायको भेषभूषा तथा झाँकी गीत र नृत्यले दिवसलाई रौनकता थपे । एक अर्कामा शुभकामना सांटेर मगरहरुले एकता दिवस मनाए । लखन थापालाई समेत उनिहरुले सम्झना गरे । दिवससँगै भाषा र संस्कृति संरक्षणका लागि सबै जागरुक हुने बेला आएको उनीहरुको भनाई थियो । यहाँका तानसेन , रामपुर, माथागढी, तिनाउ, रिब्दीकोट, रैनादेवी हछरा, बगनासकाली, रम्भा, निस्दी, पूर्वखोला लगायतका पालिकाहरुमा भव्य कार्यक्रमहरु भए ।

परम्परागत मारुनी, ठूलो नाच, भैली नाच, सोरठी जस्ता नाँचहरु प्रदर्शन गरिएको थियो । ठूलो नाच, भैली नाच, सोरठी सालैजो जस्ता गीत गाउँदै मादल ठोक्दै गुन्यु र चोलो र टोपीको पहिरन फूल माला लगाएर गरिएको नृत्यको दृश्य हेर्दा जो कोहीलाई नाचु नाचु जस्तो हुन्थ्यो ।
पाल्पा मगरी कला संस्कृतिमा धनी रहेता पनि पछिल्लो समय युवाहरु गाउँ छोड्ने रोजगारीको लागि शहर बजार, विदेशिने कारण पाका पुस्ताबाट युवा पुस्तामा मौलिक कलासंस्कृति पूर्णरुपमा हस्तान्तरण हुन सकेको छैन । अहिले भने स्थानीय सरकारले यि संस्कृतिको जर्गेनामा भने चासो देखाएका छन् । मगरी कलासंस्कृति जर्गेना गर्न पछिल्लो समय स्थानीयवासीको आवाजलाई पालिकास्तरबाट सम्बोधन हुन थालेको छ । वडा तथा पालिकाबाटै बजेट विनियोजन गरी परम्परागत कलासंस्कृति जर्गेनाको प्रयासले स्थानीयवासीहरु उत्साहित भएका छन् । मगर दिवसमा पनि यहाँका अधिकांस स्थानीय सरकारले बजेट नै छुुट्याएर कार्यक्रम गरे ।

स्थानीय सरकारले दिए बिदा

मगर एकता दिवसका अवसरमा पाल्पा जिल्लाका १० वटै स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिए । यहाँका तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ, बगनासकाली, रैनादेवी छहरा, रम्भा, रिब्दीकोट, पूर्वखोला गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । सार्वजनिक बिदाका दिन पालिकाभित्रका सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्था बन्द रहे । दिवसमा माथागढी गाउँपालिका–३, सराईमा मगर एकता दिवस तथा सांस्कृतिक महोत्सव गरियो । स्थानीय कला संस्कृतिको जर्गेना, मगरी खाना, मगरी भेषभूषा आदिको प्रदर्शन भएको थियो । वडाध्यक्ष तेज घर्तीमगरले मगरी समुदायभित्र रहेका केही सांस्कृतिक विकृतिलाई हटाउँदै मौलिकताको जर्गेना र संस्कृतिक संरक्षण गर्न महोत्सव गरिएको बताउनुभयो ।

रामपुरमा पनि एकीकृत मगर उत्थान समाजले विविध सांस्कृतिक कार्यक्रम ग¥यो । मगर संस्कृतिमा आधारित कला, भाषा, भेषभूषाको संरक्षण एवं सम्बद्र्धन गर्ने उद्देश्यका साथ दिवस मनाइएको छ । मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठूलो नाच, ठाडो भाका, यानीमाया लगायतका विभिन्न झाँकीको प्रर्दशन गरियो थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?