युभेन्ट्स र युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा

Read Time = 3 mins

लण्डन । इटालियन क्लब युभेन्ट्स र रोमा युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । युभेन्ट्सले जर्मन क्लब फ्रेइवर्गलाई दुई-शून्यले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । बिहीबार राति भएको खेलमा युभेन्ट्सको जितमा डुसान भ्लाहोभिच र फेडरिको चिइसाले एक-एक गोल गर्नुभयो । ४५औं मिनेटमा डुसानले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई एक-शून्यको अग्रता दिलाउनुभयो । त्यसपछि इन्ज्युरी समयमा फेडरिकोले गोल गर्दै युभेन्ट्सलाई जित दिलाउनुभयो ।

अर्काे खेलमा रियल सोसिडाड दोस्रो लेगमा रोमाले गोलरहित बराबरी खेलेपनि पहिलो लेगमा निकालेको जितका कारण क्वार्टरफाइनलमा स्थान बनायो । रोमाले सोसिडाडमाथि समग्रमा दुई–शून्यको जित निकालेको हो । यस्तै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि स्पेनिस क्लब रियल बेटिसलाई एक–शून्यले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको छ । युनाइटेडको जितमा मार्कस रासफर्डले निर्णायक गोल गर्नुभयो । उहाँले ५६औं मिनेटमा क्यासमिरोको पासमा गोल गर्नुभएको थियो ।

अर्को इंग्लिस प्रिमियर लिग आर्सनल भने युरोपा लिगको प्रि-क्वार्टरफाइनलबाटै बाहिरियो । पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग टाइब्रेकरमा पाँच-तीनले पराजित हुँदै आर्सनल अन्तिम १६ बाटै बाहिरिएको हो । इमिरेट्स स्टेडियम लन्डनमा बिहीबार राति भएको दोस्रो लेगमा एक-एक गोलको बराबरी तथा समग्रमा तीन-तीन गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा स्पोर्टिङले बाजी मारेको हो ।

टाइब्रेकरमा स्पोर्टिङका जेरी सेन्ट जस्ट, रिकार्डाे स्काइओ, गोन्कालो इनासियो, आर्थर र नुनो सान्तोषले गोल गर्नुभयो । आर्सनलका मार्टिन ओडेगार्ड, बुकायो साका र लियान्द्रो ट्रोससार्डले गोल गर्दा गाब्रिएल मार्टिनेलीले गोल गर्न सक्नुभएन । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?