तनहुँको सराङघाट सबस्टेसन उद्घाटन

Read Time = 4 mins

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका ६ मा निर्माण भएको ३३/११ केभीको सराङघाट सबस्टेसन उद्घाटन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडिबी) नेपाल आवासीय नियोग प्रमुख आर्नो कुश्वाले संयुक्तरूपमा सोमबार सबस्टेसन उद्घाटन गर्नुभएको हो । प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाट तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो ।

सो अवसरमा कार्यकारी निर्देशक घिसिङले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत् पहुँच पु¥याउने गरी काम भइरहेको बताउनुभयो । विद्युतीकरणमा एडिबीको ठूलो सहयोग रहेको उल्लेख गर्दै उहाँले सबस्टेसन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत् कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत् निर्माण गरिएको सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो ।

आँबु खैरेनी गाउँपालिकास्थित मार्कीचोक सबस्टेसनदेखि बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । प्रसारण लाइन बन्दीपुर गाउँपालिका ५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पु¥याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ । जसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइन भूमिगत गरिएको प्राधिकरणले जनाएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँमा विद्युतीकरण गर्न र विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो । सराङघाट सबस्टेसनमा ६÷८ एमभिए पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन फिडर लाइन निकालिएको छ । एउटा फिडर जगेडामा राखिएको छ । सबस्टेसनमार्फत् तनहुँको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति भइरहेको छ । आयोजना प्रमुख बोधराज ढकालले तनहुँ जिल्ला सारभूतरूपमा पूर्ण विद्युतीकरण भएको उल्लेख गर्दै दुई महिनाभित्र पुँजीकरणको काम सम्पन्न गरी आयोजना बन्द गरिने बताउनुभयो ।

दुई सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इण्डिया उद्योग÷वाइवा इन्फ्राटेक जेभीसँग २०७५ मंसिरमा ठेक्का सम्झौता भएको थियो । करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा प्राधिकरणको लगानी र एडिबीको ऋणमा कार्यान्वयनमा ल्याइएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?