पूर्वराष्ट्रपतिको राजनीतिमा फर्कने चाहना ?

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 16 mins

नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव एक कुशल चिकित्सक थिए । राष्ट्रपतिको पदावधि सकिएपछि जनतालाई चिकित्सकीय परामर्श दिँदै समाजसेवामा उत्रिएको भए कति राम्रो देखिन्थ्यो होला ? पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मकै दूरदराजका स्वास्थ्य सेवा नपुगेका गाउँहरूमा गएर निःशुल्क चेकजाँच गर्ने अभ्यास थालेको भए आमनागरिकले कति जयगान गर्थे होलान् ? देशको सर्वोच्च पदमा पुगेर इहलोकमा त ख्याति कमाएकै थिए, रोगले थलिएका जनताको आशीर्वादले परलोक पनि निश्चय नै सुध्रिन्थ्यो । उनले आफ्नो उपचारका लागि लिएको राज्यकोषको रकमप्रति पनि कुनै चित्तदुःखाइ कसैको पनि हुँदैनथ्यो होला ।

त्यस्तै दोस्री राष्ट्रपति विद्या भण्डारीले पनि केही न केही त पक्कै जानेकै होलिन् । अरू केही नजाने पनि असहाय, पीडित र दुर्बल महिलाहरूको उत्थानमा आफूलाई केन्द्रित गर्न त पक्कै आउँछ नै होला । शीतलनिवासबाट बाहिरिँदा बाहिरिँदै म अब समाजसेवामा सक्रिय हुनेछु भन्ने घोषणा गरेको भए कति प्रशंसा गरिन्थ्यो होला । दुई छोरीकी आमा भण्डारीलाई महिला सुत्केरी हुँदाको पीडा अवश्यै थाहा छ । नेपालका ग्रामीण भेगका सुत्केरी हुन नसकेर मृत्युको मुखमा पुगेका महिलाहरूको वेदना पनि बुझेकै छन् ।

राष्ट्रपति पदमा रहुञ्जेल नै कुनै न कुनै तरिकाले चर्चामा रहेकी विद्या भण्डारी केही समय यतादेखि पुनः चर्चाको शिखरमा पुगेकी छन् । पद सकिएलगत्तै चुनावी मैदानमा होमिने र प्रधानमन्त्री हुने हल्ला बाहिरिएसँगै यसका पक्ष र विपक्षमा चर्चा परिचर्चाहरू व्यापक रूपमा उठाइएका छन् ।

त्यस्तै महिलाहरूको सेवामा आफूलाई संलग्न गराउँछु भनेको भए कति राम्रा शब्दहरूले प्रशंसा हुन्थ्यो होला तर फेरि राजनीतिमा संलग्न हुने हल्लाले धेरैको मनमा अनेक संशयहरू उत्पन्न गराएको छ । पूर्वराष्ट्रपति भण्डारीले के गर्ने हुन् त हेर्न बाँकी नै छ तर उनका बारेमा चलेका चर्चा परिचर्चाले राम्रो सन्देश दिन सके जस्तो चाहिँ लाग्दैन ।

राष्ट्रपति पदमा रहुञ्जेल नै कुनै न कुनै तरिकाले चर्चामा रहेकी विद्या भण्डारी केही समय यतादेखि पुनः चर्चाको शिखरमा पुगेकी छन् । पद सकिए लगत्तै चुनावी मैदानमा होमिने र प्रधानमन्त्री हुने तयारीमा विद्या भण्डारी रहेको हल्ला बाहिरिएसँगै यसका पक्ष र विपक्षमा चर्चा परिचर्चाहरू व्यापक रूपमा उठाइएका छन् । एकाथरि विश्लेषकहरू पूर्वराष्ट्रपति जस्तो सम्मानित व्यक्तित्व पुनः राजनीतिमा फर्किएर राष्ट्रपति जस्तो संस्थाकै अपमान हुने काम गर्नु हुँदैन भन्ने पक्षमा आफ्ना मतहरू दिइरहेका छन् भने अर्काथरि संविधानको कुन धाराले पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्कन बन्देज लगाएको छ र नहुने भन्ने अभिमत राखिरहेका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओली पनि प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँदैन भनेर संविधानको कुन धारामा लेखेको छ भनेर प्रश्न उठाइरहन्थे ।

सबै कुरा संविधानमा लेख्न सम्भव हुँदैन नै । गर्न नहुने जति सबै काम संविधानमा लेख्नै पर्ने हो भने नेपालको संविधान महाभारतभन्दा पनि ठूलो ग्रन्थ हुन जान्छ । मूल कानुनका रूपमा रहने संविधानमा मुख्यमुख्य कुराहरूमात्रै समावेश गरिएका हुन्छन् भन्ने सबैले ख्याल गर्नै पर्दछ । संविधानमा नअटाएका कुराहरू ऐन, कानुन, नियम, विनियम आदिले समेट्दै जाने हो । संविधानमा नलेखिएका सबै कुराहरू गर्नुहुने भन्ने मान्यता राखियो भने नेपाल अराजकता, अव्यवस्था र भद्रगोलको केन्द्र बन्नेबाहेक केही पनि बाँकी रहँदैन ।

मन्दिरमा दिसापिसाब गर्न हुँदैन भनेर संविधानमा लेखिएको छैन । मस्जिद, चर्च आदिमा लगेर फोहोर फाल्न पाइँदैन भनेर कतै उल्लेख गरेको पाइँदैन । भान्सा कोठामा ट्टटी गर्नु महापाप हो भन्ने पनि कतै लेखे जस्तो लाग्दैन । आफ्नो घर सफा गरेर निस्केको फोहोर अर्काको बारीमा फाल्न पाइँदैन भन्ने पनि संविधानमा कोरिएको छैन तर यी सबै अपराध या पापका वर्गीकरणमै पर्दछन् । त्यसैले पूर्वराष्ट्रपतिले संविधानमा नलेखिएकै कारण राजनीतिमा फर्कन हुन्छ भन्ने व्याख्या गरिनु चाहिँ सर्वथा उपयुक्त भन्न मिल्दैन । अन्य कारणहरू खोज्ने र व्याख्या गर्ने हो भने बेग्लै कुरा हो ।

विद्या भण्डारीलाई नेकपा एमालेको राजनीतिमा फर्काउन चाहनेहरूले बंगलादेशमा राष्ट्रपति भइसकेको मान्छे प्रधानमन्त्री भएको उदाहरण दिने गरेका छन् । श्रीलंकामा पनि एउटै व्यक्ति कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्री भए भन्नेहरू पनि प्रशस्तै निस्किएका छन् । रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन पहिले राष्ट्रपति, पछि प्रधानमन्त्री र पुनः राष्ट्रपति बनेका दृष्टान्तहरू अघि सारेर विद्या भण्डारीको निकटमा रही चाकडी बजाउन खोज्नेहरूको संख्यामा पनि कुनै कमी देखिएको छैन । यथार्थ के हो भने एउटै व्यक्तिमा राजनीति घुमाइरहँदा देशको अवस्था कस्तो भएको छ भन्ने चाहिँ सोच्न सके जस्तो देखिँदैन ।

उदाहरण दिइएका देशहरूमा न लोकतन्त्र सुदृढ हुन सकेको पाइन्छ न देशले आर्थिक समृद्धि नै हासिल गर्न सकेका छन् । श्रीलंका त अस्ति भर्खरै टाट उल्टिएको घोषणा गर्ने देश हो भने रुस आणविक दृष्टिले र हातहतियारका दृष्टिले सम्पन्न र शक्तिराष्ट्र मानिए पनि त्यहाँका नागरिकले उपभोग गर्न पाएको नैसर्गिक अधिकारका बारेमा विश्व नै जानकार छ । बंगलादेश पनि सुशासन, सुव्यवस्था, आर्थिक समृद्धि, नागरिक अधिकार आदि कुनै पनि दृष्टिले प्रशंसा गर्न लायकको मुलुक बन्न सकेको अवस्थामा छैन । यस्तै देशहरूलाई पथप्रदर्शक मानेर त्यहीअनुरूप अघि बढ्न पूर्वराष्ट्रपतिलाई सल्लाह दिने र पूर्वराष्ट्रपतिले पनि त्यस्तै बाटो रोज्ने चाहना राख्ने हो भने आमजनताको भविष्य कस्तो हुन्छ भन्नेतर्फ सम्वेदनशील हुनै पर्दछ ।

शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपाल, विद्या भण्डारी आदि नेताको शासनशैली जनताले देखिसकेका छन् । यी नेताहरूका नेतृत्वमा मुलुकले गरेको संघर्ष र योगदानबाट प्राप्त फल आमनागरिकले चाखिसकेका छन् । सम्भवतः नेतृत्वको यो पुस्ताबाट मुलुक र जनताले पाउनुपर्ने अरू कुनै नौलो कुरा अब शायदै बाँकी होला । चालीस पचास वर्ष दुःख गरेर मुलुकलाई यस अवस्थामा पुर्‍याएका नेताहरूलाई बाँचुञ्जेल तपाईंहरूले दुःख नै गरिरहनुपर्दछ भन्नु पनि अन्याय नै हुन जान्छ ।

राष्ट्रपतिहरू पूर्वभइसकेपछि धमाधम राजनीतिमा ओर्लिने परिपाटी सुरु गरियो भने राष्ट्रपतिले निष्पक्ष अभिभावकीय भूमिका निर्वाह गर्ने परम्परामा आँच आउँछ । भोलिको आफ्नो राजनीतिलाई सुरक्षित राख्न आफू निकट पार्टीको सरसल्लाह बमोजिम चल्ने र अन्य दलहरूलाई टाढा राख्ने प्रवृत्ति राष्ट्रपतिहरूमा देखापर्न थाल्दछ ।

बरू राष्ट्रपति पदको अभिभारा सकिएपछि बिल क्लिण्टन, बाराक ओबामाहरू विश्वविद्यालयहरूमा विद्यार्थीहरूलाई पढाउन गएको उदाहरण दिएर नेपालका उच्चपदस्थलाई त्यस्तै सल्लाह दिएको भए राम्रो हुन्थ्यो कि ? केनेडीहरूले खोलेका समाजसेवी संस्थाहरूलाई मार्गदर्शन सम्झेर आफ्नो पदावधि सकिएपछि त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूले ठान्ने हो भने नेपालले पनि प्रगतिको बाटो समाउने सम्भावना रहन्थ्यो कि ? मौका पाएका बेलामा देशको भरपूर सेवा गर्ने र आफ्नो समय सकिएपछि विनालोभलालच मौन बस्ने नेताहरू भएको अमेरिकी र युरोपियन मुलुकहरूलाई दृष्टान्त बनाएर अघि बढ्ने प्रयत्न पूर्वपदाधिकारीले गरे नेपालीहरूको जीवनशैलीमा पनि केही परिवर्तन आउन सक्थ्यो कि ?

नेपालको राजनीतिक परिदृश्यमा तात्विक परिवर्तन आउन नसक्नुमा तीन दशकदेखि उही उमेर, उही वर्ग र उही सोच भएका नेताहरूको हालीमुहाली कायम भइरहनुलाई हल्का रूपमा अस्वीकार गर्न सक्ने अवस्था छैन । पार्टीभित्र नेतृत्व परिवर्तनको सोच नराख्ने, सरकार गठन हुँदा प्रधानमन्त्री, मन्त्री आदिमा उनै व्यक्ति आसीन भइरहने, संसदीय निर्वाचनमा ठूला पार्टीहरूका उनै व्यक्तिहरू पटक–पटक निर्वाचित भइरहने परिपाटीले देशलाई अव्यवस्थातिर गाँज्दै लगेको कुरालाई पनि सबैले स्वीकार गर्नैपर्दछ । एउटै व्यक्तिको नेतृत्वमा जुनी बिताउँदै उसैको जयजयकार गरेर चाकडीमा आफ्नो उन्नति देख्ने बानीलाई जनताले पनि परिवर्तन गर्न नसक्ने हो भने नेपाल र नेपालीले द्रुतविकासको चाहनालाई थाती राखे हुन्छ । यसै गर्ने हो भने त विष्णुको अवतार मानेर पुज्दै आएका राजा नै थिए नि ।

आधा वर्षअघिदेखि विद्या भण्डारीलाई राजनीतिमा फर्किएर नेकपा एमालेको अध्यक्ष र नेपालको प्रधानमन्त्री हुन उक्साउन थालिएको छ भन्ने चर्चा सुनिन्थ्यो । एमालेका वर्तमान अध्यक्ष केपी ओली राष्ट्रपति बन्ने र भण्डारी कार्यकारी पदमा आउने भन्ने हल्ला फैलाइएको थियो । विसं २०७४ देखि विसं २०७७ सम्म ओली प्रधानमन्त्री र भण्डारी राष्ट्रपति भएर जुन प्रकारको शासनशैली अपनाइएको थियो, त्यही अव्यवस्थालाई नेपालमा निरन्तरता दिने प्रयास हुँदैछ भन्ने सुनिएको थियो तर गठबन्धन दलहरूको सहमतिमा फेरबदल हुँदा त्यो सपना फगत सपनामै सीमित हुनपुगेको छ । अन्यथा त्यसै हुँदैनथ्यो भन्न पनि सकिने अवस्था थिएन ।

राष्ट्रपतिहरू पूर्वभइसकेपछि धमाधम राजनीतिमा ओर्लिने परिपाटी सुरु गरियो भने राष्ट्रपतिले निष्पक्ष अभिभावकीय भूमिका निर्वाह गर्ने परम्परामा आँच आउँछ नै । भोलिको आफ्नो राजनीतिलाई सुरक्षित राख्न आफू निकट पार्टीको सरसल्लाह बमोजिम चल्ने र अन्य दलहरूलाई टाढा राख्ने प्रवृत्ति राष्ट्रपतिहरूमा देखा पर्न थाल्दछ । संविधानको पालना गर्ने र गर्न लगाउने जिम्मेवारीबाट विमुख हुँदै भोलि आफू फर्किने राजनीतिक दलको समृद्धिका खातिर क्रियाशील हुने, समर्पित हुने र उसैको संरक्षणमा प्रवृत्त हुने भावना राष्ट्रपतिमा देखिन थाल्दछ जुन नेपाल जस्तो राजनीतिक अस्थिरताले गाँजेको मुलुकका लागि नितान्त हानीकारक हुन्छ ।

यो हल्ला हल्लामात्रै होइन कि भन्ने आशंका दोस्री राष्ट्रपति विद्या भण्डारीका विगतका कदमहरूले जन्माएका छन् । केपी ओली प्रधानमन्त्री हुँदा पठाइएका विधेयक एक मिनेट पनि अध्ययन नगरी, नरोकी स्वीकृत गर्ने र अक्षरशः र भावनात्मक रूपमा उनै कुराहरू भएको विधेयक अर्का प्रधानमन्त्रीले पठाउँदा स्वीकार नगरिएको त भर्खरैको उदाहरण छ । राष्ट्रपति भएर पनि एमालेको कार्यकर्ता जस्तै देखिनु मुलुकका निम्ति दुर्भाग्य हो भन्दै सर्वत्र आलोचना भएको धेरै भएको छैन । यसले पनि विद्या भण्डारी एमालेको राजनीतिमा फर्कंद फर्कन्नन् भन्न सकिने अवस्था चाहिँ छैन । हेरौं, समयले बताउने नै छ ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2023-03-23 10:03 am

नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव एक कुशल चिकित्सक थिए । राष्ट्रपतिको पदावधि सकिएपछि जनतालाई चिकित्सकीय परामर्श दिँदै समाजसेवामा उत्रिएको भए कति राम्रो देखिन्थ्यो होला ? पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मकै दूरदराजका स्वास्थ्य सेवा नपुगेका गाउँहरूमा गएर निःशुल्क चेकजाँच गर्ने अभ्यास थालेको भए आमनागरिकले कति जयगान गर्थे होलान् ? देशको सर्वोच्च पदमा पुगेर इहलोकमा त ख्याति कमाएकै थिए, रोगले थलिएका जनताको आशीर्वादले परलोक पनि निश्चय नै सुध्रिन्थ्यो । उनले आफ्नो उपचारका लागि लिएको राज्यकोषको रकमप्रति पनि कुनै चित्तदुःखाइ कसैको पनि हुँदैनथ्यो होला ।

अत्यन्तै सान्दर्भिक प्रसङ्ग

Last edited 1 year ago by devi bhakta.dhakal-4175

रिलेटेड न्युज

छुटाउनुभयो कि ?