आजदेखि भोजपुर गोल्डकप

हिमालय टाइम्स
Read Time = 3 mins

भोजपुर । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा शुक्रबारदेखि सदरमुकामको स्थानीय टुँडिखेलमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको सुरुवात हुने भएको छ । करिब ३३ लाखको लागतमा सञ्चालन हुने प्रतियोगिताका लागि नगरपालिकाले २५ लाख रुपैयाँ सहयोग गरेको भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो ।

नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि बजेटको व्यवस्थापन गरिदिन थालेको छ । नगरपालिकाले प्रत्येक वर्ष फुटबल प्रतियोगिताका लागि वार्षिक कार्यक्रममा नै बजेट विनियोजन गर्ने गरेको छ । जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको तयारीसमेत पूरा भएको छ ।

गोेल्डकपको तयारी अन्तिम चरणमा पुगेको बताउँदै सुवालले प्रतियोगिता सञ्चालनका लागि ३२ लाख ८० हजार लाग्ने बताउनुभयो । प्रतियोगिताको सहप्रायोजकमा शिवम् फुटवेयर्स प्रालि, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि र सिजी बु्रअरी रहेको प्रतियोगिताका संयोजक आङपासाङ शेर्पाले जानकारी दिनुभयो ।

गोल्डकपको तयारीका विषयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालभित्रका छ र बाहिरका दुई टिमको सहभागिता रहने जानकारी दिइयो । प्रतियोगितामा युकेएफसी भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल संघ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रूपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी हुनेछन् । भोजपुर नगरपालिका-७ मा बन्दै गरेको रंगशालाको निर्माण कार्य पूरा नभएकाले यस वर्षको प्रतियोगिता पनि टुँडिखेलमा नै सञ्चालन हुन लागेको आयोजकले जानकारी गराएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछ भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?