अख्तियारको दुरुपयोग र आचरण

हिमालय टाइम्स
Read Time = 7 mins

अख्तियारको दुरुपयोग निरन्तर दोहोरिइरहने विषय हो । एउटा रमाइलो प्रसंग छ बेलायतको । त्यहाँ बाह्रौंदेखि पन्ध्रौं शताब्दीसम्म धेरै कठोर कानुन थियो । सामान्यभन्दा सामान्य कसुरमा पनि मृत्युदण्डको व्यवस्था रहेको थियो । पाकेटमारालाई समेत मृत्युदण्ड हुन्थ्यो, त्यस्तो मृत्युदण्ड सार्वजनिक ठाउँमा मानिस भेला गरेर कार्यान्वयन गरिन्थ्यो तर त्यसरी मृत्युदण्ड दिइरहेकै ठाउँमा पाकेटमारी हुन्थ्यो । हाम्रो अख्तियार दुरुपयोगको सन्दर्भ यस्तै छ । अख्तियारको दुरुपयोग गरेकोमा मुद्दा चलाइँदै हुन्छ तर तिनै कर्मचारी त्यस्ता आरोपीबाट ऋस्वत लिएर तिनलाई उन्मुक्ति दिन्छन् । अख्तियार दुरुपयोगको अनुसन्धान गर्न बसेका कर्मचारीहरूले नै घुस लिएका कारण निलम्बनमा परेका उदाहरण भेटिन्छन् ।

अख्तियार दुरुपयोग गरेका मुद्दा दिनहुँ दर्ता हुनेगरेका छन् । भ्रष्टाचार निरन्तर दोहोरिइरहन्छ । निजामती कर्मचारी, विभिन्न ठेक्कापट्टामा संलग्न ठेकेदारहरू, राजनीतिज्ञहरू, संघसंस्थाका कर्मचारी कोही अछुतो छैनन् । धेरैमा आचरण शुद्धि भएको पाइँदैन । यस्ताको संख्या अधिक छ । केही सीमित मानिसमात्र शुद्ध आचरणका होलान् तर तिनले आफ्नो कार्यक्षेत्रलाई पवित्र राखिराख्न सकेका छैनन् । त्यस्ता थोरै छन्, त्यसकारण अपवित्र आचरणका बहुसंख्यकलाई उनीहरू रोक्न सक्दैनन् । बहुसंख्यक व्यक्तिको नियत खराब भएका भइदिनाले राम्रो आचरण भएकाको बद्नामी समेत हुनेगरेको छ ।

घुस दिने लिने व्यवहार धेरै पहिले पनि थियो । बडामहाराजाधीराज पृथ्वीनारयाण शाहले, ‘घुष दिने र लिनेलाई राष्ट्रका शत्रु हुन्’ भनेका थिए । यसलाई जघन्य अपराधका रूपमा लिएका कारण उनले त्यस्ताको जिउज्यान लिए पनि हुन्छ भनेका थिए । आदिकवि भानुभक्त आचार्यले पनि छिमेकी गिरिधारी भाटसँगको आफ्नो मुद्दाको फैसला नगरी लामो समयसम्म लम्ब्याउने र जहिले जाँदा पनि भोलिमात्र भन्ने अदालतका डिठ्ठा विचारीहरूको प्रवृत्तिप्रति कटाक्ष गरेर कविता लेखेका थिए । राणा शासनकालमा पनि यस्तो हुने गथ्र्यो । जंगबहादुर राणा आफैंमा निरंकुश स्वभाव र व्यवहारका मानिन्थे । उनका पालामा समेत भ्रष्टाचार हुनेगरेको थियो । उनले कालो बजारी गर्ने र भ्रष्टाचार गर्नेहरूलाई ‘पाँचजनाको रोहबरमा काटिदिए हुन्छ, मलाई सोधिरहनु पर्दैन’ भनेको थिए ।

यी सबै दृष्टान्तहरूबाट के थाहा हुन्छ भने कठोरभन्दा कठोर शासन प्रणाली भएका समयमा समेत मानिसले अपराध गर्न छोड्दैन । भ्रष्टाचार अपराधकै एउटा पाटो हो । त्यसबेला त भ्रष्टाचार हुँदो रहेछ भने अहिले त शासनमा रहेका र शासनबाहिर रहेकाहरू सबैको यस्तै कार्यमा मिलिजुली कार्य गर्ने प्रवृत्ति रहेको पाइन्छ । सबै काम सेटिङबाट हुनेगरेका छन् । जोबाट यस्ता कार्य नियन्त्रण हुनुपथ्र्यो ती निकाय र ती निकायमा रहेकाहरूबाट यस्ता कार्यले प्रश्रय पाइरहेका छन् । त्यसकारण भ्रष्टाचारले मैलाउने मौका पाएको छ । सरकारी क्षेत्र भनेकै यस्ता कार्य नियन्त्रण गर्न हो । निजीस्तरबाट अपराधहरू भए तिनलाई कानुनको दायरामा ल्याउनुपर्ने तिनको दायित्व हो ।

तर, तिनै गैरसरकरी वा निजी क्षेत्रका मानिसहरूसँग सरकारी मानिसहरू सेटिङमा काम गर्छन् । जसले गर्दा आपराधिक कार्यहरूले प्रश्रय पाइरहेका छन् । अख्तियारले केही घटनाहरूमा सक्रियता देखाएको छ । अख्तियार कानुन कार्यान्वयन गर्ने निकाय होइन । यसले कानुन कार्यान्वयन गर्ने निकायसम्म अपराधीलाई पुर्‍याउने जिम्मेवारी पाएको हुन्छ र त्यही जिम्मेवारी पूरा गर्छ तर पछि अदालतबाट त्यस्ता अरोपीहरूले धमाधम उन्मुक्ति पाउने गरेका छन् । अथवा त्यस्ता ठूलो केसहरूलाई त्यसै ढिसमिस पार्ने गरिन्छ । अहिलेसम्म यस्तै भइरहेको छ । अख्तियारले पक्राउ गर्छ, पक्राउ परेका राष्ट्रसेवकहरू निलम्बनमा पर्छन्, केही समय मुद्दा चल्छ र अन्नतः तिनले जित्छन् । अनि आफू निलम्बनमा रहेर काम नगरी घर बसेको समययको समेत तलब तिनले पाउँछन् ।

यसो गर्दा राष्ट्र लाभान्वित भइरहेको छैन बरू राष्ट्रलाई घाटा भइरहेको छ । यसरी हेर्दा राजनीति, प्रशासन, गैरसरकारी संस्था सबै क्षेत्रका मानिसमा नैतिक इमानदारी हुनुपर्ने आवश्यकता छ । आफू कुनै ठाउँमा पुग्न पाए आर्जन गर्न पाउँथे भन्ने दुरासयले त्यस्ता ठाउँमा पुग्ने प्रयास गर्ने र पुग्नका लागि नजराना टक्र्याउने अनि आफूले गरेको खर्चभन्दा पाँच गुणा कमाउन खोज्ने मनोवृत्तिले देशमा व्याप्त अख्तियारको दुरुपयोग गर्ने प्रवृत्तिमा कमी आउन सक्दैन । यस्ता प्रवृत्तिलाई दुरुत्साहन गर्न एकातिर कानुन हुनुपर्छ, तिनको कार्यान्वयन कडाइका साथ गरिनुपर्छ भने अर्कातिर मनोभवना पनि परिवर्तन हुनु आवश्यक छ । नैतिक इमानदारी नभएसम्म कानुनमा कडाइ गर्नुभनेको पनि बेलायतमा पाकेटमारालाई मृत्युदण्ड दिँदाको भीडमा पुनः पाकेट मारिनु जस्तोमात्र हुन जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?