शिक्षामा छात्राहरुको मनोबल बढाउन गाउँपालिकाद्वारा साइकल वितरण

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले छात्राहरुलाई साईकल वितरण गर्नु भएको छ । पढाईप्रति छात्राहरुको मनोबल बढाउन साइकल वितरण गरिएको उहाँले बताउनु भयो ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलहियामा आयोजना गरिएको नौ कक्षाका छात्राहरुलाई साईकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष जैसवालले प्रत्येक वर्ष गाउँपालिकास्तरीय योजनाबाट पालिका भरिका नौ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई साईकल वितरण गर्ने जानकारी गराउनुभयो ।

पालिकाले पालिका भित्र रहेका विभिन्न ६ वटा माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने उहाँले जानकारी दिनुभयो ।

जसमध्ये ३ वटा माध्यमिक विद्यालयका १ सय ५ जना छात्राहरुलाई साइकल वितरण भइसकेको छ, उहाँले भन्नुभयो,‘ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बन्जरियाका ३१ जना, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रष्टोकाका ३२ जना तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलहियाका ४२ जना छात्राहरुलाई साइकल वितरण भइसकेको छ । बाँकी तीनवटा स्कूलका कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई चाँडै नै साइकल वितरण गरिने उहाँले बताउनुभयो ।’

टाढा टाढाबाट विद्यालयमा पठन पाठन गर्न आउने छात्राहरुलाई सजिलो, सहज र शिक्षाप्रति आकर्षण बढाउनको लागि साईकल वितरण गरिएको गाउँपालिका प्रमुख जैसवारले जानकारी दिनुभयो ।

नगरका विद्यालयहरुमा विषयगत शिक्षकहरुको अभाव रहेकोले चाँडै दरबन्दी मिलान गरी प्रत्येक विद्यालयहरुमा विषयगत शिक्षकको व्यवस्था गर्ने उहाँले बताउनुभयो ।

शिक्षा र स्वास्थ्यमा पालिकालाई मधेश प्रदेश कै नमुना पालिका बनाउने योजनाका साथ आफू अगाडि बढेको पालिका प्रमुख जैसवारले बताउनुभयो ।

पालिका भित्रका सबै छात्र छात्राहरु स्कूल जाउन र शिक्षा आर्जन गर्न पाउन भन्ने मूल नाराका साथ आफू अगाडी बढेको उहाँले भन्नुभयो,‘अहिलेको समयमा शिक्षा नभई नहुने अवस्था छ । अहिले देशका युवाहरु विदेशिने क्रम घटनु भन्दा दिनानुदिन बढदै गएको छ । शिक्षा अभावमा उनीहरु विदेशमा गएर लेबरको काममा अकालमै जिवन गुमाउनु परेको छ । त्यसैले शिक्षा हासिल गरेर ज्ञान सीप लिएर विदेश जाने हो भने कमाई पनि राम्रो हुने र अकालमा जिवन गुमाउनु नपर्ने भएकोले शिक्षा तर्फ बढी ध्यान दिएको उहाँले बताउनुभयो ।’

दक्ष जनशक्तिको माँग आफनै देशमा रहेको छ उहाँले भन्नुभयो,‘सीपमूलक ज्ञान हासिल गर्न सकियो भने स्वदेशमै विदेशभन्दा राम्रो कमाई गर्न सकिन्छ । अहिले हाम्रो पालिकामा प्राविधिक विषयहरुको पनि अध्ययन अध्यापन शुरु भएको छ । त्यहाँबाट दक्ष जनशक्ति उत्पादन गर्ने गरि अध्ययन अध्यापन शुरु गरिएको छ । कम लागतमा प्राविधिक विषयको कक्षा पालिकामै संचालन भएको हुनाले छात्र छात्राहरुलाई पनि सजिलो भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रसौनी गाउँपालिकाका उपाध्यक्ष किरण देवी साह, प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी, वडा नम्बर ५ का वडाध्यक्ष संतोष कुमार साह, ६ का वडाध्यक्ष वृजकिशोर साह लगायत विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?