सरकारले निर्यातलाई उपेक्षा गरेको गुनासो

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका प्रत्यासी हेमराज ढकालले निजी क्षेत्रको सम्मानबिना देशले आर्थिकरूपमा फड्को मार्न नसक्ने बताउनुभएको छ । नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको पाँचौँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले निजी क्षेत्रको सम्मान नगरेको ढकालको आरोप छ । उहाँले भन्नुभयो, ‘अहिले देशको मुख्य पुँजीका रूपमा रहेको युवाशक्ति रोजगारीका लागि विदेश पलायन भइराखेका छन् भने उनीहरूले विदेशी भूमिमा रगत पसिना बगाएर पठाएको पैसाले देश चलाउनुपरेको छ । रेमिट्यान्सबाट देश चल्नु भनेको अरूको भरमा पर्नु भएको उहाँको भनाइ ।

कुनै समय निर्यातको मुख्य वस्तुका रूपमा रहेको नेपाली गलैंचालगायतका वस्तुको अवस्था दयनीय बन्दै गएको भन्दै आगामी दिनमा निर्यात वृद्धि गरी विदेशी मुद्रा भित्र्याउन सरकारले विशेष योजना ल्याउनुपर्ने ढकालले बताउनुभयो । सरकारले निर्यातका सम्भावनाका क्षेत्रको पहिचान गरी त्यस्ता वस्तु उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको भन्सार छुटका साथै बैंकबाट सहुलियत कर्जा पाउने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । संघका अध्यक्ष रामबहादुर गुरुङले नेपालको गलैंचाले निर्यातका साथै विश्व बजारमा नेपालको पहिचान बनाए पनि निर्यात प्रवद्र्धनमा सरकारले कुनै सहयोग नगरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली गलैंचा २०३६ देखि निर्यात सुरु भएको हो तर पछिल्लो समय निर्यात बढ्न सकेको छैन र उत्पादन पनि बढेको छैन । सरकारको गलत व्यवसाय नीतिका कारण समग्र निर्यात व्यापार खस्किएको हो ।’ विगतमा वार्षिक ३३ लाख वर्गमिटर गलैंचा निर्यात हुने गरेकोमा अहिले १० प्रतिशतमा खुम्चिन पुगेको उहाँको भनाइ छ ।

कार्यक्रममा मुख्य सचिव शंकरदास वैरागी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, व्यवसायी अनुपबहादुर मल्ल, किरण साखलगायतले पनि निर्यात प्रवद्र्धनमा जोड दिनुभएको थियो । सो अवसरमा संघले उत्कृष्ट निर्यातकर्ता, कलाकारहरूलाई अवार्ड प्रदान गरेको थियो । साथै संघले नयाँ कार्यसमितिसमेत चयन गरेको छ । संघका अनुसार गलैंचा उद्योगमा हाल डेढ लाख कामदार र करिब आठ सय व्यवसायी आबद्ध रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?