आजदेखि एसइई परीक्षा सुरु हुँदै, पाँच लाखबढी परीक्षार्थी सहभागी

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदै छ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन् । पुरानो पाठ्यक्रम अनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ । कठिनाइस्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको जानकारी दिनुभयो । देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनिवार्य विज्ञान विषयको नतिजा उकास्न यस पटकदेखि एकदिन बिदा दिइएको छ ।

चैत २१ गते बिदा दिएर चैत २२ गते अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन गरिने भएको छ । एसइईमा सबैभन्दा कमजोर नतिजा अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयको रहने गरेको छ । त्यसबाहेक अनिवार्य नेपाली र सामाजिक शिक्षाको नतिजा पनि कमजोर नै मानिन्छ । अंग्रेजी र गणितका लागि बिदा भए पनि विज्ञानका लागि परीक्षाको अघिल्लो दिन बिदा नहुँदा त्यसले नतिजामा असर पर्न गएको ठम्याई राष्ट्रिय परीक्षा बोर्डको छ ।

परीक्षा नियन्त्रक श्रेष्ठले विद्यार्थीलाई कुनै डरत्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गर्नुभयो । परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि वस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुने गलत गतिविधि भएका प्रचलित कानुनअनुसार कारबाही हुने पनि उल्लेख गर्नुभयो परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ ।

एसइई परीक्षाका सहभागिता जनाउनका लागि यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा नौमा रजिस्ट्रेसन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कुल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेका छन् । परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख ६ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदै छन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदै छन् ।

एसइईमा अघिल्लो वर्ष देशभरबाट पाँच लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिए पनि परीक्षामा भने चार लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए ।

यस्तो छ परीक्षाको तालिका
एसइई परीक्षा चैत १७ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजेसम्म हुनेछ । परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । त्यसैगरी, चैत १९ गते आइतबार अनिवार्य गणित, चैत २० गते सोमबार अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ । त्यसैगरी, चैत २२ गते बुधबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ ।

चैत २३ गते बिहिबार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट एण्ड माकेर्टिङ, इञ्जिनियरिङ् ड्रइङ, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ । यसैगरी, चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकधारतर्फ जलीयकृषि तथा मत्स्यपालन, इलेक्ट्रिकल म्यानेजमेण्ट एण्ड इन्स्टल्मेण्ट, कम्प्युटर नेटवर्किङ, इञ्जिनियरिङ सर्भेईङ्ग र म्युजिक अफ नेपालको परीक्षा हुनेछ । यस्तै, चैत २५ गते शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक प्रथमपत्रका सबै विषयहरू, वेदविद्याश्रम तर्फ वेद तथा नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ । चैत २६ गते आइतबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषयहरू, वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितीय पत्रका सबै विषयहरू, प्राविधिक धारतर्फ भेजिटेबल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी एण्ड डेरी प्रडक्सन, युटिलाइजेसन अफ इलेक्ट्रिक इनर्जी, डाटावेस म्यानेजमेण्ट सिष्टम, बिल्डिङ्ग कन्स्ट्रक्सन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ ।

चैत २७ गते सोमबार प्राविधिक धारतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस इञ्जिनियरिङ्ग र इन्स्ट्रयुमेण्ट किबोर्डको परीक्षा हुनेछ । चैत २८ गते मंगलबार प्राविधिक धारतर्फ इण्ड्रष्ट्रियल इन्टोमोलोगी एण्ड मसरुम, एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाईवे इञ्जिनियरिङ, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुनेछ ।

परीक्षाको अन्तिम दिन चैत २९ गते बुधबार प्राविधिकतर्फ नै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याब्रोटरी टेक्निक, ईण्ड्रष्ट्रियल ईन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेण्टेड प्रोग्रामिङ, इष्टिमेटिङ कस्टिङ एण्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?