७० वर्षे उमेरहद हटाए वामदेव एमालेमा फर्किन तयार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकता अभियानका संयोजक एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमसँग भेटवार्ता गर्नुभएको छ । गौतमलाई भेट्न ओली बुधबार दिउँसो उहाँकै निवास भैँसेपाटी पुग्नुभएको थियो । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा ओलीले वामदेवलाई भेटेर सहयोग मागेको उहाँको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिमा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रियसभा सदस्यका रूपमा गौतम पनि राष्ट्रपति चुनावका मतदाता हुनुहुन्छ । राष्ट्रपति चुनावमा कांग्रेससहित आठ दलले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन् । यसअघि ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेस बाहेकका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई पत्र लेख्नुभएको थियो । राष्ट्रपतिको निर्वाचन यही २५ गते हुँदै छ ।

भेटमा ओलीले आफूलाई एमालेमै फर्किन आग्रह गरेको नेता गौतमले बताउनुभएको छ । ओलीसँगको भेटबारे गौतमले भन्नुभयो, ‘उहाँले मलाई तपाईंजत्तिको पार्टीको योगदान गरेको व्यक्ति अब बाहिर बसेर हुँदैन । पुरानै घरमा फर्किनुस् भनेर आग्रह गर्नुभयो ।’ ओलीले पार्टीमा फर्किन प्रस्ताव गरेपछि आफूले एमालेमा रहेको ७० वर्षे उमेरहद हटाउन भनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले उहाँलाई एमालेमा रहेको अहिलेको ७० वर्षे उमेरहद हटाउनुहोस् भनेँ । उमेरहद अध्यक्ष र महासचिवमा राख्नुहोस् । तर, अरूमा हटाउनुुहोस् भनेको छु । मैले प्रस्तावमा उहाँ सकारात्मक नै हुनुहुन्छ भन्ने बुझेको छु ।’ ७० वर्षे उमेरहद हटाए एमालेमा जान सकिने जवाफ गौतमले दिनुभएको छ । एमालेको विधानमा सबै तहका कार्यकारी कमिटीको पदाधिकारी वा सदस्य हुन ७० वर्ष उमेर नपुगेको हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था हटाउन माग हुँदै आएको छ ।

उहाँले आफू एमालेमा फर्के पनि अब अध्यक्ष महासचिव केही हुने पक्षमा नरहेको प्रष्ट्याउनुभयो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि गौतम कतै पनि लाग्नुभएको थिएन । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीतिर नलाग्नुभएका गौतमले आफ्नै नेतृत्वमा राष्ट्रिय एकता अभियान चलाइरहनु भएको छ । गौतमले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि छलफल गर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?