उपरथी शाही भ्रष्टाचार प्रकरणमा थप दुईजना कर्णेल पक्राउ

तीन दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

यज्ञराज पाण्डे
Read Time = 6 mins

काठमाडौं । नेपाली सेनाभित्र ‘प्रतिशोध’को संस्कृति फस्टाइरहेको अनुमान भइरहँदा तीन वरिष्ठ अधिकृतहरू विरुद्ध ‘कोर्टमार्सल’ सुरु भएको छ । आर्थिक अनियमितता गरेको आरोपमा नेपाली सेनाका उपरथी प्रेमप्रकाश शाहीमाथि छानबिन अघि बढिरहेका बेला अरू दुईजना कर्णेल पनि पक्राउ परेका हुन् । शाहीले अनियमितता गरेको ठहर कोर्ट अफ इन्क्वाइरी (अनुसन्धान समिति)ले निष्कर्ष निकालेको केही दिनमै थप दुईजना कर्णेल समातिएका हुन् ।

कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनपछि सैनिक मुख्यालयले शाहीविरुद्ध आइतबार कोर्ट मार्सल (सैनिक अदालत) गठन गरेको थियो । यस्तोमा सैनिक मुख्यालयले शाहीसँगै अनियमिततामा जोडिएको जनाउँदै महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार शाहीसँगै अनियमिततामा उनीहरूको पनि संलग्नता रहेको कोर्ट अफ इन्क्वाइरीले खुलाएपछि अनुसन्धान थालिएको हो । ‘कोर्ट अफ इन्क्वाइरीले अनियमिततामा शाही र तिम्सिनाको पनि संलग्नता देखाएपछि उनीहरूलाई पनि कारबाही गर्न कोर्ट मार्सल थालिएको छ’, उहाँले भन्नुभयो, ‘दुवै जनाविरुद्ध सैनिक अदालतमा कारबाही अघि बढाइएको छ ।’

नेपाली सेनासँग लिखित जवाफ माग
आर्थिक अनियमितताको आरोपमा नेपाली सेनाले नियन्त्रणमा लिएका दुई कर्णेललाई सर्वोच्च अदालतले उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई तीनदिन भित्रमा सर्वोच्चमा उपस्थित गराउन बुधबार आदेश दिएको हो । सर्वोच्चले नेपाली सेनासँग लिखित जवाफसमेत माग गरेको छ । महेन्द्रजंग शाहकी पत्नी शोभा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

आर्थिक अनियमिततामा जोडिएको भन्दै नेपाली सेनाले सैनिक प्रहरीको हिरासतमा राखेको थियो । दुवैजनाको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले बुधबार आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन सेनालाई आदेश दिएको हो ।

नेपाली सेनाका उपरथी प्रेमप्रकाश शाहीमाथि आर्थिक अनियमितताको आरोपमा अनुसन्धान गर्न कोर्टअफ इन्क्वाइरी गठन भएको थियो । अनुसन्धानका क्रममा आर्थिक अनियमितता भएको पाइएको र यी दुई कर्णेलको पनि संलग्नता देखिएको निष्कर्षसहित प्रतिवेदन पेस भएको थियो । उक्त प्रतिवेदनका आधारमा कोर्टमार्सल (सैनिक अदालत) गठन गरेर अदालती प्रक्रिया अगाडि बढाइएको छ । यस्तै, संलग्न रहेका भनिएका दुई कर्णेललाई पनि नियन्त्रणमा राखिएको छ ।

सेनामा प्रतिशोधको राजनीति सुरु भएको आरोप
त्यसो त वर्तमान सैनिक नेतृत्व निकटका व्यक्तिहरूबाट प्रतिशोधको राजनीति सुरु भएको आरोप लगाउँदै कोर्टमार्सलको जिम्मा विवादास्पद व्यक्तिहरूलाई दिइएको आरोप पनि लगाइएको छ ।

तीनैजना अधिकृतहरू पूर्व-प्रधानसेनापति पूर्णचन्द्र थापानिकट मानिन्छन् । मेजर जनरल शाहीले थापाका सैन्य सचिवका रूपमा पनि जिम्मेवारी सम्हालेका थिए । थापानिकट अर्का मेजर जनरल अनन्तबहादुर कार्कीलाई नियमित पदावधि थप नगरी सेवानिवृत्त गराइएको थियो । सेनाका एक वरिष्ठ अधिकृतका अनुसार अन्य दुई अधिकृतहरूलाई पनि महत्वपूर्ण स्थानबाट हटाई अस्थायी पोष्टिङ दिइएको छ ।

मेजर जनरल शाहीलाई सेवा निवृत्तको पत्र बुझेपछि हिरासतमा लिई कोर्टमार्सल प्रक्रिया सुरु गरिएको स्रोतले बतायो । सेनाका मेजर जनरल प्रेम शाही विगत दुई महिनादेखि एकल हिरासतमा रही ‘कोर्टमार्सल’ प्रक्रिया सामना गरिरहेका छन् भने दुई दिनअघि कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कुलदीप तिमिल्सिनालाई विद्रोहको षड्यन्त्रको आरोपमा हिरासतमा राखिएको छ । उनीहरूलाई सैन्य प्रहरीद्वारा गिरफ्तार गरेपछि कहाँ राखिएको छ, त्यसबारे कुनै आधिकारिक जानकारी दिइएको छैन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?