राष्ट्रपति भण्डारीले कार्यकारी अधिकार प्रयोग गर्न खोजेको उपाध्यक्ष अर्यालको आरोप

संसदबाट दुई पटक पास गरेर लगेकाे नागरिकता विधेयक राष्ट्रपतिले फर्काउनु गलत

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाउनुभएको छ ।

बिहीवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको कुराकानीमा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेकपा एमालेले जुनकुनै पनि विधेयक लगेपनि पास गर्ने तर अन्य पार्टीहरुले लगेको विधेयक पास नगर्ने गतिविधिहरुका कारण राष्ट्रपति एमालेको मात्रै भएको बताउनु भयो ।

उहाँले नागरिकता विधेयक राष्ट्रपतिले संसदबाट दुई पटक पास गरेर लैजाँदा समेत फर्काउनु गलत भएको दाबी गर्नुभयो । उहाँले दुई पटक लैजाँदा समेत विधेयक पास नगर्नु पीडादायी रहेको उल्लेख गर्नुभयो । उपाध्यक्ष अर्यालले राष्ट्रपतिले राष्ट्रपति जस्तो पदमा बसेर अरुको इसारामा नागरिकता विधेयक रोकेको दाबी गर्नुभयो । उहाँले राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसावले हेर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको सवालमा कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसावले अघि बढेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रपति भइसकेको मानिसले पनि जुन नागरिकताको समस्या अहिले गाउँ घरमा झेलिरहेका छन्, युवायुवतीहरु हामी आत्महत्या गरेर मरौँ भनेको छ के भनेको छ, बिजोग छ । नागरिकताको मुद्दा यहाँ कस्तो कस्तोले नागरिकता पाए त्यो बेलामा हाम्रै देशको सन्तानले पाउनुभएको छैन । दुई दुई पटक पठाउँदा फर्काउनुभयो राष्ट्रपतिले त्यो पीडादायी छ, कसको इसारामा फर्काउनुभयो, त्यो होइन, राष्ट्रपति भइसकेपछि राष्ट्रको अभिभावको हैसियतले पार्टीको स्तरभन्दा माथि उठेर छलफल गर्नुपर्छ । एक चोटी फर्काउनु ठिक छ, तर दोस्रो पटक पठाएपछि पनि फर्काउनु भनेको संवैधानिक पदमा रहेको मान्छेले त्यस्तो गर्न मिल्छ र ? उहाँ सधैँ एमालेको मात्रै राष्ट्रपति भइराख्नुभयो । त्यहाँ जे सल्लाह हुन्छ त्यही मात्रै गर्ने, एमालेले लगेको विधेयक ओके गर्ने कानून बनेर जाँदा रिजेक्ट गर्न मिल्छ र ? राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसावले हेर्नुपर्छ । उहाँले कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसावले रिजेक्ट गर्न मिल्दैन । संवैधानिक पदमा रहेका व्यक्तिहरुले राम्रोसँग मर्यादा राख्न सकेनौँ भने भोलि नजिर गलत तरिकाले जान्छ । आन्दोलनबाट प्राप्ति गरेका कुराहरुमा प्रश्न उठ्छ । राष्ट्रहीतलाई सर्वोच्चतामा रोखर काम गर्नुपर्छ ।’

उपाध्यक्ष अर्यालले संवैधानिक पदमा रहेका व्यक्तिहरुले पदको मर्यादा जोगाउन नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको बताउनु भयो । उहाँले संवैधानिक पदमा रहेका व्यक्तिहरुले पार्टी भन्दा माथि उठेर राष्ट्रहीतलाई सर्वोच्चतामा रोखर काम गर्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?