फागु, प्रेम र सद्भावको पर्व

Read Time = 5 mins

✍️ प्रतिभा शर्मा (रेग्मी)
हामी नेपाली सांस्कृतिक रूपमा एकदमै धनी छौँ । हाम्रा चाडपर्व हाम्रा मूल्य-मान्यता र हाम्रा पहिचान हुन् । यी विविध चाडपर्वमध्ये हामीले मनाउँदै आएको पर्व फागु पूर्णिमा हो । हामीले मनाउँदै आएका विविध पर्वको ऐतिहासिक महत्व रहेको छ । हामीमध्ये कतिलाई होली पर्व मनाउनुपछिको अर्थात् यस पर्वसँग जोडिएका प्रसंग थाहा नहुन पनि सक्छ । त्यसैले यहाँ यसैको बारेमा चर्चा गरिएको छ ।

प्राचीन कालमा हिरण्यकश्यप नामको एक राक्षस थियो । जसले तपस्या गरे ब्रम्हाजीबाट वरदान प्राप्त गरेको थियो । जसअनुसार संसारको कुनै जीवजन्तु, देवीदेवता, राक्षस कसैले उसलाई मार्न नसक्ने थियो । न ऊ रातमा मारिन सक्थ्यो न त दिनमा । त्यसैगरी, ऊ न त पृथ्वीमा मारिन सक्थ्यो न त आकाशमा । आफ्नो कठोर तपस्याबाट यस्तो वरदान पाएपछि उसले आफूलाई ठूलो भगवान् मान्न थाल्यो र सबैले आफ्नै पूजा गरून् भन्ने चाहना गर्न थाल्यो । उनको प्रल्हाद नाम गरेका छोरा थिए । उनैका छोराले बाबुको आदेशको पालना गरेनन् ।

जसअनुसार उनले आफ्नो बाबुको पूजा नगरी भगवान् विष्णुको पूजा गर्न थाले । प्रल्हाद भगवान् विष्णुको भक्त थिए र उसमाथि भगवान् विष्णुको असीम कृपा थियो । आफ्नो छोराले भगवान् विष्णुको पूजा गरेको देखेर क्रोधित भई हिरण्यकश्यपले धेरै षड्यन्त्र गर्दा पनि प्रल्हादलाई नाश गर्न सकेनन् । फलस्वरूप हिरण्यकश्यपले आफ्नी बहिनी होलिकासँग मिलेर एक षड्यन्त्र रचे । जसअनुसार होलीकाले एक चितामा प्रल्हादलाई काखमा लिएर बस्ने भइन् । होलीकाले आगोबाट जल्न नसक्ने वरदान पाएकी थिइन् । होलीकाले एउटा पछ्यौरी वरदानमा पाएकी थिइन् । जुन पछ्यौरी ओढेर उनी भने सुरक्षित हुने आशा गरेकी थिइन् । तर, चितामा बस्दा विष्णुको वरदानको प्रभावले त्यो पछ्यौरी उडेर प्रल्हादमा गयो । फलस्वरूप प्रल्हाद जीवित रहे भने उल्टै होलिका खरानी भइन् । यसकारण पनि यो पर्व असत्यमाथि सत्यको विजयको रूपमा मनाइने गरिन्छ ।

होली अर्थात् फागु पूर्णिमा त मनाइन्छ तर यो रंगहरू दलेर किन मनाइन्छ त ? अथवा होलीमा रङ दलेर पर्व मनाउनुपछि के कारण छ ? यो पर्व रङ दलेर मनाउने परम्परा त्यतिबेला सुरु भयो जब श्रीकृष्णले वृन्दावनमा साथीहरूसँग रङ खेलेर होली मनाए । प्राचीन कालमा रंगहरू फूलबाट बनाइन्थे । त्यसकारण ती रङले शरीरलाई फाइदा गर्दथ्यो । तर, अचेल रङहरूमा केमिकलहरूको प्रयोग हुने हुँदा सावधानी अपनाउनुपर्ने हुन्छ । हामीले फागुमा एक आपसमा सद्भाव र प्रेम आदानप्रदान गर्न दल्ने विविध रङले विविध महत्व बोकेको हुन्छ । विविध रङहरू विविध अस्तित्व र प्रतीक बोकेका हुन्छन् । जसअनुसार रातो– प्रेमको प्रतीक । सुन्तला रङ- शक्ति, सुख र दीर्घायुको प्रतीक । पहेलो रङ, सुख र आशाको प्रतीक । हरियो रङ नवीन कार्यको प्रारम्भ, प्रचुरता र प्रकृतिको प्रकृत मानिन्छ । यस्तै नीलो रङ, शान्ति र जिम्मेवारीको प्रतीक, प्याजी रङ, सृजना, राजकीय र ऐश्वर्यको प्रतीक, कालो रङ, रहस्य, शालीनताको प्रतीक, खरानी रङ परम्परागत, औपचारिकताको र मुडी व्यक्तिको प्रतीक मानिन्छ ।

होली अर्थात् फागु पूर्णिमा प्रेम र सद्भावको पर्व पनि हो । त्यसकारण यसलाई यसैको रूपमा मनाऔँ नकि जथाभावी, जबरजस्ती कसैलाई रङ अथवा पानी भरेका बेलुन (लोला)ले हानेर ।
होलीको विविध रङले
जीवनमा रंग भरोस् सदा नै ।
आजभन्दा भोलि उज्यालो
बनोस् यही छ मेरो चाहा नै ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?