नीलकण्ठ नगरपालिका धादिङको १ अर्व ४९ करोड संसोधित बजेट सार्वजनिक

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 7 mins

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको दोश्रो नगरसभा एवम् दोश्रो अधिवेशन सम्पन्न भएको छ । नगरसभाले संशोधित बजेट, कानुन, ऐन नियम र कार्यविधिहरु स्वीकृत गर्दै दोश्रो अधिवेशन सम्पन्न भएको हो । गत असारको नगरसभाबाट वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको नगरपालिकाले हिउँदे अधिवेशनबाट केहि योजनाहरु संशोधन गरेको छ ।

यस्तै अधिबेशनबाट नीलकण्ठ नगरपालिका धादिङले आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्व ४९ करोड ८२ लाख २९ हजार २ सय ५५ रुपैयाँ संसोधित बजेट सार्वजनिक गरेको छ । आइतबार धादिङको सदरमुकाम धादिङबेसीमा आयोजित दोस्रो नगरसभाको दोस्रो अधिवेशनले उक्त रकम सार्वजनिक गरेको हो ।

नगरप्रमुख भीमप्रसाद ढुंगानाले नीति तथा कार्यक्रमको समिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले आगामी ५ वर्षभित्र देश कै नमुना पूर्वाधारयुक्त पर्यटकीय नगरको रुपमा नीलकण्ठ नगरपालिकाको विकासको गति अघि बढाइरहेको जानकारी दिनुभयो । नगरसभामा नगरप्रमुख ढुंगानाले पारदर्शी, जनउत्तरदायी र समृद्ध नगर निर्माणका लागि प्रतिबद्ध रहेको बताउनुभयो । प्रमुख ढुंगानाले इमान्दारिता र आर्थिक पारदर्शीका आधारमा काम अघि बढाइएको भन्दै सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

उपप्रमुख दिपक विश्वकर्माले संसोधित बजेट चालुतर्फ ८७ करोड ७१ लाख २५ हजार ९ सय ९१ र पुँजिगततर्फ ६२ करोड ११ लाख ३ हजार २ सय ६४ रुपियाँ विनियोजन गरेको बताउनुभयो ।

पूर्व स्वीकृत वजेट चालुतर्फ ८५ करोड ६ लाख ५५ हजार ९ सय ९१ र पुँजीगततर्फ ६३ करोड २ लाख ३ हजार २ सय ६४ रुपैयाँ गरी कुल १ अर्व ४८ करोड ८ लाख ५९ हजार २ सय ५५ रहेको थियो । चालु आर्थिक वर्षको बजेट १ करोड ७३ हजार ७० लाख रुपैयाँले बृद्धि हुन आउने उपप्रमुख विश्वकर्माले बताउनुभयो ।

चालु आर्थिक वर्षको आर्थिक विकासतर्फ विनियोजित १२ करोड २ लाख ६४ हजार ४ सय ४६ रुपियाँमध्ये १३.०४ प्रतिशत खर्च भएको उहाँले बताउनुभयाे । सामाजिक विकासतर्फ ६१ करोड ७९ लाख ६९ हजार ९ सय ४५ रुपियाँमध्ये ५३.७१ प्रतिशत खर्च र पूर्वाधार तर्फ ५० करोड २१ लाख २६ हजार ७ सय ६४ रुपैयाँमध्ये १७.४५ प्रतिशत खर्च भएको उपमेयर विश्वकर्माले बताउनुभयो ।

विगतको ५ वर्षर्का कार्यकालमा सेवा प्रवाहमा चुस्तता, पारदर्शिता सहित जनप्रिय कार्यक्रमहरु सञ्चालन गरेको नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगानाले बताउनुभयो । हाल दोस्रो कार्यकालमा देखिने खालको दिगो र समग्र विकासका लागि प्रथम नगर अधिवेशनबाट जनमुखी नीति तथा कार्यक्रम थालिएको छ । ‘सुत्केरीलाई निशुल्क एम्वुलेन्स, विपन्न परिवारलाई रु। १० हजार अन्तिम संस्कार खर्च, विपतमा तत्काल राहत उद्धार, कृषि सहकारी, उद्यमीलाई विशेष अनुदान सहितको कार्यक्रम, पशुविमामा ९० प्रतिशत अनुदान, ७ वटा नयाँ स्वास्थ्य संस्था स्थापना गरी निशुल्क औषधी तथा ल्याव सेवा, शिक्षा क्षेत्रमा विशेष लगानी, सामाजिक संस्था, सहकारी, सामुदायिक, सांस्कृतिक, जातिय र धार्मिक संस्थाहरुलाई मागको आधारमा सहयोग, घुम्ति सेवा मार्फत टोलटोलमा सेवा प्रवाह गर्नेछ । यस्तै तिर्खामुक्त नगरको लागि बृहत खानेपानी योजना, ९५ किलोमिटर नगर चक्रपथ ट्रयाक, धादिङबेशी बजारको करिडोर डि।पि आर गरी निर्माण शुरु गरिएको उहाँले बताउनुभयो । नगरपालिकामा करिव ८५० किलोमिटर सडक निर्माण भएको छ ।

गाउँमा उत्पादनमूखि कार्यक्रम, पर्यटकिय सहरको परिकल्पना, धादिङबेशीमा अत्याधुनिक पार्किङ प्रणलीसहितको बसपार्क, फोहोर व्यवस्थापन, स्वास्थ्य क्षेत्रमा प्रविधि र पूर्वाधारमा सुधार कार्य, वहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने, शैक्षिक प्रविधि र पूर्वाधार, कृषि तथा पशुपंक्षी विकास कार्यक्रम, खेलकुद, कला संस्कृति, लैङ्गिक तथा सामाजिक समावेशीकरण जस्ता क्षेत्रमा कार्यक्रम सञ्चालन भैरहेका छन् ।

समृद्ध नीलकण्ठ नगरको आधार, कृषि पर्यटन उद्यमशिलता सहितको पूवधार भन्ने मूल मर्मका साथ दोस्रो नगरसभाको दोस्रो अधिवेशन सम्पन्न भएको हो । नगरसभाकै अवसरमा नीलकण्ठ नगरपालिकाको लोगो बनाउने नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का प्रेमकुमार श्रेष्ठ, उत्कृष्ठ काम गर्ने कर्मचारी लोकनाथ उपाध्याय र इन्जिनियर विशाल कँडेललाई सम्मान गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?