एक शिक्षक एक ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

गलकोट । अचेल विद्यालयको पठनपाठन प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने चलन बढेको छ । कुनै समय खरिपाटीमा पढाउने शिक्षक अहिले ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टेलिभिजनबाट श्रव्यदृश्य सामग्री देखाएर पढाउन सक्ने भएका छन् । जिल्लाको बागलुङ नगरपालिका-९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा गत वर्षदेखि प्रत्येक कक्षामा स्मार्ट टिभी जडान गरेर शिक्षकले ल्यापटपको माध्यमबाट शिक्षण सिकाइ थालिएकोमा यसवर्ष सिगाना माध्यामिक विद्यालय लामिचौरमासमेत प्रविधिको माध्यमबाट शिक्षण सिकाइ थालिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा विद्यालको सबै कक्षा कोठामा स्मार्ट टिभी जडान गरिएको छ भने शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ ।

कक्ष ६ देखि १० सम्मका पाँच वटा कक्षा कोठामा ५५ इन्चको स्मार्ट टिभी जडान गरिएको छ । विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । शिक्षकले ल्यापटपमा भएको पाठ्य सामग्री स्मार्ट टिभीमा देखाउन सक्नेगरी प्रविधिको विकास गरिएको र विद्युत् नभएको अवस्थामासमेत पढाउनसक्ने व्यवस्था मिलाइएको सिगाना माध्यामिक विद्यालय लामिचौरका प्रधानाध्यापक चन्द्र मल्लले जानकारी दिनुभयो । ल्यापटपबाट विद्यार्थी पढाउन शिक्षकले तालिम लिइराखेको मल्लले जानकारी दिनुभयो ।

“केही शिक्षकले मात्रै ल्यापटप चलाउन जान्नुहुन्छ उहाँहरुले अहिले दिनको एउटा कक्षा प्रविधिको प्रयोगबाट लिइराख्नुभएको छ, अन्य शिक्षकले ल्यापटप चलाउन सिक्दै हुनुहुन्छ, एक शिक्षकले अर्को शिक्षकलाईसमेत सिकाउनुभएको छ”, मल्लले भन्नुभयो । कम्तिमा दैनिक दुई पिरियड मात्रै भए पनि डिजिटल माध्यमबाट अध्यापन गराउन सकिन्छ भन्ने उद्देश्य राखिएको छ ।

नगरपालिकाको रु आठ लाखबाट विद्यालयको सिकाइ योजना प्रविधिमैत्री बनाइएको हो । अहिले ५५ इन्चको पाँच वटा स्मार्ट टिभी र आठ वटा ल्यापटप खरिद गरेर विद्यालयमा प्रविधिको माध्यमबाट सिकाइ कार्यको शुभारम्भ गरिएको हो । विद्यार्थी भन्दा गुणस्तर बढाउने तर्फ विद्यालयको ध्यान गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले बताउनुभयो ।

विद्यालयमा हाल एक सय ४६ विद्यार्थी छन् । “ बसाइँसराइले विद्यार्थी क्रमशः घट्दै छन् तर हामीले शैक्षिक गुणस्तर भने बढाउँदै लगेका छौँ”, अध्यक्ष थापाले भन्नुभयोे । यहाँ अधिकांश दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई थप आकर्षित गर्नका लागि नगरपालिकाको सहयोगमा एक शिक्षक एक ल्यापटप र कक्षाकोठामा स्मार्ट टिभि जडान गरिएको छ । विद्यालयको भौतिक सुरधारमासमेत अहिले व्यवस्थापन समिति लागेको छ ।

डिजिटल माध्यमबाट अध्यापन गराउदा विद्यार्थीमा सिकाइ उपलब्धि बढेर जाने र विद्यार्थीसमेत प्रविधिमा निपूर्ण हुने शिक्षकको भनाइ छ । विद्यालयमा कक्षाकोठा अभाव भए पनि दुईवर्ष अघि मात्रै स्थानीयसँग चन्दा उठाएर एक तला पक्की भवन निर्माण गरिएको थियो ।

यस्तै चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु. ५० लाखमा चार कोठे सुविधा सम्पन्न विद्यालय भवन बनाउन सुरु गरिएको छ । चार कोठे विद्यालय भवन निर्माण पश्चात विद्यालयको कक्षाकोठाको समस्या समाधान हुनेछ भने विद्यालयको तारबार र प्रवेशद्वार निर्माण गरिने विद्यालयको लक्ष्य रहेको छ । बागलुङ नगरपालिकाले माध्यमिक विद्यालयमा एक ल्यापटप एक शिक्षक कार्यक्रम र स्मार्ट टिभी जडान कार्यक्रमलाई प्राथमिकतामा राखेको नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?