कालीगण्डकी प्रसारण लाइनको अवरोध हटाउन पहल

Read Time = 5 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ । देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै स्थानीयले विगत तीन वर्षदेखि प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका छन् । अवरोधका कारण फलेवासमा प्रसारण लाइनका चारवटा टावर निर्माण हुन सकिरहेको छैन ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोष सम्मिलित उच्चस्तरीय टोलीले निर्माणमा अवरोध भइरहेको फलेवास-६ देवीस्थानको स्थलगत निरीक्षण गरेको छ । टोलीमा पर्वतका जिल्ला समन्वय प्रमुख विष्णुराम बिक, फलेवासका नगरप्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभाकुमारी क्षेत्री, प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल, निवर्तमान नगरप्रमुख पदमपाणि शर्मा, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने, वडाध्यक्ष नवीन श्रेष्ठलगायतको सहभागिता थियो । टोलीले स्थानीय बासिन्दाहरूसँग पनि छलफल गरेको थियो ।

कालीगण्डकी र सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि उक्त लाइन महत्वपूर्ण रहेकाले निर्माणमा अवरोध नगरिदिन टोलीले आग्रह गरेको थियो । लाइन अभावमा जलविद्युत् आयोजनाको विद्युत् मुख्यरूपमा वर्षायाममा प्रवाह गर्न नसकिएको भन्दै टोलीले राष्ट्रलाई ठूलो क्षति भइरहेको जनाएको थियो । प्रसारण लाइनको टावर सार्न सम्भव भए/नभएको विषयमा प्राविधिक टोलीले चार/पाँच दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्वेक्षण सम्पन्न भएपछि विद्यालयलाई प्राथमिकतामा राखी प्राविधिकरूपमा सम्भव भएसम्म टावरलाई रंगशालाको डिलतर्फ च्यापेर टावर निर्माण गर्ने सहमति भएको छ, रंगशालाभन्दा तल भिर रहेकाले टावर धेरै तलसम्म लैजाने सम्भावना देखिँदैन ।’ उहाँले विद्यालयलाई जोगाएर प्राविधिकरूपमा सम्भव भएसम्म रंगशालालाई पनि कम असर पर्ने गरी टावर निर्माण गरिने स्पष्ट पार्नुभयो । कालीगण्डकी र सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारण लाइन निर्माण सुरु गरिएको हो ।

आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाबाट पर्वतको कुस्मा नगरपालिका-२ खुर्कोटसम्मको ३९.६ किलोमिटर पहिलो खण्ड सञ्चालनमा छ । खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण गरिएको छ । करिडोरको दोस्रो खण्डअन्तर्गत कुस्माबाट नवलपरासीको सुनवल नगरपालिका-१३ भुमहीस्थित (नयाँ बुटवल सबस्टेसन)सम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । सो खण्डमा पर्ने दुई सय ३५ टावरमध्ये फलेवासमा पर्ने चारवटाको निर्माण बाँकी छ । प्रसारण लाइन निर्माण असारभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजना प्रमुख चन्दन घोषले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?