स्ववियु चुनावको आचारसंहिता जारी

चुनावसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोष्टर टाँस्न नपाइने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि त्रिभुवन विश्वविद्यालयले आचारसंहिता जारी गरेको छ । त्रिविले जारी गरेको स्ववियु चुनाव आचारसंहितामा चुनावसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्याम्पसको कम्पाउण्ड वालको बाहिरपट्टि, भित्रपट्टि र क्याम्पस वरिपरि वालपेन्टिङ गर्न र त्रिविका क्याम्पसमा हानि÷नोक्सानी हुने कुनै प्रकारको प्रचार गर्न पाइने छैन । यस्तै, उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली एफोर साइजको एकै रङ भएको मात्रै प्रचारप्रसार गर्न पाइनेछ ।

आचारसंहितामा क्याम्पस निर्वाचन समितिमा दर्ता संघ-संगठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम क्याम्पस निर्वाचन समितिले सञ्चालन गर्ने र त्यस कार्यक्रममा एक-अर्काप्रति आक्षेप वा आरोप लगाइने वाक्य बोल्न नपाइने पनि आचारसंहितामा उल्लेख गरिएको छ ।

क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने, विभिन्न माग राखी वा चुनावको विषयलाई लिएर बन्द/हड्ताल गर्न नपाइने उल्लेख छ । आचारसंहितामा मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

निर्वाचन कार्यतालिकाअनुसार स्ववियु चुनावका लागि यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ । गएको फागुन १९ गते चुनावका लागि विद्यार्थी संघ-संगठन दर्ता भएका छन् । आउँदो चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा चुनाव हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?