‘हल्कारा’को टिजर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘हल्कारा’को टिजर सार्वजनिक गरिएको छ । अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको यो चलचित्रको टिजर सार्वजनिक गरिएको हो । आगामी वैशाख २९ देखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको टिजरमार्फत् वैदेशिक रोजगारीबाट सिर्जित समस्यालाई देखाउन खोजिएको छ । मुख्य पात्र महेश त्रिपाठीको न्यारेसनमा टिजर तयार भएको छ ।

विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका छ । महेशले रामका रूपमा हुलाकीको चरित्र निर्वाह गर्नुभएको छ भने विनिता मियाको चरित्रमा हुनुहुन्छ ।

‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट हृयुस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट चलचित्र घोषित भएको थियो । यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल हुनुभएको छ । नेपाल-अमेरिका फिल्म फेस्टिभलमा पनि ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत भएको थियो ।

चलचित्रमा महेश र विनितासँगै उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ ।
विक्रमसँगै चलचित्रको कथा विप्लव प्रतीक र आकाश बरालले लेख्नुभएको हो । चिन्तन राजभण्डारीको छायांकन रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रोडक्सन मिलेर निर्माण गरेको हो । चलचित्रको सम्पादन पनि विक्रम स्वयंले गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?