पुस्तक : ‘रिकुटे’ दोस्रो विश्वयुद्धका सिपाहीको अन्तरपीडा

हिमालय टाइम्स
Read Time = 13 mins

✍️ सुशीला घिमिरे

दिवानसिंह राई मूल रूपमा राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँ साहित्यकार पनि हुनुहुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ तर उहाँ साहित्यकार पनि हुनुहुन्छ । त्यसको पुष्टि उहाँको ‘रिकुटे’ शीर्षकको यस कृतिले गरेको छ । हुन त उहाँको यसपूर्व ‘निर्दोष हत्या’ शीर्षकको औपन्यासिक कृति पनि प्रकाशित भइसकेको रहेछ । तथापि उक्त कृति यस पंक्तिकारले पढ्न पाएको छैन । बेलायती सेनामा जागिर खाएर फर्किएपछि उहाँ विश्वेश्वरप्रसाद कोइराला र नेपाली कांग्रेसको विचारबाट प्रभावित भएर कांग्रेसमा लाग्नुभएको थियो । जननिर्वाचित सरकार जसको नेतृत्व विश्वेश्वरप्रसाद कोइरालालले गर्नुभएको थियो र दिवानसिंह राई पनि उक्त, मन्त्रिमण्डलमा गृहमन्त्री बन्नुभयो ।

तर, उक्त मन्त्रिमण्डल लामो समयसम्म रहन पाएन । राजा महेन्द्रले २०१७ सालमा दलीय व्यवस्थन खारेज गरेर पञ्चायती व्यवस्थाको थालनी गरे । यसपछि बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन र दिवानसिंह राई पनि सुन्दरीजल बन्दीगृहमा लगातार आठ वर्षसम्म बन्दी बनाइनुभयो । बीपी कोइरालाको ‘दोषी चश्मा’ बाहेक अरू सबै कृतिहरू त्यहीँ लेखिएका हुन् भने दिवानसिंह राईले पनि उहाँका दुवै पुस्तकहरू त्यहीँ रहँदा लेख्नुभएको थियो । विश्वेश्वरप्रसाद कोइरालासँग अन्तरसम्बन्ध राख्नु भएका राई उहाँबाट ज्यादै प्रभावित हुनुहुन्थ्यो र साहित्यमा पनि प्रभावित हुनुभएको रहेछ भन्ने यही पुस्तकले प्रमाणित गर्छ ।

राईका जीवनको दुईवटा पाटा रहेछन् । पहिलो पाटो राजनीतिक पाटो हो जो सबैलाई थाहा थियो भने अर्को पाटो हो साहित्यिक पाटो । तर, उहाँको यस पाटाले भने राजनीतिक पाटाले जसरी उजागर हुने मौका पाएको रहेनछ । पहिलो कृतिको त्यति चर्चा भएको पाइएको थिएन भने यस कृतिको प्रकाशन विविध कारणले निकै ढिलो भएको पाइयो, यद्यपि यसको कारण यस पुस्तकमा खुलाइएको चाहिँ छ । कारण जे होस् ढिलो प्रकाशन भएपछि चर्चा ढिलै हुनु स्वाभाविक हो । २०१६ सालको विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमान प्रभावशाली गृहमन्त्री राई २०१७ सालको कदमपछि २०२५ सालसम्म त सुन्दरीजल बन्दीगृहमा बस्नुभयो ।

राईका जीवनको दुईवटा पाटा रहेछन् । पहिलो पाटो राजनीतिक पाटो हो जो सबैलाई थाहा थियो भने अर्को पाटो हो साहित्यिक पाटो । तर, उहाँको यस पाटाले भने राजनीतिक पाटाले जसरी उजागर हुने मौका पाएको रहेनछ ।

त्यसपछि बाहिर आएपछि उहाँ पञ्चायतको विरुद्धमा लागि नै रहनुभयो । उहाँका विरुद्ध विभिन्न प्रकारले निगरानी र जासुसी भइ नै रहेको थियो । २०३१ सालमा नेपाली कांग्रेसले पुनः सशस्त्र क्रान्तिको मार्ग अवलम्बन ग¥यो । यसताका पञ्चायतले अझै कठोर नीति अपनायो । ठीक यही बेला मधेसका विभिन्न ठाउँमा झोडा फँडनीको अभियान चलाइयो । मोरङको एउटा झोडाको नेतृत्व राईले लिनुभएको थियो । यही बेला पञ्चायतका व्यक्तिहरूले उहाँमाथि हतियार प्रहार गरेर उहाँको हत्या गरे ।

राईको सैनिक पृष्ठभूमि रहेको थियो । त्यसपछि उहाँ राजनीतिमा प्रवेश गर्नुभयो । बीपी कोइरालाकै शैली उहाँले जीवनमा अपनाउनु भयो र बन्दीगृहमा बस्ताको समयलाई साहित्य लेखनमा सदुपयोग गर्नुभयो । सँगै बसेका सबै साथीहरूले लेख्नु भएन । बीपी कोइरालाका त सबैजसो कृतिहरू बन्दीगृहमै लेखिए । राईले पनि यही समयलाई लेखनको उर्बर समय मानेर ‘निर्दोष हत्या’ र रिकुटे लेख्नुभयो । उहाँको औपचारिक शिक्षाका बारेमा यो पंक्तिकारलाई जानकारी छैन तर सम्भवतः बीपी कोइरालाको जस्तो औपचारिक शिक्षा उहाँले पाउनुभएको थिएन होला भन्ने अनुमान हो, मेरो यो अनुमान गलत हुन पनि सक्छ तर उच्च शिक्षा हासिल गरेको मासिन बेलायती सेनामा जागिर खान जानु भएन होला भन्ने अन्दाज हो ।

त्यस अर्थमा औपचारिक शिक्षा धेरै नभएको मानिसले जुन प्रकारको भाषाशैली प्रयोग गरेर यो उपन्यास लेख्नुभएको छ त्यो अत्यन्त सराहनीय छ । त्यसै उपन्यास लेख्न साहित्यका अरू विधाभन्दा कठिन छ । किनभने उपन्यास आख्यान विधा हो, त्यसकारण यसका लागि कथानक तयार पार्नेदेखि देश, काल परिस्थितिको अन्विति मिलाउनसमेत निकै कठिन हुन्छ । अर्को कुरा लामो वर्णनात्मक शैलीको लेखन हो उपन्यास, त्यसैले निकै लामै धीरता नभई उपन्यास लेख्न सक्ने सम्भावना रहँदैन ।

अचेल चलनचल्तीमा रहेको साना छोटा कविताका उपविधा जो हिँड्दाहिँड्दै र चिया खाँदाखाँदै लेखिन्छन् । उपन्यास त्यस्तो विधा होइन । धैर्य भएर महिनौं ध्यानमग्न भएरमात्र उपन्यास लेख्न सकिन्छ । यी सबै विशेषता राईमा पाइयो । राई आफैँ अनेपाली मातृभाषी व्यक्ति हुनुहुन्छ तर उहाँमा उच्चस्तरीय भाषिक शिल्प रहेको पाइन्छ । आफूले भन्न खोजेको कुरालाई कलात्मक ढंगले भन्न र प्रष्ट्याउन सक्ने सामथ्र्य उहाँमा रहेको देखिन्छ । समाजको यथार्थ चित्रणमा उहाँ अत्यन्त सफल हुनुहुन्छ । उहाँले वर्णन गरेका दृश्यहरू कुनै चित्रपट जस्तो छर्लंग छन् । यो पुस्तक पढ्न थाल्दा यस्तो कल्पना शायदै भएको थियो तर जति जति पुस्तक पढ्दै गइन्छ त्यहाँ वर्णन भएका सन्दर्भहरू सजीव भएर आउँछन् र पाठकलाई तान्दै लैजान्छन् ।

नेपालबाट विदेशी सेनामा भर्तीको सन्दर्भ, गल्लाको आगमन, भर्ती हुन जाने जवानहरूको हुट्हुटी र चाहना, तिनको तालिम, वैदेशिक भूमिमा तिनीहरूको आकर्षण र घरको न्यास्रो सजीव रूपमा पुस्तकमा वर्णन भएका छन् । यसैगरी आफूभन्दा माथिल्लो तहका हाकिमहरूको निर्देशन र अनुशासनको पालना, बेलायतदेखि पानीजहाजबाट बर्मासम्मको यात्रा, बर्मामा गएपछिको तयारी, जापानी सेनाहरूको सामथ्र्य र राष्ट्रभक्तिको वर्णन, उनीहरूको युद्ध कौशल, बेलायतको मातहतको गोर्खा सेनाले उनीहरूसँग गरेको भिडन्त र उनीहरूको जित, नेपाली सेनाको हताहती र अन्नतः जापानी सेनाहरू फिर्ता गएको बयान उहाँले सजीव रूपमा गर्नुभएको छ ।

दोस्रो विश्वयुद्धले सबैथोक तहसनहस भइसकेपछि हुरीपछि पिउरी खोजे जसरी लाहुरेहरू अलपत्र परेर टामाटुमी हुन्छन् । उपन्यासको टुङ्ग्याउनी अधुरो जस्तो लाग्छ, त्यसैले यो अपूरोपन टुङ्ग्याउनीमा खड्किएको पाइन्छ । अरू सम्पूर्णमा उपन्यास अब्बल छ ।

मारिएकाहरूको लाशको डङ्गुर, हराएका र अङ्गभङ्ग भएकाहरूको खोजी तथा क्रन्दन अनि सैनिकहरूले घरमा आफ्ना श्रीमती, छोराछारी र प्रेयसीहरूलाई लेखेका पत्र र तिनको प्रसंगले पनि पाठकलाई रोमाञ्चित बनाउँछ । यता उनीहरूले पठाएको चिठीमा प्रयोग भएका अंग्रेजी शब्दको लालबुझक्कडबाट गलत अर्थ लाग्नाले यताका लाहुरेनीहरूको जीवन नै अलपत्र बन्न पुगेको सन्दर्भले पाठकलाई दुःखी पनि बनाउँछ । दोस्रो विश्वयुद्धले सबैथोक तहसनहस भइसकेपछि हुरीपछि पिउरी खोजे जसरी लाहुरेहरू अलपत्र परेर टामाटुमी हुन्छन् । उपन्यासको टुङ्ग्याउनी अधुरो जस्तो लाग्छ त्यसैले यो अपूरोपन टुङ्ग्याउनीमा खड्किएको पाइन्छ ।

अरू सम्पूर्णमा उपन्यास बेजोड छ र प्रस्तुति, भाषिकशैली पात्र चयन, स्थान र विषयको वर्णन सम्पूर्णमा उपन्यास अब्बल छ । यसलाई नेपाली साहित्यको एउटा महान् प्राप्ति हो भन्दा अन्यथा हुँदैन । प्रवासका इन्द्रबहादुर राई, शिवकुमार राईहरूको लेखन स्तर दिवानसिंह राईमा पनि पाइन्छ । यो एउटा उच्चस्तरको आञ्चलिक उपन्यास हो जसले युद्धविरोधी सन्देश प्रवाह गरेको छ । दोस्रो विश्वयुद्धको सेरोफेरोको सजीव चित्रण यसमा छ । शिखा बुक्सले प्रकाशन गरेको यो पुस्तकको वितरक ज्ञानज्योति बुक्स रहेको छ । सर्वाधिकार प्रकाशकमा रहेको यस पुस्तकको सम्पादन हरि अधिकारीले गर्नुभएको छ ।

भाषा सम्पादन जिके पोखरेलको रहेको छ भने पुस्तक २७९ पृष्ठको छ र यसको मूल्य ४०० रुपैयाँ छ । सन्तोषकुमार दाहालको लेआउट र आवरण रहेको यस पुस्तकको आवरण आकर्षक छ र यहाँ एकजना सैनिकको युद्ध पोजिसनको चित्र रहेको छ । उनले एक हातमा बन्दुक र अर्को हाता नाङ्गो खुकुरी लिएको छ । पृष्ठ आवरणमा कृतिकार दिवानसिंह राईको फोटो तथा उहाँको चिनारीका केही शब्द र प्रकाशक संस्थाको नाम उल्लेख भएको छ ।

भूमिका खण्डमा समर्पण रहेको छ र त्यहाँ ‘विश्वयुद्धमा ज्यान गुमाउने र अंङ्गभङ्ग हुने गोरखा राइफल्समा’ भनिएको छ । यसपछि सम्पादक हरि अधिकारीको ‘रिकुटे एउटा कालखण्डको अभिलेख’ भनिएको छ । त्यसपछि आरम्भ भनिएको छ र उपन्यास सुरु हुन्छ । उपन्यासमा १ देखि १२ खण्ड वा अध्याय रहेका छन् । समग्रमा उपन्यान स्तरीय, पठनीय तथा सङ्ग्रहणीय छ । यसको खोजी गरी सार्वजनिक गर्न पहल गर्ने दिवानसिंह राईकी छोरी पूर्वसांसद लक्ष्मी राईलगायत सबैजना धन्यवादका पात्र हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?