मगर पर्यटन समाजमा नयाँ नेतृत्व

Read Time = 3 mins

काठमाडौं । मगर बाहुल्य गाउँको पर्यटन प्रवद्र्धनमा क्रियाशील मगर पर्यटन समाजमा नयाँ नेतृत्व चयन भएको छ । जीवन थापा मगरको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । प्रथम उपाध्यक्षमा भूपाल मगर, द्वितीय उपाध्यक्षमा जितेन्द्र झाँक्री मगर, महासचिवमा चन्दन थापा मगर, सचिवमा डेम पुन मगर, कोषाध्यक्षमा भरत थापा मगर, सहकोषाध्यक्षमा कृपा राना रहनुभएको छ । सदस्यमा चीनबहादुर थापा मगर, केशरबहादुर थापा मगर, रञ्जु मगर, निर सरु मगर, सन्तोषी मगर र किरण थापा मगर रहनुभएको छ ।

समाजले मगर जीवनशैली र संस्कृतिको ब्राण्डिङ गर्दै पर्यटकीय उपज बनाउने निर्णय गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित समाजको १०औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनका अवसरमा विज्ञहरूले मगर संस्कृति पर्यटनको स्वादिलो प्रोडक्ट बन्ने विश्वास व्यक्त गरेका हुन् । सो अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले धेरैभन्दा धेरै मगरलाई पर्यटन उद्यमी बन्न प्रेरित गर्न, मगरको पहिचान जोगाउँदै पर्यटनबाट लाभ लिने वातावरण बनाउन सबैसँग आग्रह गर्नुभयो । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले भने मगर समुदायको संस्कृति, रहनसहन र खानपिनलाई राम्रोसँग ब्राण्डिङ गरेमा टुरिजम प्रोडक्ट बनाउन सकिने भन्दै बोर्ड सहकार्यका लागि तयार रहेको बताउनुभयो ।

नेपाल मगर संघका उपाध्यक्ष जीवन प्रवेश रोकाले मगर बाहुल्य गाउँ कला, संस्कृति र प्रकृतिले समृद्ध भए पनि त्यसबाट पर्याप्त लाभ लिन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले पहिचानका मुद्दा अघि बढाउँदै समाजको समृद्धिका लागि पनि सक्दो पहल गर्नुपर्छ, हाम्रो मौलिक संस्कार, संस्कृति र खानपान प्रवद्र्धन गरौँ, सम्भाव्यताको सम्भावना एक्सप्लोर गरौँ ।’ सो अवसरमा टानका अध्यक्ष निलहरि बास्तोला, गुरूङ पर्यटन समाजका अध्यक्ष पिताम्बर गुरुङ, तामाङ रिमठिमका अध्यक्ष अम्बर तामाङ, तनहुँ पर्यटन समाजका अध्यक्ष शुक्र श्रेष्ठ, शेर्पा पर्यटन समाजका अध्यक्ष संगम शेर्पालगायतको उपस्थिति थियो । २०६८ मा स्थापित समाजको संस्थापक अध्यक्ष कृष्ण मगर रहनुभएको छ । साथै समाजले पर्वतारोही हरि बुढा मगर, चर्चित कलाकार खड्गबहादुर पुन (खबपु) र आइटी विशेषज्ञ राजनबाबु थापालाई सम्मान गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?