नवनिर्वाचित राष्ट्रपति पौडेल भट्टराई आश्रम र पुष्पलाल स्मृति उद्यानमा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

ललितपुर । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रम र कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यानमा जानुभएको छ । शनिबार पौडेल यी दुई क्षेत्रमा जानुभएको हो । उहाँले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, पूर्वराजदूत एवं नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय, नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयाल लगायतले स्वागत गर्नुभएको थियो । नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

यस्तै, पुष्पलाल स्मृति उद्यानमा उहाँले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो । नवनिर्वाचित राष्ट्रपति पौडेललाई त्यहाँ पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, काठमाडौं क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसी, प्रदेशसभा सदस्य पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी, वडाध्यक्ष श्याम केसी लगायतले स्वागत गर्नुभएको थियो ।

माल्यार्पणपछि नवनिर्वाचित राष्ट्रपति पौडेलले प्रतिष्ठानको आगन्तुक कक्षमा रहेको पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । पुस्तिकामा उहाँले पुष्पलालको स्मृति उद्यानको अवलोकन गर्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै यसको विकास तथा प्रगतिको कामना गर्नुभएको छ । आगन्तुक कक्षमा नवनिर्वाचित राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच समसामयिक विषयमा कुराकानी भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?