स्थानीय उत्पादन तम्घासको कोशेली घरमा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । स्थानीयस्तरमा उत्पादन गरिएका विभिन्न वस्तुहरु कोशेली घरमा उपलब्ध हुने गरेका छन् । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको कोशेली घरमा ग्रामीण क्षेत्रमा उत्पादन भएका रैथाने बालीहरु उपलब्ध हुने कोशेली घर शहकारी संस्थाका सचिव हरिप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रमा उत्पादन भएका बालीहरु शहरसम्म पु¥याउने उदेश्यले यो संस्था सञ्चालनमा ल्याइएको बताइएको छ । स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीहरुले उत्पादन गरेका विभिन्न वस्तुहरुलाई यहाँबाट बजारसम्म उपलब्ध गराउने गरिन्छ । कोशेली घरले गाउँमा उत्पादन हुने रैथाने बाली खरिद र बिक्री गर्न थालेपछि गाउँमा उत्पादन पनि बढाउन थालेको पाइन्छ ।

यहाँ सेरामिक्सका सामाग्री, बाँसबाट बनेका सामाग्री, हातले बुनेका नाम्ला, दाम्लो, नाग्लो, कुँचो, माटाका पाला, मुडा, पाला, झोला लगायत बिभिन्न सामाग्रीहरु, गिफ्टका सामाग्रीहरु लगायत पाइने सचिव पोखरेलले जानकारी दिनुभयो । त्यस्तै, ग्रामीण भेगमा उत्पादन गरिएका विभिन्न खाद्यान्न सामाग्रीहरु चामल, आटो, कोदो, फापर, दाल, गहत, गुन्द्रुक, मसौरा, अण्डा लगायत गाउँमा उत्पादन हुने रैथाने वालीहरु बिक्रीका लागि यहाँ राखिएको छ ।

कोशेली घरको कारण घरेलु उद्यमीहरुले उत्पादन गरेका वस्तुलाई कहाँ लगेर बेच्ने भन्ने समस्या पनि हटेको छ । स्थानीय साना उद्यामीहरुबाट उत्पादन भएका सामाग्रीहरु राम्रा र बलिया हुने गर्दछन् । जिल्लामा स्थानीयस्तरबाट उत्पादन भइ कोशेली घरबाट बिक्री गरिने वस्तुहरु अनेत्र जानेहरुले कोशेलीको रुपमा बाहिर लैजाने गरेका छन् ।

स्थानीय सरकारले रैथाने तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरुको बिक्री वितरणका निम्ति पनि चासो दिनुपर्ने सचिव पोखरेलले बताउनुभयो । अहिले गाउँघरमा उत्पादन हुने अर्गानिक खाद्यान्नको माग पनि बढी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?