कटुवाल फुटबल टोलीको सहायक प्रशिक्षक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मच्छिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कटुवालसँगै विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ । कटुवालको प्रशिक्षकत्वमा मच्छिन्द्रले पछिल्ला दुई सिजनमा लगातार ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो ।

जारी लिगमा भने मच्छिन्द्रको सुरुवात राम्रो छैन । मंगलबार दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले नेपाल पुलिस क्लबलाई २-१ ले हराएको थियो । जुन यस सिजनमा चौथो खेल खेल्दा मच्छिन्द्रले हात पारेको पहिलो जित हो । मच्छिन्द्रले सुरुवाती दुई खेलमा लगातार हार बेहोरेको थियो ।

एन्फाले कटुवाललाई यसअघि कात्तिकमा पाकिस्तानविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि मुख्य कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो । त्यो मैत्रीपूर्ण खेल नेपालले १-० ले जितेको थियो ।

नेपाली टोलीले चैत ८ देखि १७ गतेसम्म दशरथ रंगशालामा हुने थ्री नेसन्स कप खेल्दैछ । त्यसमा प्रतिस्पर्धा गर्नका लागि लाओस र भुटान नेपाल आउँदैछन् । केही दिनअघि मात्र एन्फाले इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेलाई एक वर्षका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?