महिला लघुवित्तको शाखा व्यवस्थापन तालिम

Read Time = 3 mins

काठमाडौं । महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा सञ्चालित महिला लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक बर्ष २०७९/०८० को समीक्षा तथा अभिमुखीकरण तथा शाखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । महिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत(सिइओ) कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित तालिममा महिला अधिकार तथा विकास केन्द्रका अध्यक्ष तुलसी थापाको उपस्थिति रहेको थियो । सो अवसरमा सिइओ न्यौपानेले पछिल्लो समय लघुवित्त कार्यक्रममाथि प्रहार हुनुका साथै संस्थाका जिम्मेवार व्यक्तिहरूको व्यक्तिगत आचरणलाई लिएर बदनियत गर्ने तत्वको हालीमुहाली रहेको बताउनुभयो ।

विपन्न महिलाको जीविकोपार्जन गर्न दूरदराजमा गएर कार्यक्रम विस्तार गर्नु आफैंमा गौरवको विषय भएको भन्दै उहाँले संस्थामा आबद्ध केही सदस्य सडकमा र सदनसम्म पुगेकोसमेत बताउनुभयो । साहु महाजनको कर्जा तिर्न नसकेर कमलरी, हलिया बस्नुपरेको अवस्थामा लघुवित्तले जीविकोपार्जन गर्दै उद्यमी बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै न्यौपानेले कर्मचारीहरूलाई अराजक गतिविधिको बेवास्ता गर्दै अनुशासित भएर संस्थामा आबद्ध ग्राहकलाई सकारात्मक बनाई जिम्मेवारी पूरा गर्न निर्देशनसमेत दिनुभएको छ ।

महिला अधिकार तथा विकास केन्द्रका अध्यक्ष थापाले महिला लघुवित्तमा आबद्ध कर्मचारीलाई वित्तीय अनुशासनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । लघुवित्तबाट लिइसकेको कर्जा सदस्यले म तिर्दिनँ भन्न नपाइने कानुनी व्यवस्था भएको उहाँको भनाइ थियो । तालिम कार्यक्रममा ४५ जनाको सहभागिता रहेको संस्थाका योजना अनुसन्धान तथा विकास विभाग प्रमुख नारायण रोकाले जानकारी दिनुभएको छ ।

दुईदिने तालिममा सहायक कार्यकारी अधिकृत हरिप्रसाद गौतम, कर्जा असुली तथा जोखिम व्यवस्थापन विभाग प्रमुख ईश्वरबहादुर रोका, आन्तरिक लेखा परीक्षण विभाग प्रमुख बलबहादुर राना, अनुगमन विभाग प्रमुुख बुद्धिसागर न्यौपाने, सूचना प्रविधि विकास प्रमुख सुमित बास्कोटा, लेखा तथा वित्त विभाग प्रमुख मनिषा कुँवर, सामान्य प्रशासन तथा तालिम विभाग प्रमुख मिमिला पौडेलको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?