लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

लुम्बिनी । अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित यही चैत २३ गते बुद्ध जन्मस्थल लुम्बिनीमा पुरुष तथा महिला खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित सो प्रतियोगिताको पुरस्कार एक लाख ५० हजार राशि रहेको छ । शान्ति भूमि लुम्बिनीमा २१ किलोमिटर हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । लुम्बिनीको मायादेवी मन्दिर, शान्तिदीपलगायतका क्षेत्रलाई मध्यभागमा पारी २१ किमी परिक्रमा गरिने जनाइएको छ । प्रतियोगिताका विजेताले पुरुषतर्फ एक लाख ५० हजार र महिलातर्फ एक लाख ५१ हजार रुपैयाँ पुरस्कार राशि राखिएको उहाँले बताउनुभयो ।

यसैगरी पुरुष तथा महिला दुवैतर्फका द्वितीयलाई ७५ हजार, तृतीय स्थानलाई ५० हजार, चौथो स्थानका लागि ३० हजार र पाँचौँ स्थानका लागि २० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा देशका जुनसुकै स्थानका कुनै पनि उमेर समूहका खेलाडीले खुलारूपमा प्रतिस्पर्धा गर्न पाउने कार्यक्रमका संयोजक मोहनबहादुर घलेले जानकारी दिनुभयो । म्याराथन प्रतियोगिताका लागि यही चैत २० गते (आज) सम्म दर्ताको अन्तिम मिति रहेको छ भने चैत २२ गते स्वास्थ्य परीक्षण हुनेछ ।

एकेडेमीले सोही दिन राष्ट्रिय भेलाको समेत आयोजना गर्ने भएको छ । भेलामा ७७ वटै जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधि सहभागी हुने जनाइएको छ । भेलामा विभिन्न खेल विधाका प्रदर्शन र विभिन्न कला, संस्कृति झल्कने नृत्य प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?