असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् : मेयर बालेन

संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले समन्वय नगरेको बताउनुभएको छ ।

सोमबार बिहान सामाजिक सञ्जालमा सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटको तस्विरसहित लामो ‘स्टाटस’ लेख्नुभएको हो ।

उहाँले सरकारको असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर नै फोहोर नउठाइएको बताउनुभयो । उहाँले बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता गैरजिम्मेवारी र लापरवाहीका कारण बाध्यात्मक कदम उठाउनु परेको स्पष्ट पार्नुभयो ।

‘असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो’, उहाँले लेख्नुभएको छ, ‘यो दबाब आवश्यक छ भन्नेमा सायदै दुईमत रहला।’

सिंहदरबारसम्म पुग्न महानगरले धेरै कसरत गर्नुपरेको भन्दै उहाँले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नै नचाहेको दाबी गर्नुभएको छ । नौ महिनामा पटक–पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुरा कार्यान्वयन गर्न मुस्किल परेको भन्दै उहाँले १४ बुँदा उल्लेख गर्नुभएको छ ।

‘स्थानीय समस्या स्थानीय तहमा नै समाधान हुन सकून, संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस्,’ उहाँले भन्नुभयो, ‘देश विकेन्द्रीकरणको उच्चतम लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ, तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौं आइरहनुपर्ने अवस्था छ, त्यस्तो नहोस्,’ मेयर शाहले भन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?