मिटरब्याजी पीडितका समस्याका विषयमा छानविन गर्न पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा आयोग गठन

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सरकारले मिटरब्याज पीडितका समस्याबारे छानविन गर्न समिति गठन गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजी पीडितका समस्याका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित समितिमा पूर्वएआइजी उत्तमराज सुवेदी र गणेशबाबु अर्याल रहनुभएको छ । समितिलाई तीन महिनाको अवधि दिइएको र ठोस र मूर्त रूपमा मिटरब्याजीको समाधानका लागि तत्काल एक्सनमा जाने गरी प्रतिवेदन पेस गर्न भनिएको प्रवक्ता शर्माले बताउनुभयो । समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय भएको छ ।

शनिबार सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच भएको सहमतिअनुसार मिटरब्याज पीडितको माग सम्बोधन गर्न बैठकले आवश्यक निर्णय गरेको हो । त्यस्तै, बैठकले गृह मन्त्रालयको मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी गराउनुभयो । गृहमन्त्री र गृहसचिवले आफूखुसी खर्च गर्न पाउने गरी बनेको सो कार्यविधि खारेज गर्ने निर्णय गरिएको मन्त्री शर्माले बताउनुभयो ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जासुसी परिचालनसम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको हो । ‘गृह मन्त्रालयअन्तर्गत शान्ति सुरक्षासम्बन्धी व्यवस्थाअनुसार जासुसी परिचालनमा हिसाबकिताब गर्न नपर्नेगरी जुन खर्च गर्ने कार्यविधि थियो । त्यो कार्यविधिलाई खारेज गरिएको छ’, बैठकपछि सरकारको प्रवक्तासमेत रहनुभएकी सञ्चारमन्त्री शर्माले भन्नुभयो । मन्त्री श्रेष्ठले गृह मन्त्रालय सम्हालेलगत्तै सो व्यवस्था खारेज गर्ने घोषणा गर्नुभएको थियो ।

यस्तै, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउन नसकेपछि सरकारलाई जिम्मेवारी लिन आग्रह गर्दै आएको थियो । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेका थिए ।

हालसम्म रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको बताइएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारापिटका लागि २८६ वटा पिलर उठाउँदै चौरमा दुबो गाड्ने काम भइरहँदा निर्माण रोकिएको हो । पछिल्लोपटक नयाँ गठबन्धन आएपछि यो पहिलो मन्त्रिपरिषद् बैठक हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?