सरकारको निरन्तरता र सय दिन

हिमालय टाइम्स
Read Time = 6 mins

वर्तमान सरकारको एक सय दिन बितेका छन् । यो लामो समय होइन तर त्यति छोटो समय पनि होइन । सरकारमा पुरानै र अनुभवले खारिएका मानिसमात्र पुग्छन् भन्ने छैन । नयाँ र अनुभव हासिल गर्न नपाएका मानिसहरू पनि त्यहाँ पुग्न सक्छन् । सरकारमा बसेर केही जान्न, सिक्न, आँतभेउ थाहा पाउन र कार्यारम्भ गर्न, केही समय-दिन, विरोध नगर्ने प्रचलन विश्वका प्रजातान्त्रिक देशहरूमा रहिआएको छ । बितेको साढे तीन महिना जतिको समय अथवा एक सय दिनलाई राजनीतिक अभ्यासमा मधुमासको समय वा हनिमुन पिरियड मान्ने गरिएको छ । यो समय सरकारले केही नवीन कार्यको थालनी गर्ने अपेक्षाका साथ छुट्याइएको समय हो ।

आफ्नो कार्यारम्भ गर्न यो आधार तयार गर्ने समय हो । यस अवधिमा केही नगरी पदमा रहने सरकारबाट जनता तथा अन्य दलले केही आशा गर्ने अवस्था भएन भने एक सय दिनपछि चाहिँ त्यस्तो सरकारको व्यापक विरोध सुरु हुन्छ र सरकारले सो को सामना गर्नुपर्ने हुन्छ । वर्तमान सरकारको हनिमुन पिरियड समाप्त भएको छ । गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भई सरकार बनेको थियो । त्यसभन्दा एक महिनाअघि भएको प्रतिनिधिसभाको निर्वाचनबाट विजयी भएर आएका सांसद संख्याका आधारमा नेपाली कांग्रेस संसद्मा ठूलो दल बन्न पुग्यो भने नेकपा एमाले दोस्रो ठूलो दल बन्यो ।

यसैगरी संसद्मा माओवादी केन्द्र तेस्रो ठूलो दल बनेको थियो । अरू केही साना दलहरूलाई समेत समेटेर माओवादी, एकीकृत समाजवादीसमेत गरी नेपाली कांग्रेसले सरकार बनाउने प्रयास गर्दा-गर्दै माओवादी र एमालेले गठबन्धन गरी केही अन्य दलहरूलाई साथ लिएर सरकार बनाएर नेपाली कांग्रेसलाई एक्ल्याउने काम भएको थियो । यहीबीचमा केही राजनीतिक नियुक्तिहरू र प्रतिनिधिसभाको सभामुखको छनौट भयो । तर, गठबन्धन क्षणिक भएर पानीको फोकासरह फुट्न पुग्यो । प्रधानमन्त्री पुरानै गठबन्धनमा फर्किनुभयो । सुरुमा सरकारमा संलग्न भएका पार्टीहरू हटे तर प्रधानमन्त्री फेरिनु भएन ।

पहिले सरकारका पक्षमा रहेकाहरू वर्तमान सरकारमा संलग्न छैनन् र पहिले प्रतिपक्षमा रहेका पार्टीका नेताहरू हाल पुनर्गठन भएको सरकारमा संलग्न हुनुभएको छ । सरकारले पुनः विश्वासको मत लिएको छ । अब सरकारमा एक प्रकारले स्थायित्व कायम हुन सक्ला कि भन्ने अपेक्षा गर्न सकिने अवस्था सिर्जना भएको छ । वर्तमान मन्त्रिपरिषद्मा नेपाली कांग्रेस संलग्न भएको छ भने एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायत संलग्न छन् । अब भने सरकार बनाउने र गिराउने खेल छोडेर विकास निर्माणलाई गति दिन आवश्यक छ । मधुमासको अवधिमा सरकारले खासै केही गर्न सकेन ।

हुन त त्यसो भन्दा सरकारमा बस्नेहरूले आफूले यति धेरै काम गरेको छौं भनेर फेहरिस्तै पेश गर्ने गर्दछन् र प्रतिपक्षमा बस्नेहरूले सरकारले केही नै गरेन भनेर आलोचनाको पहाड उठाउने गर्दछन् तर मध्यमार्गी धारणा राखेर हेर्ने हो भने पनि सरकारले यो अवधिमा त्यति काम गर्न सकेको अनुभूति भएको छैन । यस अवधिमा सरकार बनाउने र बनिसकेपछि टिकाउने, धारणा नमिलेकालाई हटाउने गर्दा-गर्दै यो अवधि समाप्त भएको छ । सरकारले काम गरेन भनेर आलोचनाको पहाड तयार गर्नुभन्दा यस अवधिका काम गर्ने मौका पाएनभन्दा उपयुक्त हुन्छ । पाँच वर्षको अवधिमा साढे तीन महिना बितेको छ ।

यो त्यति धेरै समयको बबार्दी हो भनिहाल्नु उचित होइन । हुन त पलपलको महत्व हुन्छ नै तैपनि जे-जति समय बितेको भए पनि बाँकी समयको चाहिँ प्रत्येक क्षणको सदुपयोग गरेर सरकारले काम गर्न गर्ने हो भने धेरै काम गर्न सकिने समय बाँकी छ । सरकारका सामु अब गर्नुपर्ने कामको फेहरिस्त छ । तिनलाई प्राथमिकता निर्धारण गरेर अगाडि बढ्नुपर्ने हुन्छ । राजनीति भनेको फोहोरी खेल हो भन्ने परम्परागत भनाइलाई गलत सावित गर्न यो गठबन्धन सरकारले सक्नुपर्छ । जनताले समेत प्रशंसा गर्नेगरी सरकारले काम गर्नुपर्ने जिम्मेवारी छ । त्यसो भयो भनेमात्र राजनीतिप्रति सबैको सकारात्मक सोचमा पुनरावृक्तिको विकास हुन सक्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?