कच्चा वैद्यको मात्रा यमपुरको यात्रा

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 17 mins

धेरै पहिले योग र यज्ञ आराधना, विशेष प्रकारका विधिपूर्वक गरिने अनुष्ठान आदिका अर्थमा प्रचलित थिए । विस्तारै मान्छे बढ्दै गए अनि मान्छेले प्रकृतिलाई आफ्ना स्वार्थमा प्रयोग गर्न लाग्यो । खोलो फर्काएर, आगो लाएर, वन मासेर बस्ती बसाउने प्रक्रिया सुरु भयो । यसरी यो प्रक्रिया बढ्दै गएर भूस्वामीहरू बनिए । ती कुनै सात्विकवृत्तिका थिए त कुनै तामसी वृत्तिका । सात्विक वृत्तिका राजाले नीति बनाए, गुरुकुल चलाए, ऋषिहरूलाई गुरु बनाएर अनेकौं प्रकारका ससमाजसुधार थिति बसाउने आदि काम गरे । तामस् वृत्तिका राजाहरू तामसी शक्तिवद्र्धक वस्तुका सेवनमा लागे ।

त्यसका निमित्त सीप भएका र अटेर स्वभावका मान्छे मारिए, काटिए अनेकौं प्रकारको दुःख खेप्न विवश बनाइए । राजस्वृत्तिका राजाले पनि कसैका राम्री छोरी-बुहारी देख्नै भएन । दरबारमा बोलाइए । पहिलेका के कुरा गर्नु हाम्रै लिगलिगकोटका मगर राजाले बिहा गरेर ल्याएका दिन बेहुली दरबारमा दर्शन गर्न साँझमा पठाउनू भनेर झ्याली पटेपछि नारायण दास अर्याल, गंगाराम खवास आदिले द्रव्य शाहलाई भेटेर आमन्त्रण गरेको कुरो त नेपालकै प्राचीन वंशावलीमा देखिन्छ । पुराणतिर त यिनका सयौं गुना बढी आततायी राजाहरू भएका थिए । उत्तर कोरियाको आजको शासकभन्दा पनि भयानक उन्मत्त मान्छे ।

यिनलाई अनुशासनमा राख्न सात्विक वृत्तिका राजा प्रजा र पढेलेखेका ऋषिहरू लागि परे । यसै क्रममा विश्वामित्रले गालवलाई माध्यम बनाएर श्यामकर्ण घोडा खोज्न पठाएर राजकीय सत्तालाई ऋषिसत्तामा रूपान्तरण गर्ने खालका चार सम्राट बनाएको कुरो त मदनमणि दीक्षितले ‘माधवी’ मा लेखेकै छन् । उत्तरवैदिक साहित्य, समाज र तत्कालीन स्मृति, सूत्रग्रन्थ पढ्दा अनेकौं आयामबाट समाज विस्तारै अग्रसर हुँदै आएको देखिन्छ । इतिहासका कतिपय मोड र घुम्तीमा भएका अन्यायी दुराचारी र आततायीको लेखागरी साध्य छैन । यसभन्दा पहिलो बुधवार पनि मैले योगका अनेकौ रूप र सन्देशका सम्बन्धमा साथीहरूका अगाडि केही कुरा राखेको थिएँ । आज पनि म योगकै सम्बन्धमा कुरा गर्न खोज्दै छु ।

आजका नेतामा सहिष्णुता बाँकिरहेको मैले कतै देखेको छैन । राज्य दलका नेताको घुरेनबारी बनेको छ । मिटरब्याजीका पीडा बोकेर किसान ११ दिन पैदल हिँडेर आएर जुन क्रन्दन राज्यलाई सुनाइरहेका छन् त्यसलाई देखेर कुनै नेतालाई आत्मग्लानि भएको देखिएन ।

‘योगश्चित्तवृत्ति निरोधः’ मानवीय मन जंगली जेब्रा घोडाजस्तो हुन्छ । अतिचन्चल र महत्वाकांक्षी त्यत्तिकै प्रबल र एकोहोरो अनि तेजिलो किसिमले सबैलाई एकोहो¥याएर हिँड्नसक्ने पनि । एउटा डहरिएको गाईका पछाडि सयवटा साँढे कुदेजसरी नै राजनीतिमा पनि आज हाम्रा देशमा आग्रह, विग्रह विरोध र साम, दाम, दण्ड, भेद सबै प्रयोग हुनेगरेको त तपाईंहरूले देख्दै आउनुभएको छ । प्रत्येक पटक नेपालका सबैजसो दलमा नवजंगबहादुर जन्मिएको हामीले देख्यौं । हिजो गिरिजाप्रसाद कोइरालाले चौआने सदस्य पनि रहन नदिएर पार्टीबाट निकालेका शेरबहादुर आज त्यही कार्य दिनको सयौंपटक दोहो¥याइरहेका छन् । के उनी पशु हुन् त ?

पटक-पटक गल्ती त पशुले नै गर्छ किनभने उसमा स्मृति हुँदैन । गल्ती र सही ठम्याउने दिमाग र प्रवृत्ति पनि हुँदैन । जो मान्छे यो देशको पाँच पाँच पटक प्रधानमन्त्री भए । २३ सिट हुँदा पनि प्रधानमन्त्री बनेर दुई तिहाइका नजिकको मतले उन्मत्त भएकालाई बरबराउँदै हिँड्न विवश गराए । पाँच दलीय गठबन्धन गरेर चुनाव लडे जो विश्वामित्रले कल्पना गरेको त्रिशंकु नै थियो । असम्भवलाई सम्भव बनाएको र गोरु दुहुने दुश्चेष्टाका साथै सिद्धान्तहीनताको बेनजिर प्रयोग । ६२ दिनमा गएका सत्तालाई फर्काएर आफ्नालाई पुच्कार्न र आलोचकलाई कोर्रा लाउन पनि उनी सफल भएका देखिन्छन् ।

डा.स्वर्णिम वाग्लेका आङमा यिनले लाएका कोर्राका डाम देख्न सकिएला पनि । यसरी हेर्दा तामस्वृत्ति र राजस्वृत्तिका रहेछन् वाग्ले र देउवा दुवै । दुवैमा प्राप्तियोग मात्रैको बाहुल्य देखियो । आरजुजी त वीर्यले नै शेर भएकाले उहाँले मान्छेलाई यदि चिथोर्नुभयो भने पनि स्वाभाविकै मान्न सक्लान् मान्छेले । अब राजनीति गर्नेले गान्धीवृत्ति अवलम्बन गरेर यो क्षेत्रमा प्रवेश नगर्ने हो भने अबका प्रत्येक चुनाव विघटन, फुट र वादविवादका महल बनिने सम्भावना देखिन्छ ।

अगडि बीपी सुवर्ण, गणेशमान र पछाडि सूर्यप्रसाद उपाध्याय र श्रीभद्र शर्मा, गिरिजाप्रसाद कोइरालालाई देखेपछि किसुनजीले गीता समातेर ‘समलोष्टास्मकाञ्चन’ माटाको डल्लो र सुनमा विभेद नठान्ने, जिते हस्तिनापुरको राज्य हारे स्वर्गको ढोका खुला हुने भनेर कृष्णले अर्जुनलाई सम्झाएका प्रसंगलाई उहाँले आत्मसात गर्नुभयो । न पराजयमा विषाद न विजयमा उल्लास कृष्णप्रसाद भट्टराईको स्वभाव । यो यही हो, ‘यत्नेकृते यदि नसिध्यति कोऽत्रदोषः’ भनेको । यही सन्तोकलाई हाम्रा पूर्वजले योग भनेका थिए । असन्तोकले तामस् बढ्छ । अतः त्यसलाई नियन्त्रणमा राखेर कर्ममा लाग्नु नै कर्मयोग हो ।

अब आफ्नै शिक्षापद्धतिको विकास आवश्यक भयो । धेरै रिस उठो भने उपवास बस्ने, तीर्थाटन गर्न हिँड्ने, आत्मशुद्धिका अनेकौं उपाय अवलम्बन गर्ने चेतनाको विकासका निमित्त । देउवा पनि लर्ड मेकाले र चार्वाक पद्धतिका, स्वर्णिम पनि मेकाले र चार्वाक पद्धतिका कारखानाबाट उत्पादित इस्पात । हिलो हिलाले धुइँदैन । आगामा आगै हालेर राप कम गर्न सकिँदैन । रिसले रिसलाई कम गर्न सक्दैन । सारा कार्यकर्ताले एकपटक यो ‘गिर्जालाई कारबाही गर किसुनजी’ भनेर राजेन्द्र खरेलका घरमा पार्टी अफिस भएका बेला झ्याल फुटाएर गिरिजाप्रसादको फोटो झिकेर जुत्ताको माला लाएर काठमाडौं नगर परिक्रमा गरेका थिए तमाम कांग्रेसीले ।

केही दिनपछि किसुनजीले गिरिजाबाबुलाई माफी दिएँ भनेपछि उहाँलाई घेरेर किन माफी दिएको ? भनेर सोद्धा कारबाही गर्न नसकेर भनेर दुनियाँलाई हँसाएर पठाउनुभएको थियो । त्यसबेला उहाँको विरोध गर्नेलाई पनि कुनै प्रकार इबी राखेनन् गिरिजाप्रसाद कोइरालाले पनि, त्यस घटनाका नायिकेलाई टिकट दिएर चुनाव जिताउन पनि उनी लागि परे । यी घटना देख्ने मेरा आँखा फुटेका छैनन् । आजका नेतामा यस प्रकारको सहिष्णुता बाँकी रहेको मैले कतै देखेको छैन । राज्य दलका नेताको घुरेनबारी बनेको छ । मिटरब्याजीका पीडा बोकेर किसान ११ दिन पैदल हिँडेर आएर जुन क्रन्दन राज्यलाई सुनाइरहेका छन् त्यसलाई देखेर कुनै नेतालाई आत्मग्लानि भएको देखिएन ।

आजका नेतामा करुणा र दया या आफ्ना कृत्यका प्रति पश्चाताप केही पनि देखिँदैन । उत्तरदायी ममतायुक्त नेताका लागि पौरस्त्य शिक्षाकेन्द्र खोलेर आफूलाई चाहिने मानवीय संशाधनको आफैंले उत्पादन गर्नुपर्छ । त्रिविले उत्पादन गरेका हामी मेकालेका रोबट बन्यौ ।

श्रीलंकाको, बर्माको र पाकिस्थानको बेथिति देख्दा पनि आजको राज्य सञ्चालक करुणाका मूर्तिका घुँडाबाट पनि आँसु चुहेको देखिँदैन किन ? किनभने न चार्वाकलाई थाह थियो करुणा न त मेकालेलाई यहाँका मूल्यमान्यता संस्कार संस्कृतिप्रति कुनै हमदर्दी नै थियो । यसै कारणले आजका नेतामा करुणा र दया या आफ्ना कृत्यका प्रति पश्चाताप केही पनि देखिँदैन । उत्तरदायी ममतायुक्त नेताका लागि पौरस्त्य शिक्षाकेन्द्र खोलेर आफूलाई चाहिने मानवीय संसाधनको आफैंले उत्पादन गर्नुपर्छ । त्रिविले उत्पादन गरेका हामी मेकालेका रोबट बन्यौ न हामीलाई देशको मतलब छ न त संस्कार संस्कृतिको हामी मान्छेलाई छलेर, मारेर, काटेर धनकमाउन र मोज गर्नमात्रै जान्ने बनेछौँ भन्ने चेतना खोल्न पनि त विवेक जाग्नै पर्ने रहेछ । यिनमा विवेक जाग्नेरहेनछ । यो चाहिँ पक्का भयो ।
आहार निद्रा भयमैथुनञ्च समानमेतत् पशुभिर्नराणाम् ।
धर्मोहि तेषामधिको विशेषो धर्मेणहीना पशुभिः समाना ।।
खानपान, निद्रा, डर, यौनभाव, मान्छे र पशुमा समान नै हुन्छन् । तिनको भन्दा मान्छेमा धेरै हुने भनेको धर्म या धारणा नै हो । त्यो नभएको मान्छे रोबोट र पशुमा के फरक हुन्छ र ? विवेकानन्दको कर्मयोग म पढ्दै थिएँ । मनका तृष्णलाई कम गदै गयो भने एक दिन ती ससमाप्त भएर मान्छे (ध्यानी) एषणाहीन भएर उसको शरीर हलुका हुन्छ । तृष्णका लेघ्रा सकिएर मान्छेको मन कञ्चन बन्छ । जसरी छिप्पिएको लौकामा रहेको भित्रको गुदी निकालेपछि त्यो ‘चिण्डो’ बन्छ र त्यसलाई पोखरीमा तैरन या नदी तर्नेकाममा सौविध्यपूर्वक उपयोग गर्न सकिन्छ । त्यसैगरी योगका माध्यमले यमनियमासनादि आठै कुरा पूरा गरेर प्राणायाम र धारणाको विकासपछिका समाधिले मान्छे पन्चचित्तवृत्तिविहीन बनेर हलुका हुन्छ ।

त्यो मान्छे मर्दाखेरि अंगुष्ठप्रमाणको आत्मसूर्यमार्गबाट हलुका किसिमले पृथ्वीको गुरुत्वाकर्षणलाई पनि नाघेर सूर्यका किरणमा मिसिएर महाप्रलय भएर यो ब्रहृमाण्ड नासिएपछि नयाँ ब्रहृमाण्ड सिर्जना हुँदामात्रै पुनः यस लोकमा ती आउँछन् । हामीले पनि जतिसक्दो लोभ, लाल्चा, आकर्षण, काम, मद, मात्सर्य आदि घटाउँदै लगेपछि लौकाको गुदी निकालेपछि लौकामा तैरने शक्ति विकास भएजस्तै भएर शंकराचार्यले भनेजस्तो ‘पुनरपि जननं पुनरपि मरणं पुनरपि जननी जठरे शयनम्’ को भवचक्रको जन्तु बन्नु पर्दैन । त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागमा पढाउने एकजना तारापद चौधरी भन्ने प्राध्यापक थिए ।
उनी बीपी हजारी बाग जेलमा भएका बेला एमए गरेर जागिरका खोजीमा थिए । पछि त्रिवि खोलेपछि बीपीले नेहरूजीलाई अनुरोध गरेपछि आएका पाँचजना प्राध्यापकसँगै आएका थिए । उनले पूरै तलब पनि लिएनन् । यसरी साधना गर्ने मन उत्पादन गर्ने शिक्षा पद्धति चाहियो । यसका निमित्त वशिष्ठ पढौं, विश्वामित्र पढौँ, वेद पढौंर शस्त्रास्त्र निर्माण विद्या, शहर निर्माणको वास्तुशास्त्र, मुहूर्तविज्ञानको ज्योतिष कानुनका लागि न्यायका अनेकौं प्रकारमा पाश्चात्येलीका पनि केही मिसाएर पढाउन सक्नुपर्दछ ।

आजको भौतिक विज्ञानभन्दा सूक्ष्मतहको विज्ञान अध्यात्म विज्ञान नै छ तर हामी भैंसी बनेर नजिकै हाम्रा पुर्खाले बजाएका बिनको मर्म नै बुझ्न छाड्यौं । अतः आजका हाम्रो देश चलाउनेले शोषण, अन्याय, अत्याचार, घूस, ठगी गरेर भए पनि पत्नीपुत्र कलत्रका सुखसुविधाका निमित्त सोझासिधा जनतालाई मार्छन मार्छन् किनभने तिनले शिक्षा नै भस्मासुरे पाएका छन् । डा.प्रकाशशरण महतको प्रोन्नति पनि यही सूत्रले गरेको छ । अस्ति एक दिन प्रा.देवीभक्त ढकालसँग मैले लौका प्रविधिको उदाहरण दिएको थिएँ । उनलाई र मलाई नजानेका कुरा जान्दिनभन्दा लाज हुँदैन । आफूले जानेको हामी अरूलाई सिकाउँछौं पनि ।

हामीले कामै पढ्ने, लेख्ने र पढाउने, लेखाउने सिक्ने सिकाउने रोजेका हुनाले हामी पहिलेदेखि नै गुदी कम भएका लौका बन्ने प्रयत्न गरौं भन्ने विषयमा पनि कुरा गरेका थियौं । अहिले योग सिकाउने अनेकौं योग गुरु भेटिन्छन् तर ती आफैं बालुवा भरिएको चिण्डाका रूपमा रहेका त छैनन् ? चिण्डामा बालुवा या पानी भरियो भने त्यो डुब्छ र त्यसमा आश्रितलाई पनि डुबाउँछ । कच्चा वैद्यको मात्रा यमपुरको यात्रा होला होस गरौँ । अहिलेका गठबन्धन गर्नेले राजनीतिमा स्वार्थ, अस्थिरता र मूल्यहीनताको जुन प्रकारको स्वरूप देखिन्छ त्यो भस्मासुरभन्दा कम छैन ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
भवराज़ कोइराला
भवराज़ कोइराला
2023-04-06 9:20 am

बालुवा भरिएका लौकाको चिन्डो, सत्य गुण बाहेक अरु गुण हरुमा विसाराद गरेका विद्वत बर्ग, राजनीतिमा रजगज को सिधान्त बोकेका तथा कथित समाजवादी भालू हरुलाई याे पुराण हो। तर,, अरुलाई सोच्न बाध्य बनाउने छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?