✍️ प्रवीणकुमार ढकाल
समाज रूपान्तरणका लागि आमनागरिकको जीवनयापन, वृद्धि विकास, मुलुकमा दिगो विकास जस्ता दर्जनौं मुद्दाहरूलाई लिएर बर्सौदेखि राज गरिरहेका पुराना राजनीतिक शक्तिहरूले कतै तिनै मुद्दाहरूलाई मजाक बनाएर देश विदेशमा छरिएर रहेका नेपाली नागरिकहरूको पसिना र राज्यको स्रोतलाई नै दोहन गरिरहेका त छैनन् । यसरी एकदमै ठूलो प्रश्नचिहृन खडा भइसकेको छ । यी र यस्तै दर्जनौं हिसाब मिलान, बाँडफाँट, पावरसयेरिङ, आन्तरिक सेटिङ, मोजमस्तीहरूमै ती नेतृत्वदायीहरूको दिनचर्या, भेटघाट शक्तिकेन्द्रहरूको चित्त बुझाउँदैमा सत्ताको समय अवधि टुंग्याउँदै मुलुक कमजोर बनाउँदै गएका निरन्तर दृश्यहरू आमनागरिकका सामु छर्लंगै रहेका छन् ।
मुलुकमा चरम बेथिति, आर्थिक संकट भ्रष्टाचार ब्यापत देखिएकाले समयमा उचित व्यवस्थापन र विधिको शासन स्थापति नहुने हो भने धनी झनै धनी र गरिब झनै गरिब भइरहने ठूलो दरार हुनसक्ने उत्तिकै सम्भावना रहेको छ । वर्तमान परिस्थितिमा विश्व बजारमा भएको आर्थिक मन्दीको उच्च गिरावटको असर नेपालमा मात्रै होइन विश्वभरका सार्वजनिक क्षेत्रमा गम्भीर रूपमा परिरहेको छ ।
मुद्रा स्थिरता, तरलता र छिमेकी मुलुकहरूमा भइरहेको बढ्दो विकासक्रमसँग र सञ्चार क्षेत्रसँग तुलनात्मक रूपमा केही सीमित आशा पलाए पनि दीर्घकालीन योजना नहुँदा, व्यवस्थापन फितलो हुँदा राज्यद्वारा उत्पादन क्षेत्र, उद्योग, कलकारखाना, बढ्दो बेरोजगारी, विदेशिने जनशक्तिलाई उचित तालिम प्रदान गरी व्यवस्थापन नभइदिँदा, बदलिँदो सूचना प्रविधिसँग व्यवस्थित गरी कानुन र विधिसंवत् तरिकाले जबसम्म सरकारले गम्भीरताका साथ योजनाबद्ध रूपमा तदारुकता देखाउँदैन, त्यति बेलासम्म मुलकको प्रगति र उन्नतिमा दीर्घकालीन असर पर्दै जानेछ । मुलुकको वर्तमान र भविष्य भनेको सरकारको इमानदार व्यवस्थापन, संविधान विधिसम्मत राज्यका निकाय, ब्युरोक्रेसीहरू स्वतन्त्र रूपमा चलायमान गरी भ्रष्टाचारमुक्त समाजको रूपान्तरणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रशासनिक निकायलाई बलियो बनाई मुलुक निर्माणमा गम्भीर भएर लाग्नु अपरिहार्यता हो । आमनागरिकको अनुभूति हुनेगरी कुनै पनि काम गर्ने/नगराउने हो भने त्यही प्रतिनिधिलाई राज्यद्वारा नै कारबाही निश्चित गरी कठोर विधिको निर्माण गरिनुपर्छ ।
सम्बन्धित क्षेत्रको ज्ञान भएका पढेर वा अनुभव प्राप्त भएर सम्बन्धित विभागको प्रतिनिधि भएर काम गरेकाहरूले जिम्मेवारी सम्हाल्नुपर्छ । अनि मात्र देश विकासमा दीर्घकालीन टेवा पुग्न सक्छ । पुराना राजनीतिक दलहरूले के गरे गरेनन् सो विवरण आमनागरिक सामु छर्लंगै छ ।
कसले के गर्यो वा गरेन भनेर बहसमा धेरै समय अल्मलिनुभन्दा पनि हामीले के गर्ने र के गर्न सकिन्छ भनेर योजना मुताबिक काम गर्नुपर्ने हुन्छ । पुराना राजनीतिक दलहरू नागरिकहरूको बीचमा कमजोर बन्दै जानु यसको प्रमुख कारण पुराना दलहरूप्रति जनताको गम्भीर वितृष्णा सिर्जना हुनु र आशा भरोसा र विश्वास टुट्दै जानु हो । यहीबीचमा नयाँ राजनीतिक दलहरूले देशमा जकडिएको बेथिति, भ्रष्टाचार, विसंगतिको खाडल पुर्दै समय परिस्थिति बमोजिमका आशाका किरणहरू छर्ने प्रयत्न गरेको देखिएको छ । सिर्जनशील, आध्ययनशील सम्बन्धित विधाका विज्ञ र अनुभवी जनशक्तिलाई भरपुर उपयोग गरी मुलक निर्माण गर्नेकै लागि स्पष्ट खाकासहित प्रस्तुत हुनुले नयाँ राजनीतिक दलप्रति जनताको बढ्दो आकर्षण देखिएको छ । जनता विकास निर्माण, आर्थिक उन्नति प्रगतिका लागि देशमै युवाजनशक्तिको उपयोग गरेर सुरक्षित जीवनयापनका लागि आफ्नो देश छोड्नु नपरोस् भन्ने कामना गरिरहेको वर्तमान अवस्थामा र तिनै पुराना राजनीतिक दलहरूलाई केवल जनताले यतिका धेरै वर्षबीच कसैलाई सांसद, कसैलाई अध्यक्ष, मेयर, मन्त्री, कसैलाई प्रधानमन्त्री, राष्ट्रपति बनाउनु सिवाय हामी नागरिकको जीवनशैलीमा, समाजको आमूल परिवर्तनमा र देश विकासमा केही गर्ने सकिएको छैन ।
त्यसकारण पछिल्लो चरणमा विभिन्न पृष्ठभूमि भएका कुनै सञ्चार क्षेत्र, समाजिक क्षेत्र, प्राबिधिक क्षेत्र, डाक्टर–इन्जिनियर र आआफ्ना पेशा व्यवसायलाई बिसाएर यो देशमा आमूल परिर्वतनकै लागि इमानदारीता र नैतिकताका साथ देश विदेशबाट होमिएका प्रतिनिधिहरूबाट मात्र मुलक निर्माणमा द्रुत गतिमा अगाडि बढ्न सकिन्छ भनेर नेपालको राजनीतिक आकाशमा आशाका केही नयाँ किरण उदाएका छन् । जनताको धैर्यको सीमा टुटिसकेको छ ।
अब मतदान होइन मत लगानी गर्न जनमत प्रदान गरी भ्रष्टाचार पूर्णरूपमा निमिट्यान्न पार्न लागि पर्नुपर्ने समय आएको छ । मुलुक निर्माणका लागि उत्कृष्ट दललाई बहुमत दिएर एक युगान्तकारी ऐतिहासिक परिवर्तन नै अबको अन्तिम, उत्कृष्ट र भरपर्दो विकल्प हुनजान्छ । विगत र वर्तमान समयको परिवर्तित दोसाँधमा नेपाली जनता राणा शासन, पञ्चायत काल, बहुदल, प्रजातन्त्र हुँदै २०४६ सालको जनआन्दोलनपछि २०६२/०६३ पछिको पुनःआन्दोलनपश्चात प्राप्त लोकतान्त्रिक अभ्यासअन्तर्गत मुलुकमा फरक राजनीतिक गतिविधि चाहिरहेका छन्, जबकि २०५२ सालपछि देश चरम द्वन्द्वमा पुगी करिब १७ हजार मानिसहरूको बलिदान, कैयौं घाइते र कैयौं अंगभंग, कैयौं परिवार विस्थापित र द्वन्द्वको प्रत्यक्ष अप्रत्यक्ष गम्भीर प्रभाव परेको थियो फलस्वरूप द्वन्द्वकालीन १० वर्षको अवधिमा आमनागरिक र देशले ठूलो क्षति व्यहोर्नु परिरहेको थियो ।
जुन उद्देश्य बोकेर तत्कालीन राजनीतिक पार्टी र नेताहरू बाचा र प्रतिबद्धताका साथ संविधान निर्माणदेखि देश निर्माणसम्म अभूतपूर्व फड्को मार्ने, यो देश नेपाललाई सिंगापुर, स्वीजरल्याण्ड बनाउने भनेर आमनागरिक र अन्तर्राष्ट्रिय समुदाय समक्ष बाचा गरेर हिँडेका थिए आज तिनीहरू बारम्बार सत्ता र शक्तिमा आसीन भइरहँदा पनि आफू बदलिने, ऐसआराम गर्ने, देश विदेश घुम्ने, मन्त्री, प्रधानमन्त्री बन्ने बनाउने, कर्मचारीतन्त्र, जातीय द्वेष फैलाउने र विभिन्न संगठनको नाममा राज्यको सम्पत्ति दोहन गर्ने सिवाय यिनीहरूले केही गर्न सकेनन् ।
राजनीतिक दलहरूलाई आमनागरिकका तर्फबाट हार्दिकताका साथ उच्चस्तर प्रदान गरियो, यो उहाँहरूका लागि पर्याप्त भएको छ । अब उहाँहरूले आराम गर्नुपर्छ । उहाँहरूबाट यस्तो बाचा गरिनुपर्छ र भरोसा भएका नयाँ पुस्तालाई मुलुक निर्माणमाको गहन अवसर प्रदान गर्नुपर्दछ ।
यी प्रमुख दलहरूले जनतालाई पटकपटक झुक्याए तर अब जनता सचेत भइसकेका छन् । यसो भन्दै गर्दा विगतका प्रजातान्त्रिक अभ्यासभन्दा यो लोकतान्त्रिक अवस्था अत्यन्तै उत्कृष्ट रहे पनि सोहीअनुरूप यो देशलाई १० वर्षमा सिंगापुर बनाउँछु भन्नेहरूले कमसेकम २०आंै वर्ष पुगिसक्दा पनि नेपाललाई सुधारिएको नेपालसमेत बनाउन सकेका छैनन् जुन दुर्भाग्यपूर्ण रहँदै आएको छ । बाराम्बार नेपाली जनतामाथि भएको निरन्तर बेइमानी एउटा पूरै पुस्ता र आउँदै गरेका धेरै पुस्ताहरूको भविष्यमाथि गम्भीर खेलबाड हो । बेथिति, महँगी चरम उत्कर्षमा पुगिरहँदा, हजारौं मानिस दिनानुदिन शिक्षा वा रोजगरीको नाममा घरपरिवार छोडेर विदेश पलायन हुनुपर्ने बाध्यात्मक परिस्थितिको निर्माण भएको छ ।
अर्कातिर देशमै केही गर्छु भन्ने मानिसहरूका लागि यहाँको प्रशासनिक झन्झट, आवश्यक आधारभूत कुराको अभाव, चरम महँगी, काम गर्ने वातवरणको असहजतालगायत दर्जनौं समस्या झेलेर बस्नुपरिरहेको छ । नागरिकबाट उठेको करको उचित व्यवस्थापन नागरिक वा सम्बन्धित क्षेत्रलाई दीर्घकालीन राहतको अवधारण र देशमै काम गर्ने सुरक्षित वातावरण सिर्जना गर्ने नसक्ने सरकारसँग के अपेक्षा गर्ने ? अब भावी पुस्ता यथास्थितिमा हिँड्न सक्दैन भन्ने कुरा पुष्टि भइसकेको छ । विश्व वातावरण डिजिटल प्रविधिमा अगाडि बढिरहेको छ । यस परिप्रेक्षमा हाम्रा पुराना, पुस्ताका बा, हजुरबाहरूको मनोविज्ञानले बनाएको बाटोमा हिँड्न त सकिएला तर नयाँ प्रविधिसँग भिड्न सकिँदैन ।
यसको अर्थ सबै राजनीतिक दलहरूलाई आमनागरिकका तर्फबाट हार्दिकताका साथ उच्चस्तर प्रदान गरियो अब उहाँहरूका लागि पर्याप्त भएको छ । अब उहाँहरूले आराम गर्नुपर्छ । उहाँहरूबाट यस्तो बाचा गरिनुपर्छ र भरोसा भएका नयाँ पुस्ताका उदयमान नेता र राजनीतिक शक्तिहरूलाई अब एकपटक आमनागरिकको तर्फबाट इमानदार जनमत प्रदान गरी मुलुक निर्माणमाको गहन अवसर प्रदान गर्नुपर्दछ । जुन अबको आवश्यकता र अपरिहार्यता समेत हो । यसो गरिएन र भएन भने पुस्तौंपुस्ताको भविष्यमाथि गम्भीर प्रश्नचिहृन खडा हुनजान्छ ।
जनताका जनजीविकाको मुद्दाहरूलाई उचित र सम्मानजनक सम्बोधनसहित देशको अगाध माया गर्ने बौद्धिक वर्गलाई गोलबद्ध गरी नयाँ शिराबाट शान्तिपूर्ण क्रान्ति गरेर संविधानको फ्रेमवर्कभित्र रहेर उत्साहजनक सहभागिताका साथमा अन्तरआत्मादेखि इमानदार नैतिकताका साथ मनमस्तिष्क लगाएर जनताको चरम निराशालाई शक्तिमा बदल्दै आमूल परिवर्तन गर्नु अहिलेको आवश्यकता र अपरिहार्यता हो । (ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी, काभ्रे जिल्ला संयोजक हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच