गन्धर्व समुदायका युवाहरू सारङ्गी बजाउने पेशाबाट पलायन

फाइल फोटो

हिमालय टाइम्स
Read Time = 13 mins

-कृष्ण तिमल्सिना

काठमाडौं । ‘जहाँ शब्दले काम गर्दैन, त्यहाँ सङ्गीत बोल्छ’ किनकी, सङ्गीत मौनताको आवाज हो। आवाजविहीनहरूको भाषा हो। त्यसैले यो सर्वप्रिय छ– सर्वस्वीकार्य छ। तर यही आवाज विहीनहरूको आवाज‘।। नेपाली संस्कृतिको महत्व र वीरताको गाथा‘। तर त्यही सारङ्गीको धुन अहिले मधुरो बन्दै गएको छ। सल्यानको खलंगा बजार नजिकको सङ्गीत टोल, आधुनिकीकरण र व्यवसायिकरणको चपेटामा परेको छ। त्यसैले सङ्गीत टोल मौन छ।

भनिन्छ सङ्गीत जीवनको रङ्ग हो, सङ्गीत धेरैको सपना हो, अनि सपना त्यो हो, जसले सुत्न दिँदैन। त्यही सपनाले सँधै जागा राख्छ। अर्थात सङ्गीतले जीवनमा रङ्ग भर्छ। सङ्गीतले रंगिएको जीवन र सङ्गीतले भरिएको सपनामा हुर्किएको सल्यानको खलंगा बजार नजिकको सङ्गीत टोल गन्धर्व समुदायको हो। जसको पेसा र संस्कृति सारङ्गीसँग मात्रै जोडिएको छ। सारङ्गी बजाउनु र आफ्नो संस्कृतिको संरक्षणमा लाग्नु यो समुदायको धर्म हो। किनकी सारङ्गी हाम्रो लोकबाजा हो– सारङ्गी हाम्रो लोक भाखा हो। त्यसैले सारङ्गीवादक हाम्रो लोक संस्कृतिको इज्जत हुन्। तर यही सारङ्गीको लोकप्रियता अहिले विस्तारै भित्रिँदो आधुनिकताको आडमा एउटा पुस्तालाई मित्थ्या लाग्न थालेको छ। गन्धर्व समुदायको बसोबास भएको सल्यानको खलंगा बजार नजिकको सङ्गीत टोलले, अचेल सङ्गीतको कथा गुनगुनाउन छाडेको छ।

पेसाको सम्मान भएन। आधुनिक समाजले परम्परागत सांस्कृतिक मौलिकता बुझेन। बाजा र भाखा संरक्षणमा कसैले चासो देखाएन। सारङ्गी बजाएर बम्बई–गोरखपुर अथवा कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको खबर प्रवाह गर्दै गाउँ बस्ती चाहर्ने गन्धर्वहरू जातीय छुवाछुतको शिकार भई रहे। त्यसैले त अचेल –सारङ्गीका तारहरू बज्नै छाडेका छन्। गन्धर्वहरूले हरियो पासपोर्ट बोकेर गएका युवा काठको बाकसमा फर्किएको खबर सुनाउन छाडेका छन्। सङ्गीत टोल मै सारङ्गी रेट्ने गन्धर्वहरू भेटिन छाडेका छन्।

शारदा नगरपालिका मै बस्ने निर्मला गन्धर्वको पनि पीडा उस्तै छ। जनता आवास मार्फत निर्माण भएको घरमा बसेका छौं, तर जग्गा जमिनको नाममा एक टुक्रा पनि छैन्। बस्नलाई घर मात्रै छ, तर खुर्सानीको बोट रोप्ने ठाउँ समेत छैन, उहाँले दुखेसो पोख्नुभयो, जग्गा जमिन नहुदाँ जीवन निर्वाहको लागि अरुको भर पर्नु पर्ने बाध्यता छ। त्यसैले छोरा छोरीले गाउँ छाडिसकेका छन्।

यो सङ्गीत टोल त्यही गाउँ हो, जहाँका गन्धर्वहरू दुःख र पीडालाई आफ्ना शब्द र सुन्दर सङ्गीतमा ढालेर सारङ्गी रेट्दै गाउँघर चहार्दै हिँड्थे। तर अचेल उनीहरू रैथाने बाजा सारङ्गीको तार जस्तै टुटेका छन्। गीतसङ्गीत सुनाउँदै घुम्ने आफ्नै इतिहास, सारङ्गीबाट अलग्गिएका छन्। इतिहास र घटनाक्रम गाउन नसक्ने भएका छन्। जिविकोपार्जन कै खातिर यो समुदायले पुर्ख्यौली पेशाको रोमाञ्चक भारी विस्तारै बिसाउन थालेको छ। दिनभरी काम गरेर साँझ चुलो जोड्ने धुनमा दैनिकी बदलिएको छ।

सुखका दिन कहिल्यै आएनन् तर दुखको फेहरिस्त कहिल्यै बदलिएन। दुःख पनि यसरी थोपरियो की, सारङ्गी नै लोप हुन थाल्यो। कलिलो हृदयमा सारङ्गीको झंकार गुञ्जिएको अनि त्यही बेलादेखि यसैमा रत्तिएका अग्रजहरू अहिले यो कर्म थामी खान नसक्ने उमेरमा पुगेका छन्। त्यसैले खलङ्गाको सङ्गीत गाउँ अचेल बेसङ्गीत बन्न पुगेको छ।

सल्यानको शारदा नगरपालिका ३ सङ्गीत टोलका बिशुराम गन्धर्वको नाममा जग्गा छैन्। जनता आवास कार्यक्रम मार्फत सरकारले केही वर्ष पहिले बस्नलाई एउटा घर बनाइदिए पनि अहिले सम्म एक टुक्रा जग्गा छैन्। पुस्तौं देखी सङ्गीत टोलमा बस्दै आएपनि जग्गा जमिन नहुदाँ समस्या भएको बिशुराम गन्धर्वको भनाई छ।

सङ्गीत टोलको गौरव गाथा बिस्तारै दन्त्य कथा बन्न थालेकोमा हरि गन्धर्वलाई पनि चिन्ता लागेको छ। किनकी यो सङ्गीत गाउँमा अचेल सारङ्गी भेट्टाउनै मुस्किल पर्छ। हरि भन्छन्, गाउँमा सारङ्गी नै बन्न छाडेको छ, सारङ्गी भेट्टाइए पनि बजाउने मान्छेको अभाव छ। अहिलेको पुस्ताले न लस्के भाखा बुझ्छ, न चाँचरी, मालश्री, मंगला अथवा धनसिरा र असारे भाखा नै जानेको छ। सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा नै एकाएक यो गाउँबाट विस्थापित भएको छ।

सङ्गीत टोल कै अनिता गन्धर्वसँग पनि एक टुक्रा जमिन छैन्। बस्नको लागी एउटा घर छ तर खोर्सानी रोप्ने ठाउँसम्म छैन, उहाँको भनाई छ, सङ्गीत टोलका १४ परिवारलाई जनता आवास मार्फत सरकारले घर बनाई दिएको छ तर ५ परिवारको बस्ने आवास नै छैन्। बस्ने घर र गरिखाने जमिन नभएपछि पछिल्लो पुस्ता पलायन भएको छ। सारंङ्गीको धुन बिर्सिन थालेको छ। छोरा र नातिहरूले घर छाडेपछि १८ घर गन्धर्व समुदायको बसोबास रहेको सङ्गीत टोल मै खबरमूलक मर्मस्पर्शी हृदय विदारक गीत गुञ्जन छाडेको छ।

ह्रि गन्र्धव भन्छन्– सारङ्गीको धुनमा हरेक घटनालाई कलात्मक ढंगले प्रस्तुत गर्दा चौफेरामा बस्नेको आँखा रसाउंथे। गीत सङ्गीतका माध्यमबाट समाचार बाँड्दै हिँड्दा नागरिकले ठूलो श्रद्धा गर्थे– अचेल गन्धर्वका सारङ्गी हाम्रै गाउँमा गुञ्जन छाडेको छ। मुश्किलले १÷२ जनाले मात्रै सारङ्गी बजाउछन्, त्यो पनि कहिले काहीँ। हामी साँझको समयमा सङ्गीत टोल पुग्दा गाउँमा हरी गन्धर्व भेटिए। थोरै आफनो सुमदायको पिडा, अनि आफैं भित्र उकुस मुकुस भएका धेरै आफ्नै पिडा– हरीले सुनाउन थाले। हामीले सङ्गीत टोलको समास्याका बारेमा जान्न चाहयौं। गन्धर्व जातीको सारङ्गी बजाउने पेशा किन विस्थापीत भयो रु यो हाम्रो कौतुहलता थियो। तर हरिले हामीलाई नै यो प्रश्न गरे। सारङ्गी बजाउने पेशा किन विस्थापीत भयो ?

कला संस्कृतिको धनी देशमा मौलिक संस्कृति लोप हुनु राम्रो होइन, गन्धर्वहरू भन्छन्–यसको संरक्षण र संवद्र्धनमा सबैले ध्यान दिनुपर्छ। अहिले गाउँ–गाउँमा खबर सुनाउँदै हिँड्ने गन्धर्वको अभाव खड्किरहेको छ। पुर्खेली जातीय पेशा संकटमा परेको छ। युवा वर्गमा जन्मिएको जातीय पेशाप्रतिको हिनताबोध मेटाउनु पर्छ। दुःख– पिरका गीत गाउँदै हिड्ने गाइने दाईहरूलाई गन्धर्व पेशामा जोड्नुपर्छ।

हिजोआज सारङ्गी बजाउनेहरू यो सङ्गीत गाउँ मै भेटिदैनन्। यसको अर्थः सारङ्गी बजाउने श्रृजनशील पुस्ता नै हराएको छ। युवाहरूले सारङ्गी बजाउने पेशा अंगाल्नै छाडेका छन्। गाउँगाउँ डुलेर सारङ्गीको तालमा विरहको गीत गाउनेहरू भेट्टाउनै छाडेको छ। सङ्गीत गाउँकै युवा– विरही भाखामा वियोगान्त माहोल श्रृजना गरेर पैसा–अन्न अनि प्रशंसा बटुल्ने गन्धर्व पेशाबाट पालिन छाडेका छन्। तिथि मिति सहित दुःखको सन्देश सुनाउने सारङ्गी जिवीहरूले विरहको गीत गाउन छाडेपछि, केहि गाउँघरमा सामान्य खेतीपातीमा भिजेका छन् त धेरै जिविकामुखी बैकल्पीक पेशामा जोडीएका छन्। किनकी, जनता आवास कार्यक्रम मार्फत सरकारले यो गाउँमा बनाईदिएको एउटा घर बाहेक सङ्गीत टोलका प्रत्येक मान्छेसँग टाउको लुकाउने बास बाहेक– एक ढिंडी खुर्सानी फलाउने जमिन छैन।

न घर न जमिन, न पेशा न व्यापार– सारङ्गीसँगै जीवन खोज्ने मन हुँदा हुँदै पनी धेरै गाईने दाईहरू खाडी भासिएका छन्। त्यसैले, सारङ्गी बजाउने मात्र हैन अहिले सारङ्गी बनाउने पुस्ता कै अभाव छ। सातै सुरको नियम लागू हुने सारङ्गीको तार बाख्राको आन्द्राबाट बन्छ। बजाउने भाग घोडाको पुच्छर बाट तयार पार्नुपर्छ। तर अचेल गाउँतिर खिर्रोको रुख सम्म पाईन छाडेको छ। तार र अरु नै काठबाट बनेका आधुनिक सारङ्गीले मौलिक धुन दिनै सकेको छैन। त्यै पनि कसले बनाउने ?

सङ्गीत टोलमा भेटीएका टोप बहादुर गन्धर्वले ठट्टै ठट्टामा अनुभव सुनाए– हामी उहिलेका पत्रकार, उतिबेला तपाईंहरू जस्तै गीतबाट गाउँलेलाई सूचना दिन्थ्यौं। अहिले गन्धर्वहरू लोप भएका त छैनन् तर संस्कृति हराउँदै गएको छ। गाउँघरमा गीत गाउँदै हिंड्ने चलन हराएको छ। युवाहरू एकैपटक धेरै पैसा कमाउने रहरले हैन– आफ्नै नाभी गाडीएको बाऊ बाजेले सारङ्गी रेटेर ख्याती कमाएको यही सङ्गीत गाउँमा छानो र मानोको जोहो गर्न, युवाहरू विदेशिन थालेका छन्।

जमिन नभएका कारणले जीवन निर्वाहका लागी अरुकै भर पर्नुपर्ने बाध्यता छ। यो सङ्गीत टोलको मात्र समस्या हैन। सल्यानमा यस्ता सयौँ परिवार घर विहिन छन्। हजारौं परिवारसँग जग्गा जमिन छ, तर लालपुर्जा छैन। यो अबस्थामा जीवन गुजारा कसरी चल्छ रु सङ्गीत टोलका जस्तै अधिकांश पिडित परिवारको एउटै गुनासो छ– बर्षौंदेखि न गाँस न बास न कपासको अवस्थामा छट्पटाएर बाँच्दा पनि सरकारले किन हेर्दैन रु यही प्रश्न र पीडा कै कारण, गन्धर्व समुदायका युवाहरू सारङ्गी बजाउने पेशाबाट पलायन भएका हुन्। यो हाम्रो मौलीकताको पलायन हो। यो हाम्रो सांस्कृतिक धुनको अवसान पनि हो।

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?