विपद्‌का कारण चार हजारभन्दा बढी परिवार विस्थापित

हिमालय टाइम्स
Read Time = 6 mins

दाङ । दाङमा पछिल्लो एक वर्षमा विपद्जन्य घटनाका कारण चार हजार दुई सय ३७ परिवार विस्थापित भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार गत वैशाखदेखि चैत २३ गतेसम्म विभिन्न विपद्जन्य घटनाका कारण ठूलो क्षति भएको छ ।

जिल्ला आपत्‌कालीन कार्यसञ्चालन केन्द्र दाङका अनुसार आगलागी, हावाहुरी, बाढी, पहिरो, भारी वर्षा, पानीमा डुबेर, पानीले बगाएर, चट्याङआदिले आठ सयभन्दा बढी विपद्जन्य घटना घटेका छन् ।

“जिल्लामा विपद्का घटना सकेसम्म न्यूनीकरणको प्रयास भइरहेको छ, यसका लागि सबै पालिकामा भइरहेका प्रयासबारेमा जानकारी लिने र थप तयारीमा जुट्न अपिल गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी वैद्यले भन्नुभयो, “जिल्लाको भूगोल ठूलो छ, गाउँपालिकाले अपेक्षाकृत तयारी कम गरेको पाइएको छ, त्यसका लागि सचेत गराउने काम भएको छ ।”

उहाँले जिल्लामा कुनै पनि दुर्घटना न्यूनिकरणका लागि सरोकारवालासँग समन्वय गरी पूर्वतयारीका कार्यक्रम, सचेतनामूलक अभियान पनि चलाउँदै आएको बताउनुभयो । “हाल पालिकामा काम कसरी भइरहेको छ भनेर जानकारी लिइरहेका छौँ, प्रयास राम्रो भए निरन्तरता दिन भनेका छौँ”, उहाँले भन्नुभयो, “अपेक्षाअनुसार उपलब्धि नभए कारण पहिचान गर्दै गम्भीरतापूर्वक लाग्न लगाएका छौँ ।”

जिल्लाको उपमहानगरपालिका, नगरपालिकाले विपद्जन्य घटना न्यूनीकरणका लागि पूर्वतयारी गरे पनि गाउँपालिकास्तरमा तयारी कमजोर देखिएको प्रमुख जिल्ला अधिकारी वैद्यको भनाइ छ ।

“पालिकास्तरमा सरोकारवालासँग समन्वय गरेर विपद पूर्वतयारी गर्न भन्दै आएका छौँ, केही ठाउँमा भएको पनि छ तर, उपमहानगरपालिका र गाउँपालिकास्तरमा विपद् पूर्वतयारी फितलो भएको पाइएको छ”, उहाँले भन्नुभयो ।

दाङमा हालसम्म भारी वर्षा र आगलागीका कारण क्षति भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका होमलाल न्यौपानेले जानकारी दिनुभयो । विपद्का कारण करोडौँको भौतिक तथा आर्थिक क्षति पनि भएको छ । विपद्मा परेर थुप्रै परिवार विस्थापित भएका छन् ।

उहाँका अनुसार गत वैशाखदेखि चैत २३ सम्म आगलागीका ५८ वटा घटना भएका छन् । वैशाखमा १९ वटा, जेठमा तीन, साउनमा तीन, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र चैतमा तीनवटा आगलागीमा सयौँ परिवार विस्थापित भएका छन् । आगलागीका कारण मानवीय क्षति भने भएको छैन ।

भारी वर्षाका कारण असारमा चार, साउनमा तीन, भदौमा ३८, असोजमा तीन सय ८६, कात्तिकमा पाँचवटा घटना भएका छन् । बाढीपहिराका तीन सय सातवटा घटना भएका छन् । जिल्लामा हालसम्म चट्याङका छवटा घटना भएका छन् ।

जिल्लामा सर्पदंशका तीनवटा घटना तथा भूकम्पका दुईवटा घटना भएका छन् । करेन्ट लागेका छवटा घटना भएका छन् भने पानीमा डुबेर तथा बगाएर १२ वटा घटना भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा एक वर्षको अवधिमा विभिन्न प्रकृतिका विपद्जन्य घटनाका कारण करिब १९ करोड ५० लाख ५८ हजार बराबरको आर्थिक क्षति भएको छ ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गर्मी मौसम सुरु भएको हुँदा आगलागीका घटना हुने सम्भावनालाई मध्यनजर गर्दै जोखिमबाट बच्न, बचाउन तथा नियन्त्रणका लागि पूर्वतयारीस्वरुप पालिकास्तरमा विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ ।

विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतमा बिहीबार बसेको पालिका स्रोतका फोकल पर्सनबीचको बैठकले पालिकाका सबै वडा क्षेत्रमा आगलागी तथा वन डढेलोका घटना भएमा तत्कालै स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा सूचना दिई नजिकका सुरक्षा निकायसँग समन्वय गरी नियन्त्रण गर्ने निर्णय गरेको छ ।

बैठकले पालिकामा रहेका दमकल साथै अग्नि नियन्त्रणका सामग्री तयारी अवस्थामा राख्ने र उद्धारमा प्रयोग हुने सामग्रीको अभिलेख अद्यावधिक गरी जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा पठाउने निर्णय गरेको छ । गर्मी मौसम सुरु भएसँगै केही दिनयता जिल्लामा आगलागीका जोखिम बढेको छ ।

जिल्लाको पश्चिम दाङ, देउखुरी क्षेत्रका सामुदायिक वन तथा सार्वजनिकस्थलमा आगलागीका घटना भइरहेका छन् । वन डढेलो नियन्त्रण तथा रोकथामका लागि डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय, सामुदायिक वन समूहलगायतको सक्रियता छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?