सेवा बिस्तार गर्दै आँखा अस्पताल, स्थानीय तहसँग सहकार्य गर्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल आँखा अस्पतालले देशभर सेवा विस्तार गर्न स्थानीय तहको सरकारसँग सहकार्य गर्ने भएको छ । देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि स्थानीय तहसँगको सहकार्य जरुरी भएको अस्पतालको भनाइ छ ।

अस्पताल स्थापनाको स्वर्ण महोत्सव शुभारम्भको अवसरमा यहाँ आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्पतालको उद्देश्य आँखा उपचारमा सबैको सहज पहुँचमा पु¥याउनु रहेको बताउनुभयो । “आँखा उपचारमा सबैको पहुँचमा आवश्यक छ, विशेष गरी दुर्गम र सुविधाविहीन क्षेत्रमा उच्च गुणस्तरको उपचार सेवा उपलब्ध गराउन स्थानीय तह र सरकारसँग समन्वय गरी काम गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो ।

विसं २०३० चैत २६ मा त्रिपुरेश्वरमा स्थापना भएको नेपाल आँखा अस्पतालले आइतबार स्थापनाको स्वर्ण महोत्सव मनाउँदैछ । अस्पतालले हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको छ भने एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरेको छ ।

हाल १४ नेत्र विशेषज्ञ रहेको अस्पतालमा कर्निया, मोतिविन्दु, जलविन्दु, रेटिना, अकुलोप्लाष्टी एवं बाल आँखा उपचारलगायतका सेवा उपलब्ध छन् । हाल अस्पतालबाट दैनिक सात सय बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् । अस्पतालले विभिन्न समयमा विद्यार्थीका लागि निःशुल्क आँखा परीक्षणका साथै चस्मा वितरण गर्दै आएको अध्यक्ष पोखरेलको भनाइ छ ।

उहाँका अनुसार काठमाडौँको त्रिपुरेश्वरस्थित अस्पतालसहित अन्य छ शाखाबाट विभिन्न ठाउँमा सेवा उपलब्ध गराइरहेको छ । आगामी दिनमा सेवा विस्तार गर्ने बारे योजना बनाइरहेको उहाँले जानकारी दिनुभयो ।

अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत एमडी, अप्टोमेट्री र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत नेत्र सहायक तालिम दिँदै आएको छ ।

“सेवा उपलब्ध गराउन एवम् जनशक्ति उत्पादनका लागि भौतिक पूर्वाधार अभाव छ । सेवा विस्तारका लागि छिट्टै नै थप भवन तथा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ”, अध्यक्ष पोखरेलले भन्नुभयो । उहाँका अनुसार अस्पतालले सरकारबाट सञ्चालनका लागि पुँजीगत अनुदान प्राप्त गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?