पाल्पामा पशु चौपायामा देखियाे ‘लम्पी स्किन’ को प्रकोप

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 8 mins

पाल्पा । पाल्पाका किसानहरूले पालेका पशु चौपायामा ‘लुम्पी स्किन डिजिज भाइरल’ रोगको प्रकोप फैलिएको छ । जिल्लाको माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र निस्दी गाउँपालिकाका अधिकांश ठाउँमा किसानले पालेका पशु चौपायामा लम्पी स्कीन रोगको प्रकोप देखिएको हो । जिल्लाको तानसेन नगरपालिका, तिनाउ गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा भने फाट्टफुट्ट रूपमा मात्रै लम्पी स्कीन रोगको प्रकोप देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ ।

सुरूमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोग पछिल्लो केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो । पहिलो पटक जिल्लाको माथागढीमा किसानले पालेका गाईगोरुमा लक्षण देखापरेपछि परीक्षण गर्दा ‘लम्पी स्किन’ संक्रमण पुष्टि भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका सूचना अधिकारी तथा पशु चिकित्सक डा.नवीन बस्यालले बताउनुुभयो । ‘चैतको पहिलो हप्ता माथागढी गाउँपालिका–५ गोठादीका किसानले पालेका केही गाई गोरुमा यसका लक्षण देखा पर्यो र चैत १० गते परीक्षण गर्दा यो रोग भएको प्रमाणित भयो,’ उहाँले भन्नुुभयो । यहाँका गाईगोरु धमाधम विरामी हुन थालेपछि पशु सेवा विज्ञ केन्द्रले पोखरा पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गाईगोरुको रगत र घाउको स्याम्पल पठाएको थियो । तर त्यहाँबाट पनि थप परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाएकोमा ‘लम्पी स्किन’ संक्रमण पुष्टि भएको पशुचिकत्सक डा.बस्यालले बताउनुुभयो । उहाँका अनुसार माथागढीका १ सय २९ पशुचौपायको उपचार गरिएको छ । उपचारपछि धेरै गाई गोरु निको भएको र ६ वटा गोरु मरेको डा.बस्यालले बताउनुुभयो । अहिले यहाँ ९० प्रतिशत रोग नियन्त्रणमा आएको छ ।

माथागढीमा रोग नियन्त्रणमा आए पनि जिल्लाका बगनासकाली, निस्दी र रिब्दीकोट गाउँपालिकामा भने फैलिएको छ । यी पालिकामा करिब ४ सय पशुचौपायामा संक्रमण देखिएको छ । हालसम्म माथागढीमा १ सय ५०, निस्दीमा १ सय ५०, रिब्दीकोटमा ५० र बगनासकाली गाउँपालिकामा ५० गाईगोरुमा संक्रमण देखिएको पशुु केन्द्रका डा.बस्यालले जानकारी दिनुुभयो । ‘यी चार पालिकामा यो रोग देखापरेको छ, दैनिक १५ देखि २० पशुमा देखिएको खबर आउने गरेको छ,’ उहाँले भन्नुुभयो । विशेष गरी गाई, गोरुमा यो रोग देखापरेको छ । तानसेनको दमकडा र तिनाउको कचल र सत्यवतीमा पनि गाईगोरु विरामी भएको भन्ने जानकारी आएको पशुचिकत्सक डा.बस्यालले बताउनुुभयो । उहाँका अनुसार जिल्लामा हालसम्म ९ वटा पशु मरेका छन् । माथागढीमा ६ र रिब्दीकोटमा ३ वटा पशुचौपाया मरेका हुन् । सुरुमा किसानले थाहा नपाएर संक्रमण फैलिएको बताइएको छ । विज्ञ केन्द्रका अनुसार गाईगोरुको अवस्थाबारे गाउँपालिकाबाट बुझ्ने र त्यसपछि नियन्त्रणका लागि अन्य प्रयास थालिएको छ । जिल्लामा जानकारी दिएपछि विज्ञ केन्द्रबाट डा. बस्याल सहितको पशु स्वास्थ्य कार्यकर्ता उपचारका लागि खटिएका छन् ।

रोगको संक्रमण फैलिएको गाई, गोरुका शरीरका विभिन्न भागमा गिर्खा आउने, उच्च ज्वरो आउने, पाक्ने, सुन्निनेजस्ता लक्षण देखिएका छन् । यो रोग निको पार्ने कुनै खोप नभएको विज्ञ केन्द्रका डा.बस्याले बताउनुुभयो । ‘यसबाट ग्रसित पशुका लागि ठोस उपचार छैन । पशुको लक्षण अनुसार सामान्य एन्टिबायोटिक दिने काम सुरू गरेका छौं । बेटाडिन तथा ड्रेसिङ पनि गरिदिएका छौं,’ उहाँले भन्नुुभयो ।

स्थानीय सरकारले चासो नदेखाएको किसानको गुनासो

स्थानीय पशु स्वास्थ्य प्राविधिकहरुले रोग फैलिन नदिन एन्टिबायोटिक्स र छालाका रोगमा प्रयोग गरिने औषधि प्रयोग गरे पनि लम्पी स्किन रोग नियन्त्रणमा आउन सकेको छैन् । रोगले अझ अवस्था भयावह अवस्था सिर्जना गर्न लागेको किसानहरुको भनाई छ । सामन्य उपचार भए पनि निको नभएको माथागढीका किसान प्रेम ढेंगाले बताउनुुभयो । रोगका काराण गाईको छाला कुहिएर झर्ने समस्या देखिएका छन् । अन्य निरोगी पशु समेत बिरामी पर्दै गएको ढेंगाले बताउनुुभयो । रोग फैलिएको जानकारी गराए पनि स्थानीय सरकारबाट रोग नियन्त्रणका लागि खोप लगाउने र रोगको संक्रमण रोक्नका लागि कुनै चासो नदेखाएको किसानको गुनासो छ ।

स्थानीय सरकारले रोग नियन्त्रणमा चासो नदिएपछि किसान चिन्तित भएका छन् । यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिन्छ । यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिँगान काढ्ने, गर्भिणी पशु तुहिने, बाँझोपनको समस्या र दुहुनो गाईले दूध कम दिने जस्ता समस्या देखापर्छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने डा.बस्यालको भनाई छ । यो रोग लागिसकेपछि पशुचौपायालाई कम्तीमा २१ दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?