जिल्ला सभा चलिरहँदा प्रदेश सांसद राईलाई पहिचान पक्षधरले कालो झण्डा देखाए

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । खोटाङमा कोशी प्रदेशका सांसद पाँचकर्ण राई पिकेलाई पहिचानबादी पक्षधरले नाराबाजी गर्दै कालोझण्डा देखाएको छ ।

शनिबार जिल्ला समन्वय समितिको हलमा चलिरहेको सातौ जिल्ला सभामा समय मागेर कार्यक्रम नै गरेर कोशी प्रदेश नामाकरणमा मतदान गर्ने सांसद राई विरुद्ध पहिचानबादीहरुले नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।

नाराबाजी र कालोझण्डा देखाउन उत्रेका चारजना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा किरात राई यायोक्खाका अध्यक्ष युगसन किरात, सह–कोषाध्यक्ष डार्विन चाम्लिङ, यायोक्खाका दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी पूर्व उपाध्यक्ष सप्तमणि राई र जसपाका जिल्ला सचिव सुनिल राई हुनु हुन्छ ।
यायोक्खाका अध्यक्ष किरात बाहेक अन्य तीनजनालाई प्रहरीले हतकडी लगाएर जिल्ला प्रहरी कार्यालय लगेका थिए । त्यसमा आपत्ति रहेको यायोक्खा अध्यक्ष किरातले बताउनुभयो ।

प्रहरी धरपकड भइरहंदा पहिचानबादीहरुले किरात प्रदेश जिन्दाबाद, पहिचनाबादी जिन्दावाद, कोशी प्रदेश मुर्दावाद, खारेज गर लगायका नारा लगाएका थिए । यस विषयमा डिएसपी मञ्जिल मुकारुङले त्यस्तो नभएको प्रतिक्रिया दिनुभएको छ ।

सांसद राई जिल्ला समन्वय समितिको आग्रहमा अतिथि हुनका लागि जिल्ला आउनु भएको हो । उहाँ एमालेबाट निर्वाचित सांसद हुनु हो ।

किरात राई यायोक्खा जिल्ला कार्य समितिले १८ चैतमा विस्तारित बैठक बसेर कोशी नामाकरणमा मतदना गर्ने सांसद, मन्त्रीलाई जिल्लामा अतिथिको रुपमा नबोलाउन र नआउन चेतावनी दिएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?